मतदानमा भाषा लगायतका अवरोधको सामना गर्दै न्युयोर्कका नेपाली अमेरिकन


प्रकाशित मिति : बैशाख २४, २०८१ सोमबार

‘चारचारबर्षमा हुने राष्ट्रपति चुनावबाहेक अरु चुनावमा पनि हामीले भोट हाल्न पाइन्छ र ?’  सन् २०१९ मा अमेरिकाको नागरिकता लिएपछि २०२० को राष्ट्रपति चुनावमामात्र भोट हालेकी न्युयोर्क निवासी नेपाली अमेरिकन विष्णुमाया परियारले जिज्ञासा राखिन् । अमेरिकी नागरिकता लिइसकेपछि कतिपटक मतदान गर्नुभयो भन्ने हाम्रो प्रश्नमा उनले आफूलाई हरेक चारबर्षमा नोभेम्बरमा हुने राष्ट्रपति चुनावबाहेक अन्य चुनावमा आफूले मतदान गर्नपाइनेबारे थाहा नभएको बताइन् ।

विष्णुमायालाईमात्र होइन, अरु कैयन नेपाली अमेरिकनलाई पनि कहिले कहिले कुन कुन पदका लागि चुनाव हुन्छ भन्ने थाहा छैन । सिनेट, प्रतिनिधिसभा, गभर्नर, राज्य सिनेट, एसेम्बली, सिटी काउन्सिलहरु लगायतका पदमा हुने निर्वाचन र उम्मेदबारबारे कुनै जानकारी नभएकाले आफूले २०२० को राष्ट्रपति चुनावपछि मतदान नगरेको विष्णुमायाले बताइन् । प्राइमरी चुनावमा मतदान गर्नका लागि के गर्नुपर्छ ? प्राइमरी चुनाव कहिले हुन्छ भन्नेबारे पनि जानकारी नभएको उनले बताइन् । सही मतदाता शिक्षाको अभावका कारण र भाषिक अवरोधका कारण उनीजस्ता कैयन नेपाली अमेरिकन मतदाताहरुले चुनावी जानकारीको अभावको सामना गरिरहेका छन् ।

जनगणना २०२० को तथ्यांक अनुशार अमेरिकामा १० बर्षमा नेपाली जनसंख्या २६९ प्रतिशतले बृद्धि भएको छ । नेपाली समुदायले सन् २०१० मा ५० हजार वा सोभन्दा बढी जनसंख्या भएकाहरुमध्ये सबैभन्दा छिटो बढ्दो एसियाली समुहका रुपमा परिचय बनाएको छ । यद्यपी नेपाली समुदायका भाषिक अवरोध लगायतका समस्याहरु भने अहिलेसम्म पनि उस्तै छन्, जसले गर्दा उनीहरुले सरकारी श्रोतमा पहुच कायम गर्नेदेखि सही चुनावी जानकारीहरु प्राप्त गर्न र मतदान प्रकृयाबारे थाहा पाउनमा समेत समस्या भइरहेको छ ।

मतदान स्थलमा पाँच भाषामा पहुँच देखाउने दोभाषे सेवा पोस्टरहरू सहितको बहुभाषी ‘यहाँ भोट गर्नुहोस्’ चिन्ह। (फोटो: किशोर पन्थी)

‘नेपालमा त म चुनावमा पर्यवेक्षकका रुपमा पनि काम गरेकी थिएँ । मतदान गर्नका लागि अरुलाई पनि हामीले सिकाउने गथ्र्यौं । तर अमेरिकामा आएपछि अलिक अलमल भयो । नेपालमा स्वस्तीक छाप लगाउने गथ्यौं । यता पनि त्यस्तै होला भन्ने लागेको थियो । पहिलोपटक मतदान गर्दा मैले ओभलमा मसीले भर्नुपर्नेमा टिकमार्क लगाएछु । लामो मतपत्र भएकाले कहाँ कहाँ मत हाल्ने भन्ने पनि अलमल भयो । त्यसैले सुरुमा मतपत्र बिग्रेर मेसिनले स्क्यान नै गरेन । अनि अर्को मतपत्र मागेर पुन भोट हालें । जसले गर्दा मतदान गर्न धेरैबेर लाग्यो ।’ –  विष्णुमायाले पहिलोपटक मतदान गर्दाको अनुभव सुनाइन् ।

विष्णुमाया सामान्य रुपमा अँग्रेजीमा सम्बाद गर्न त सक्छिन् । तर पनि भाषामा राम्रो पकड नभएकाले उनलाई चुनावी सामाग्रीहरु बुझ्न र मतदाताका अधिकारबारे थाहा पाउनमा भने समस्या भएको बताउँछिन् । कसरी मतदान गर्ने ? मतदाताका अधिकारहरु के के हुन्छन् ? मतपत्रमा कुन कुन पदका उम्मेदबारहरु हुन्छन् ? मतदान केन्द्र कसरी थाहा पाउने ? लगायतका चुनावी विषयहरुमा नेपाली भाषामा समेत श्रोतहरु उपलब्ध भएको खण्डमा अँग्रेजीमा राम्रो पकड नभएका धेरै नेपाली अमेरिकन मतदाताहरुलाई सहज हुने उनको भनाई छ ।

प्यु रिसर्च सेन्टरको अध्ययन अनुशार अमेरिकामा झण्डै आधा नेपाली जनसंख्याको अँग्रेजी भाषामा पकड छैन । अध्ययन अनुशार ५१ प्रतिशतमात्र ५ बर्षभन्दा माथिको उमेरका नेपालीहरुकोमात्र अँग्रेजी भाषामा पकड छ भने ४९ प्रतिशतले अँग्रेजी भाषा नजानेका कारण संघर्ष गरिरहेका छन् । अँग्रेजी भाषामा पकड भएकाहरुलाई पनि सरकारी भाषा बुझ्नमा समस्या हुने गरेको छ । न्युयोर्क सिटीमा संचालित निशुल्क भाषाकक्षाहरुमा अँग्रेजी सिक्न चाहनेहरुले पनि नेपालीबाट अँग्रेजी सिकाउने प्रशिक्षकको अभावमा राम्रोसँग सिक्न सकेका छैनन् ।

उडसाइडमा मतदान स्थलमा डेस्क चिन्हले हिन्दी भाषीहरूका लागि दोभाषे सेवाहरू संकेत गर्दछ। (तस्बिर: किशोर पन्थी)

त्यस्तै न्युयोर्क निवासी नेपाली अमेरिकन छेमाङ लामाले अहिलेसम्म अमेरिकाको चुनावमा तीनपटक मतदान गरिसके भने राष्ट्रपति चुनावमा पहिलोपटक गर्दैछन् । पहिलोपटक मतदानका लागि जाँदा आफू पनि निकैबेर अलमल परेको उनले बताए । उनी भन्छन् – ‘कैयन मतदान केन्द्रमा जाँदा विभिन्न भाषामा अनुवादकहरु उपलब्ध छन् तर नेपालीमा कोही पनि छैनन् । त्यसैले पहिलोपटक भोट हाल्न जाँदा धेरैलाई मतदान प्रकृया नै बुझ्न गाह्रो हुन्छ । पहिलोपटक मतदान गर्दा त के गर्ने कसो गर्ने भएर भोट नै नहालेर फर्केर जाउँ कि जस्तो पनि लाग्यो ।’

हरेक बर्ष थपिने नेपाली अमेरिकन मतदाताहरुको संख्या पनि उल्लेख्य रहेको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक अनुशार आर्थिक बर्ष २०२० मा ५ हजार ७ सय ९३ नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेकोमा ५३० जना न्युयोर्क निवासी थिए । आर्थिक बर्ष २०२१ मा ७ हजार २ सय ३२ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएकोमा न्युयोर्क निवासी ८५५ जना थिए भने आर्थिक बर्ष २०२२ मा ९ हजार ४ सय ८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएकोमा न्युयोर्क निवासी १०३१ जना रहेका छन् । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांक हेर्दा २०२० को राष्ट्रपति चुनावको तुलनामा यसपटकको राष्ट्रपति चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकनहरुको संख्यामा झण्डै ३० हजारले बृद्धि भइसकेको छ । अर्थात् यसपटकको राष्ट्रपति चुनावमा मतदान गर्न योग्य नेपाली अमेरिकनहरुको संख्या झण्डै १ लाखको हाराहारीमा छ ।

एक नेपाली-अमेरिकी मतदाता क्वीन्समा मतदान स्थल अगाडि उभिरहेका छन्। (तस्बिरः किशोर पन्थी)

न्युयोर्क सिटीको सिभिक इन्गेजमेन्ट कमिशनले न्युयोर्क सिटीका मतदान केन्द्रहरुमा विभिन्न भाषामा भाषा सहायता प्रदान गर्दै आएको छ जसमा नेपाली भाषा समावेश छैन । न्युयोर्क सिटीको बोर्ड अफ इलेक्सनको आफ्नो अनुवाद सेवा पनि उपलब्ध रहेको छ, तर त्यसमा पनि नेपाली भाषा पर्न सकेको छैन । न्युयोर्क सिटीको कम्युनिटी भाषा प्रोफाइल अन्तरगत सन्नीसाइड, उडसाइड, एल्महस्र्ट, ज्याक्सनहाइटस र कोरोनामा सबैभन्दा धेरै नेपाली भाषीहरु रहेका छन् । तर यी क्षेत्रका मतदान केन्द्रमा समेत नेपाली भाषा अनुवादकहरु उपलब्ध छैनन् । जसले गर्दा पहिलोपटक मतदान गर्नेहरु अझ धेरै कन्फ्युज हुने गरेका छन् ।

‘मैले चाही कसरी मतदान गर्ने भन्ने कुरा युट्युबमा हेरेर गएको थिएँ । भोट कसरी हाल्ने भन्ने धेरैलाई थाहा नहुँदा उनीहरु मतदान केन्द्रमा जान प्रोत्साहित नहुने गरेको समेत पाइएको छ । अमेरिकामा विभिन्न फर्महरु भर्दा टिक वा क्रस मार्क लगाउनुपर्ने भएकाले मतदानमा पनि त्यस्तै मार्क लगाउने हो कि भन्ने अलमल पहिलोपटक मतदान गर्ने धेरैमा देखिन्छ । मतदानमा गरेको गल्तीका कारण मेसिनले स्क्यान नगर्ने समस्या हुने गरेको छ । जसले गर्दा दुईतीन पटक मतदान गर्नुपर्ने अवस्था समेत आउने गरेको छ । नेपालमा मतपेटिकामा खसाल्ने गरिन्छ, यता मेसिनमा स्क्यान गर्दा पनि अलमल हुने गरेको छ । भाषिक समस्या भएका कारण मतदान केन्द्रमा हुने कर्मचारी वा स्वयंसेवकहरुबाट यसबारेमा जानकारी लिनमा समस्या हुने गरेको छ । कतिले त मतपत्र नै आफैसँग बोकेर घर आएको समेत पाइएको छ ।’ –  छेमाङ लामाले आफ्नो अनुभव सुनाए ।

न्युयोर्क सिटीमा मतदाताहरुलाई आफ्नो भाषामा मतदान गर्ने अधिकार छ । जसको अर्थ उनीहरुले मतदान केन्द्रमा आफै भाषा अनुवादक ल्याउन सक्छन् । यसरी ल्याउँदा आफ्नो रोजगारदाता वा युनियन प्रतिनिधि भने ल्याउन पाइदैन, साथी, परिवारका सदस्य वा अनुवादक ल्याउन पाइन्छ । मतदाताका अधिकारबारे न्युयोर्क सिटीको स्थानीय सरकारले विभिन्न १३ भाषामा फ्लायर र श्रोतहरु उपलब्ध गराउदै आएको छ तर त्यस्ता श्रोत र फ्लायरहरु पनि नेपाली भाषामा उपलब्ध छैनन् । जसका कारण कैयन नेपाली मतदाताहरु आफ्ना अधिकारहरुबारे पनि अनविज्ञ छन् ।

न्युयोर्कमा नेपाली समुदायको शशक्तिकरणका लागि सकृय रहदै आएको संस्था माइनोरिटी इम्पावरमेन्ट नेटवर्कका अध्यक्ष श्याम कार्कीले मतदानमा सहयोगका लागि साथी वा परिवारका सदस्यलाई लैजान पाइन्छ भन्ने जानकारी पनि धेरै मतदातालाई नभएको बताए । उनले भने – ‘यस्ता सामाग्रीहरु नेपाली भाषामा भएको खण्डमा धेरै मतदातालाई सहज हुने थियो । तर मतदाता शिक्षाका लागि न त सरकारी स्तरबाट संचालित कार्यक्रम प्रभावकारी छन्, न त सामाजिक संघ संस्थाले नै यसबारे प्रभावकारी कार्यक्रम गर्न सकेका छन् ।’

उपलब्ध श्रोतहरु आफ्नो संस्थाका तर्फबाट समुदायमा लैजाने गरेको उनले बताए । भोटर रजिष्ट्रेशनका बारेमा जानकारी दिनेदेखि मतदानमा जान प्रोत्साहन गर्ने लगायतका कामहरु आफूहरुले गरिरहेपनि साधन श्रोतको अभावमा मतदाता शिक्षाका सन्दर्भमा धेरै कार्यक्रम गर्न नसकिएको उनले बताए । नेपाली भाषामा उपलब्ध सबै श्रोतहरु आफूहरुले समुदायमा लैजान मद्दत गरेपनि बजेटको अभावका कारण गर्न प्रभावकारी रुपमा काम गर्न नसकिएको अध्यक्ष कार्कीले बताए ।

दक्षिण एसियाली समुदायका मुद्दामा काम गर्दै आएको संस्था ड्रमका नेपाली कम्युनिटी अर्गनाइजर अदित शिवाकोटीको भनाई पनि त्यस्तै छ । ड्रम अन्तरगतको ड्रम बिट्सले यसबारेमा काम गर्दै आएपनि प्रयाप्त हुन नसकेको उनले बताए । मतदाताहरुलाई कहाँ मतदान गर्ने, कहिले मतदान गर्ने ? मतदान स्थल कसरी खोज्ने ? कहिले मतदान गर्ने ? लगायतका जानकारीहरु दिने गरेको भएतापनि श्रोतको अभावका कारण यस्तो जानकारी प्राप्त गर्ने मतदाताको संख्या न्यून रहेको उनले बताए । उनले भने  -‘हामीसँग श्रोतको अभावका कारण सिभिक इन्गेजमेन्टका कार्यक्रमहरु गर्न सकेका छैनौं । नेपाली भाषामा मतदाता शिक्षाका सन्दर्भमा पनि काम गर्न सकेका छैनौं ।’

मतदाता शिक्षामा अवरोधको प्रमुख कारक भाषा नै भएको बताउँछन् न्युयोर्क निवासी नेपाली मूलका कानुन व्ययवासी बासु फुलारा । न्युयोर्कको अष्टोरिया हाइट्समा बस्दै आएका फुलारा नेपाली अमेरिकन मतदाता समेत हुन् । उनी भन्छन् – ‘न्युयोर्क सिटीमा नेपाली अमेरिकन मतदाताहरुले भोगेको भाषागत समस्याकै कारण उनीहरुले मतदानको अधिकार प्रयोग गर्न प्रोत्साहित छैनन् । स्थानीय सरकार र इलेक्सन बोर्डबाट सुचनाहरु त आउँछन्, तर ती नेपाली भाषामा हुदैनन् । अँग्रेजीमा पकड नभएकाहरुलाई ती बुझ्न गाह्रो हुन्छ । जसले गर्दा कति नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेपनि मतदानका लागि रजिष्ट्रर गरेका छैनन् । रजिष्ट्रर गरेकाहरु पनि अलमलका कारण मतदानका लागि नगएको देखिएको छ ।’

‘भाषा नजान्नेहरुमात्र होइन, भाषा जानेकाहरु पनि मतदाताका अधिकारबारे जानकार छैनन् । अँग्रेजी जानेकाहरुसम्म पनि सुचनाहरु नपुगेको देखिन्छ । भाषा जानेकाहरुलाई पनि कहाँबाट जानकारी पाइन्छ भन्ने थाहा छैन । उपलब्ध श्रोत पनि कहाँबाट कसरी प्राप्त गर्ने भन्ने थाहा छैन । भोटर रजिष्ट्रेशन भए नभएको कहाँ हेर्ने, बसाई सरेमा ठेगाना कसरी परिवर्तन गर्ने, आफ्नो मतदान केन्द्र कसरी थाहा पाउने लगायतका विषयमा समस्या छ ।’ –  फुलाराले भने ।

मतदान स्थलमा ज्याक्सन हाइट्समा बस्ने नेपाली-अमेरिकी लेखक तथा प्रशिक्षक डा. राजन थपलिया (पीएचडी)। (तस्बिरः किशोर पन्थी)

‘सरकारी स्तरबाट मतदाता शिक्षाका लागि भएका पहलहरु वैज्ञानिक र प्रयाप्त नभएका कारण यस्तो समस्या देखिएको बासु फुलाराको ठम्याई छ । उनी भन्छन् मतदाता शिक्षा कार्यक्रमहरु सरकारी स्तरबाट प्रभावकारीरुपमा अगाडि बढाउनुपर्छ । स्थानीय सरकारले स्थानीय संघ संस्थालाई साथमा लिएर मतदाता शिक्षा कार्यक्रम अगाडि बढाउनुपर्छ । उम्मेदबारहरुले पनि मतदातालाई मतदान प्रकृया र अधिकार लगायतका विषयमा बुझाउन खासै पहल गरेको देखिएको छैन । नेपाली भाषामा बुकलेट, पम्पलेट बनाएर, नमुना मतपत्रहरु बनाएर व्यापक अभियान चलाउन आवश्यक देखिन्छ ।’ –  न्युयोर्कको क्वीन्स निवासी लेखक तथा प्रोफेशर डा राजन थपलियाको सुझाव छ ।

यो रिपोर्ट न्युयोर्क सिटीको मेयर कार्यालय अन्तरगत मिडिया एण्ड इन्टरटेन्मेन्ट कार्यालयको आर्थिक सहयोगमा सिटी युनिभर्सिटी अफ न्युयोर्कमा रहेको सामुदायिक मिडिया केन्द्रद्वारा आयोजित २०२४ चुनाव रिपोर्टिङ मेन्टरशिपको एक भागको रूपमा उत्पादन गरिएको हो ।यसको अँग्रेजी संस्करण नेपयोर्कमा पढ्न सकिनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com