टिकटकले हाल्यो अमेरिकी सरकारविरुद्ध मुद्दा


प्रकाशित मिति : बैशाख २५, २०८१ मंगलबार

टिकटकले आफ्नो चिनियाँ मालिक बाइटडान्सलाई लोकप्रिय सामाजिक सञ्जाल एप बेच्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने नयाँ कानूनलाई लिएर संघीय सरकारविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । राष्ट्रिय सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको विषयलाई लिएर सुरु भएको यो लडाइँ अब सर्वोच्च अदालतमा पुगेर टुंगिने सम्भावना रहेको छ ।

लाखौं अमेरिकीहरूले आफ्ना विचारहरू शेयर गर्न र स्वतन्त्र रूपमा सञ्चार गर्न प्रयोग गर्ने एपलाई हटाउने कानुनले संविधानको पहिलो संशोधनको उल्लङ्घन गरेको टिकटकको दावी छ । चीनले टिकटक संचालन गर्ने अल्गोरिदमहरु अमेरिकालाई बेच्न अस्वीकार गरेको सन्दर्भमा २७० दिनको टाइमलाइन भित्र टिकटक बेच्न सम्भव नभएको मुद्दामा तर्क गरिएको छ ।

मुद्दा सर्वोच्च अदालतसम्मै पुग्ने देखिन्छ । फोटो: डीबी किंग

अदालतमा टिकटकका तर्फबाट ६७ पृष्ठको याचिका दायर गरिएको छ । टिकटक अहिले अमेरिकामा आफ्नो अस्तित्वको लागि लडिरहेको छ । आगामी केही महिनाहरू अदालती लडाईका रुपमा अगाडि बढ्ने देखिएको छ । सामाजिक सञ्जाल एपको चीनसँगको सम्बन्धको बारेमा संसदको राष्ट्रिय सुरक्षा चिन्ता र बिक्री वा प्रतिबन्धले वाक स्वतन्त्रताको अधिकारको उल्लङ्घन गर्ने दुईवटा विषयमध्ये कुन विषयले जित्छ अहिले नै अनुमान गर्न गाह्रो छ ।

यो मुद्दा विशेष गरी चुनावी वर्षमा निकै कठिन छ । किनभने राष्ट्रपति बाइडेन र सांसदहरूले लोकप्रिय एपका प्रयोगकर्ताहरूबाट सम्भावित प्रहारको सामना गरिरहेका छन्। यो एपका अमेरिकामा १७० मिलियन मासिक प्रयोगकर्ताहरू छन् । भाइरल नृत्यहरूदेखि लिएर राजनीतिक टिप्पणीसम्मको लागि यसको प्रयोग गरिन्छ। यो विशेषगरी भिडियो बनाएर जीवीका चलाउने मानिसहरूको जीवनमा जोडिएको छ ।

राष्ट्रपति बिडेनले अप्रिल २४ मा हस्ताक्षर गरेको नयाँ कानून अन्तर्गत टिकटकसँग गैर चिनियाँ खरिदकर्ता फेला पार्न राष्ट्रपतिले म्याद थप गरेमा १ बर्ष र नगरेमा नौ महिना को समय बाँकी रहेको छ । बाइटडान्सले नबेचेमा अमेरिकामा एप स्टोरहरू र वेब होस्टिङ सेवाहरूमा यसलाई प्रतिबन्ध लगाइनेछ । टिकटकले वासिंटन डिसी सर्किटको पुनरावेदन अदालतमा मुद्दा हालेको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com