राज्य सांसदको आयोजनामा न्युयोर्कको संसद भवनमा मे २८ मा ‘नेपाली कम्युनिटी डे’


प्रकाशित मिति : बैशाख २२, २०८१ शनिबार

न्युयोर्क राज्यसंसदमा प्रतिनिधित्व गर्ने राज्य सांसद स्टीभन रागाको आयोजनामा न्युयोर्कको राजधानी अल्बानीमा रहेको राज्यको ससद भवनमा नेपाली कम्युनिटी डे कार्यक्रम गरिने भएको छ । यही मे २८ मा कार्यक्रमको आयोजना गर्न लागिएको शुक्रबार ज्याक्सनहाइटमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

न्युयोर्कमा रहेका नेपाली समुदायको योगदानको कदर गर्दै नेपाली समुदायको सम्मानमा कार्यक्रम गर्न लागिएको आयोजक एसेम्ब्ली मेम्बर स्टिभन रागाले जानकारी दिएका छन् । नेपाली कला संस्कृतिको प्रबद्र्धन गर्नु समेत कार्यक्रमको उद्धेश्य समेत रहेको आयोजकले जानकारी दिएका छन् ।

रागाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा डिस्ट्रिक्ट ३० बाट प्रतिनिधित्व गर्छन्, जसमा नेपालीहरुको बाक्लो बसोबास रहेका उडसाइड, एल्महर्स्ट, मास्पेथ, ज्याक्सन हाइट्स, अस्टोरिया र मिडल भिलेज लगायत पर्छन् । नेपाली समुदायका कार्यक्रममा प्राथमिकताका साथ सहभागी हुँदै आएका उनी नेपाली समुदायमाझ लोकप्रिय समेत छन् ।

कार्यक्रमका सह अयोजकहरुमा न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने नेपाली मूलकी पहिलो राज्य सांसद सराहना श्रेष्ठ र न्युयोर्क राज्य संसदमा प्रतिनिधित्व गर्ने पहिलो दक्षिण एसियाली मूलकी राज्य सांसद जेनिफर राजकुमार रहेका छन् । सराहना श्रेष्ठ अमेरिकामा सबैभन्दा उच्च तहमा पुग्ने नेपाली मूलकी पहिलो महिला जनप्रतिनिधि हुन् । श्रेष्ठले न्युयोर्क राज्य संसदको तल्लो सदनमा डिस्ट्रिक्ट १०३ बाट प्रतिनिधित्व गर्छिन् ।

कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एसेम्ब्ली मेम्बर जेनिफर राजकुरमाले यो कार्यक्रमले इतिहास रच्ने र यसले नेपाली समुदायको आवाज सबै सामु लैजान सहयोग पुग्ने बताइन् । जेनिफर राजकुमारले यस अगाडि पनि नेपाली समुदायको सम्मानमा विभिन्न कार्यक्रमहरु गरिसकेकी छिन् । न्युयोर्कमा नेपाली हेरिटेज डे मनाउने जेनिफर राजकुमारको प्रस्ताव सन् २०२१ मा राज्य संसदबाट पारित भएको थियो ।

जेनिफर राजकुमारले न्युयोर्क राज्य संसदमा डिस्ट्रिक्ट ३८ बाट प्रतिनिधित्व गर्छिन् । जुन क्षेत्र क्वीन्सको ग्लेनडेल, ओजन पार्क, रिचमण्ड हिल, रिजउड, उडह्याभन लगायत पर्छन् । यी क्षेत्रमा नेपाली समुदायको पनि बाक्लो बसोबास रहेको छ । जेनिफर राजकुमार नेपालीहरुका विभिन्न कार्यक्रममा सहभागी हुँदै आएकाले उनी नेपाली समुदायमाझ निकै परिचित छिन् ।

नेपाली कम्युनिटी डे कार्यक्रम मे २८ को बिहान १० बजेदेखि २ बजेसम्म अल्बानीको स्टेट स्ट्रीट र वासिङटन एभेन्युमा रहेको संसद भवनको तेश्रो तल्लामा हुनेछ । कार्यक्रममा न्युयोर्कबाट मात्र नभएर अमेरिका भरका नेपालीहरुलाइ सहभागी हुनको लागि अनुरोध गरिएको छ ।

न्युयोर्कबाट कार्यक्रममा सहभागि हुन अल्बानी जान इच्छुक ब्यक्तिहरुका निम्ति न्युयोर्कको क्विन्सबाट यातायातको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । इच्छुक ब्यक्तिहरुलाई सहभागिताको निम्ति फाराम भर्न अनुरोध गरिएको छ । कार्यक्रमलाई सफल बनाउन न्युयोर्कमा रहेका विभिन्न नेपाली संघसंस्थाहरुले सहयोग गरिरहेका छन् ।

कार्यक्रममा सहभागी हुन र न्युयोर्क सिटीबाट यातायातको सुविधा लिनका लागि यो फर्म भर्नुहोला ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com