समाज परिवर्तनको सबैभन्दा ठूलो हतियार लेखन हो : दीपा राई पुन, साहित्यकार

दीपा राई पुन अमेरिका निवासी नेपाली साहित्यकार हुनुहुन्छ । उहाँले तीनवटा कवितासँग्रह प्रकाशित गरिसक्नुभएको छ भने हालै प्रतिरुप नामको गीति एल्बम पनि बजारमा आएको छ । पाँचथरमा जन्मिएर झापामा हुर्कनुभएकी राईसँग अमेरिकामा खसोखासकर्मी दीपक परियारले गर्नुभएको कुराकानी ।

साहित्यका सबैजसो विधामा कलम चलाउनु हुन्छ । विगतदेखि वर्तमानलाई कसरी स्मरण गर्नुहुन्छ ?

म साहित्यको विद्यार्थी नै हुँ । साहित्यबाट मास्टर गरेको छु । नेपालमा हुँदा बोट विरुवाको खेती गर्ने पहिलो व्यवसायी महिलाको परिचय बनाएको थिएँ । व्यावसायी महिलाको राष्ट्रिय पुरस्कार हात पारेको थिएँ । तर, २०१२ मा अमेरिका आएपछि त्यो कुरा छुट्यो । अहिले शब्दको खेती गरेको छु ।
जीवन एउटैयात्रामा सकिदैन रहेछ । एकपछि अर्कोयात्रा आफैले तय गर्नुपर्छ । नेपालमा मैले गरेको कामले मात्र बच्चाहरुको भविश्य देखिन । र, देश छोडेँ ।

एउटा बिरुवा पाँचबर्ष लगाएर फलाउँदा, फुलाउँदाको सन्तुष्टिसँगै जीवन के हो बुझेको छु । जीवन फुलाउनको लागि मानिसमा सबैभन्दा ठूलो धैर्यता चाहिँदोरहेछ । धैर्यतापूर्वक काम गर्दा जीवनमा चाहेको खुशी प्राप्त हुन्छ । यो मेरो जीवनको अनुभव हो । अहिले त्यही अनुभूतिलाई शब्दमार्फत बाहिर ल्याउँदैछु ।

किसान बन्ने सपनाबाट कसरी साहित्यकार बन्न आईपुग्नुभयो ?

कक्षा ४ मा अध्यायन गर्दादेखिनै मैले साहित्यमा कलम चलाउन थालेको थिएँ । हिमज्योति स्कुलमा अध्यायन गर्दथेँ । त्योबेला हिमज्योति पत्रिका प्रकाशन हुन्थ्यो । यो पत्रिकाको सम्पादक डाक्टर गोविन्दराज भट्टराई हुनुहुथ्यो । उहाँ मेरो गुरु हुनुहुन्छ । त्योबेला साहित्य लेखन राम्रो मानिदैनथ्यो । अझ छोरीमान्छेलाई त पटकै राम्रो मानिदैनथ्यो । पहिलो पटक कविता लेख्दा सरले अफिसमा लगेर यो तिमिले नै लेखेको हो भन्दै सोध्नु भयो । म कक्षामा राम्रो विद्यार्थिमा पदर्थेँ । सरले अफिस गल्ती गरेमात्र लैजाने गर्नहुथ्यो । तर, त्योबेला मैले गल्तिनै नगरी अफिसमा लैजानुभयो । त्यो गुनासो मनमा रह्यो । तर, त्यसको अर्थपछि मात्र बुझेँ ।

कविता लेखेर कसैलाई देखाउने सल्लाह लिने परिवेश थिएन । हुलाक मार्फत् ऊबेला दार्जिलिङका पत्रिकामा पठाउने गर्दथेँ । त्यसपछि मलाई कालिङपुङको साईनो पत्रिकाले नेपाल प्रतिनिधि भएर काम गर्न पत्र पठायो । त्यतिखेर परिवारको झन धेरै गाली खानु परेको थियो । त्यसपछि लेख्ने र पत्रिकामा छाप्ने कुरा मेरो मनमा आएन । त्योबेला म कक्षा ६ मा अध्ययन गर्दै थिएँ ।

जीवनका अप्ठ्यारा मोडहरुमा आफूलाई सहज बनाउने मेरो माध्यम लेखननै थियो । तर, जतनले राखिन । कैयौँ कविता र कथा लेख्दै च्यात्दै गरेँ । लेखनकै कारण मैले घरमा धेरै गाली खानु परेको थियो । त्यसैले पनि होला, भविश्यमा साहित्यकार बन्छु र लेखनलाई निरन्तरता दिन्छु भन्ने कहिल्यै मनमा लागेन । त्योबेला लेखन मेरोे अप्ठ्यारोको सहारा मात्र थियो ।

लेखन पनि समय र परिवेश अनुसार हुन्छ जस्तो लाग्छ । अर्को, समाज परिवर्तनको लागि सबैभन्दा ठूलो हतियार लेखननै हो । समाज परिवर्तनको लागि भन्दै बन्दुक पनि उठे, तर हिंसाको बाटो धेरै दिन टिक्दैन र टिक्नु पनि हुँदैन । मलाई हत्या हिंसाको बाटोभन्दा कलमप्रति बढी विश्वास लाग्दछ । समाजमा रहेका विकृति विसंगतिविरुद्ध कलमनै चलाउनुपर्छ ।

देश,समाज,संस्कृति र भूगोल फरक छ । तर, तपाई साहित्यमार्फत् देशप्रेमका बारेमा बोलिरहनु भएको हुन्छ । काम गर्दै जाँदा कहिले काहिँ निरासा हुन्छ कि हुँदैन ?

हरेक मानिसमा समवेदना हुन्छ । कहिले काहीँ दुःख पनि लाग्छ । यो समयमा पीडा र दुःख नभएको मान्छे सायद, छैनन् होला । त्यसकारण दुःख र पीडा लेखिनु हुँदैन, जो सबैसँग छ ।

सकारात्मक कुरा एक प्रतिशत छ भने पनि त्यसलाई लिएर लेखिनु पर्दछ । हरेक दिन सकारात्मक कुरा सोच्ने र लेख्ने बानीले आफूलाई पनि परिवर्तन गर्छ । त्यसकारण मैले हरेक विषयमा सकारात्मक कुरा बढी बोल्ने र लेख्ने गर्दछु ।

मैले १८ वर्ष देशमा कहिले उद्यमी कहिले घरेलु व्यावसायीका रुपमा काम गरेँ । कहिल्यै जीवनमा हरेस खाईन । सधै कोशीश गरिरहेँ । जब मेरो बाबुहरु ठूलो भए । त्यसपछि उनीहरु बेरोजगारको लाइनमा लागेँ । त्यसपछि ,मैले मेरो सपनासँग हर्नुप¥यो । देश छोडेँ । पहिला त मैले पनि देश छोड्नु भनेको राष्ट्रियता विरोधी हो, जस्तो लाग्दथ्यो । अमेरिका आएपछि थाहा भयो, देशलाई माया गर्नु भनेको देशमै बस्नु होइनरहेछ । यो त एउटा सिमारेखा मात्र हो । म अहिले जति कमाउँछु, त्यसको केही प्रतिशत र साहित्य सृजनाबाट आएको सबै पैसा जतन गरेर राख्ने गरेको छु ।

नेपाल जाँदा, अनाथ र असायहरुलाई शिक्षा स्वास्थ्यमा खर्च गर्ने गरेकोछु । देशलाई माया गर्नुभनेको आफूले सकेको समाजमा योगदान गर्नु हो, न कि देशमै बसेर बेरोजर बन्ने र मनमा कुन्ठा पालेर देशप्रेम भन्दैमा हुँदैन । हामी जुन सुकै ठाउँमा पुगेर कर्म गरेपनि देशको आर्थिक विकासमा सहयोग गर्नु देशप्रेम भन्ने अहिले अनुभूत हुन्छ ।

तपाईको विचारमा प्रेम र जीवन के हो ?

प्रेम विनाको जीवन अधुरो हुन्छ । हरेक सम्बन्धमा सबैभन्दा पहिला आउने प्रेम नै हो । प्रेमले मानिसमा आत्मविश्वास बढाउँछ, आत्मविश्वासले जीवनमा सफल र खुशी मिल्छ । त्यसैले पहिला आफैलाई प्रेम गर्नु सिक्नुपर्छ । आफुलाई प्रेम गर्नेले अरुलाई पनि प्रेम गर्नसक्छ ।

भर्खरै बजारमा आएको ‘तिमी मेरो, म तिम्रो,हरेक जुनी भरी’ भन्ने तपाईको गीत निकै चर्चित भयो, यसपछि नयाँ निकाल्ने तयारीमा हुनुहुन्छ कि ?

यो गीत प्रतिरुप एल्वम को हो । यो एल्वमा आठ वटा गीत छन् । यसमा तीनवटाको भिडियो पनि बनेको छ, दुईवटा म आफैले गरेको छु । तत्काल एल्वमनै नभएपनि एउटा–एउटा गरेर निकाल्ने सोचमा छु । भर्खरै नयाँ पठाएको पनि छु । अब छिट्टै आउला !

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आगामी साहित्यिक यात्राको बारेमा बताईदिनुन ?

अनेसासको च्याप्टर धेरैतिर फैलिदैगएको छ । यो एकदमै राम्रो कुरा हो । अब अनेसासले विश्व बजारमा नेपाली साहित्य कसरी पुर्याउने भन्नेमा सोच्न जरुरी छ । नेपालीमा लेखेर विश्वबजारमा जान सम्भव छैन् । राम्रो र उत्कृष्ट साहित्यलाई अनेसासले विश्वबजारमा ल्याउने पहल गरेका छ । यसलाई छिटो गर्नुपर्दछ । यसले नेपाली साहित्य क्षेत्रलाई विश्व बजारमा पुर्याउन ठूलो योगदान पुग्ने आशा गरेको छु ।

नयाँ पुस्ता नेपालीभन्दा विदेशी साहित्यमा बढी रुची राखेको पाइन्छ । यो पुस्तालाई नेपाली साहित्य क्षेत्रमा आकर्षण गर्ने के गर्नुपर्ला?

देश होस् वा विदेश केही नेपालीहरु अंग्रेजी बोल्दा आफूलाई छुट्टै अनुभव गर्नु हुन्छ होला । यस्तो गर्नु गलत हो । बाँच्न र कामको लागि समाज देश अनुसार भाषा जान्नुपर्छ । तर, पहिलो कुरा आफ्नो देश, आफ्नो माटो र आफ्नो समाज नै हो । मैले मेरो समाज र संस्कृति बिर्सिए भने मेरो छोराछोरीले भोलि सम्झनेवाला छैनन् । पहिलो पुस्ताले दोस्रो पुस्तालाई सिकाउनुनै पर्दछ । तबमात्र नयाँ पुस्ताले सिक्ने र रुची राख्ने छ ।

हाम्रो देश बिभिन्न जातजाति भाषा धर्म, संस्कार संस्कृतिको अथाह धनि छ । तर, त्यो राष्ट्रको सम्पत्तिलाई राष्ट्रले कसरी संरक्षण गर्नेभन्नेमा चिन्ता लिनुपर्ने हो, दुःखको कुरा त्यो छैन । जसको कारण एकले अर्कालाई सिकाउने र सिक्ने संस्कार छैन । तर, यो हुनुपर्छ । सबै जातजाति भाषा, संस्कारलाई साहित्यमार्फत बाहिर ल्याउँदा आफ्नो ठाउँको मौलिक आउँछ ।

ठाउँ अनुसारका शब्दहरु बाहिर आउँदा शब्दकोभण्डार बन्छ । हामी आफैलाई पुर्वपश्चिममा बोल्ने शब्दहरुको बारेमा थाहा छैन् । पहिलो कुरा आफूभित्र अध्यायन गर्नु जरुरी छ । नेपालमा निकै राम्रो संस्कार संस्कृति छ । तर, हामी बिदेशीको हेरेर कपी गर्न खोज्दछौँ । आफ्नो गाउँठाउँको बारेमा बुझ्न चाहाँदैनन्, यहाँ कमजोरी छ । यो मेरो व्यत्तिगत कुरा हो यो । समाज परिवर्तन मात्र होइन, आर्थिक विकास गर्नसक्ने शक्ति पनि साहित्यमा हुन्छ ।

हामी विदेशमा बस्नेहरुले पनि नेपाली मौलिक संस्कार संस्कृतिलाई संरक्षण गर्न चिन्तितभएर लाग्नु पर्दछ । आफ्ना नानीहरुलाई आफुले जानेको कुरा सियर गर्ने र राम्रा कुरा बाहिर ल्यायौँ भने अवश्य नयाँ पुस्ताले अंगाल्ने छ । तर, धेरै कुरा हामीलाई नै थाहा छैन ।

यसमा राज्यले महसुश गरेजस्तो लाग्छ तपाईलाई ?

पहिले जस्तो छैन । अहिले एकले अर्कोलाई स्वीकार गरेको पाइन्छ । गाउँको भाषामा मैले साहित्य लेखेँ भने नेपालमा स्वीकार गरिन्छ । तर, कुनै समय यस्तो थियो, गाउँठाउँको भाषामा लेखिएको कुरालाई साहित्यनै मनिदैन्थ्यो । हामीले आफ्नो तर्फबाट भन्न छोड्नु हुँदैन । आफू बसेको रैथाले भाषामा साहित्य लेख्न र बोल्न छोड्नु हुँदैन । यसले नयाँ शब्दको विकास हुन्छ । लेख्दै र बोल्दै जाँदा भोलि सबैले स्वीकार छन््, त्यसको लागि लगनशिलता, मेहनत चाहिन्छ ।

बिहिबार, भदौ २१, २०७५ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित सामाग्री