अर्को हप्तादेखि विमानस्थलमा कर्मचारीले सोध्नेछन् – विदेशमा के सिक्नुभयो ? अब के गर्नुहुन्छ ?


प्रकाशित मिति : भाद्र २१, २०७५ बिहीबार

तपाईं वैदेशिक रोजगारीमा हुनुहुन्छ र छिट्टै स्वदेश फर्कने तयारी गर्दै  हुनुहुन्छ भने थाहा पाइराख्नुहोस्, तपाईंले विमानस्थल ओर्लनेबित्तिकै आफ्नो काम र अबको योजनाबारे बताउनुपर्नेछ ।

विमानस्थलको डेस्कमा रहेका सरकारी कर्मचारीले ‘कुन देशबाट आउनुभयो ? त्यहाँ कुन कम्पनीमा के काम गर्नुभयो ? के सीप सिक्नुभयो ? कति वर्षको अनुभव छ ? अब फर्केर के गर्नुहुन्छ ?’ लगायतका प्रश्न सोध्नेछन् । तपाईं विदेश गएकोदेखि विदेशबाट फर्किएर आएसम्मका सबै विवरण सरकारसँग सुरक्षित रहनेछ ।

वैदेशिक रोजगारीका सबै तथ्याँक र विवरणलाई एउटै अनलाइन प्रणालीमा राख्ने र विदेशमा काम गरेर फर्कनेको तथ्याँक संकलन गर्ने तयारी पूरा भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । श्रममन्त्री गोकर्ण विष्टको पहलमा तयार पारिएको अनलाइन प्रणाली आउँदो सोमबार सार्वजनिक गर्ने तयारी छ ।

‘हाम्रो तयारी सकियो, अर्को हप्तादेखि सुरु गर्ने तयारी छ’ मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले उज्यालो अनलाइनसँग भन्नुभयो ।

यो प्रणालीमा श्रम मन्त्रालय र यस अन्तर्गतका विभाग, कार्यालय, विदेशमा रहेका नियोग, म्यानपावर कम्पनी, स्वास्थ्य परीक्षण गर्ने संस्था, तालिम तथा अभिमुखीकरण केन्द्र सबै जोडिएका हुनेछन् । पासपोर्ट नम्बर हान्नेबित्तिकै कामदारको सबै विवरण उतिखेरै थाहा पाइनेछ ।

कामका लागि विदेश जाने सबैको नाम थर, ठेगाना, पासपोर्ट नम्बर, विदेशमा कुन कम्पनीका जाने, कस्तो काममा जाने, कति वर्ष बस्ने, कति तलव सुविधा छ लगायताका सबै विवरण राखिने भएकाले फर्किंदा पासपोर्ट नम्बरको आधारमा व्यक्तिले कुन सीप लिएर फर्किएको छ भन्ने जानकारी हुनेछ ।

सरकारी तथ्याङ्क अनुसार दिनहुँ सरदर १५ सय युवा रोजगारीका लागि विभिन्न देश उड्छन् । ४५ लाखभन्दा धेरै युवा श्रम स्वीकृति लिएर रोजगारीका लागि विदेश गएका वैदेशिक रोजगार विभागको तथ्याङ्क छ । तर विदेशबाट फर्कनेहरुको तथ्याँक अहिलेसम्म राख्ने गरिएको छैन । यस्तो तथ्याँक र विवरण नहुँदा वैदेशिक रोजगारीबाट कति फर्के र उनीहरुसँग के सीप छ भन्ने जानकारीको समेत अभाव छ ।

विदेशको सीप र अनुभवलाई स्वदेशमा सदुपयोग

विमानस्थलमा विदेशमा काम गर्न जानेहरुजस्तै काम गरेर फर्कनेहरुको पनि लर्को देखिन्छ । तर यसरी फर्किने कामदार विदेश फेरि नफर्किने गरी कति फर्किए, कतिले देशमै केही गर्ने योजना लिएर फर्किए अहिलेसम्म सरकारसँग तथ्याङ्क छैन । विदेशबाट फर्किएका जनशक्तिको महत्व बुझेर विवरण संकलन गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

अबदेखि अनलाइनमै सबै विवरण हुने भएकाले पनि विदेशबाट फर्किएकामध्ये कोसँग के सीप र अनुभव छ भन्ने राम्रोसँग थाहा हुन्छ । साथै मौखिक रुपमै पनि विमानस्थलमा उसले गरेको काम, अनुभव र आगामी योजनाका बारेमा सोधिने मन्त्रालयले जनाएको छ ।

यसबाट कसको कुन क्षेत्रमा कति क्षमता र अनुभव छ भन्ने थाहा हुनेछ । उनीहरुले विदेशमा सिकेका सीप र अनुभव सदुपयोग गरेर अरुलाई पनि स्वरोजगार बनाउन सकिने सरकारको दाबी छ ।

पाँच वर्षभित्र कामको लागि विदेश जान नपर्ने गरी देशमै रोजगारी सिर्जना गर्न भन्दै सरकारले विभिन्न योजना सार्वजनिक गरिसकेको छ । यस्ता योजनामा बेरोजगारको गणना गर्नेदेखि प्रमाणपत्र धितो राखेर ऋण दिने सम्मका कार्यक्रम परेका छन् ।

आर्थिक वर्ष २०७५/०७६ को बजेट भाषण गर्दा पनि अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट फर्किएका युवाको सीप प्रमाणीकरण गर्ने र त्यसका आधारमा १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने घोषणा गर्नुभएको छ ।

अब विदेशमा काम गरेर फर्किनेको व्यवस्थित रुपमा तथ्याँक राख्न थालिएपछि उनीहरुको सीप प्रमाणीकरणमा पनि अझ सहज हुनेछ ।

देशभित्रै रोजगारी सिर्जना गर्न सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गर्दै त्यसका लागि तीन अर्ब १० करोड रुपैयाँ विनियोजन पनि गरेको छ ।

विदेशबाट फर्केका युवाले आफ्नो सीप देशभित्र पनि प्रयोग गर्न सक्नेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com