दलितलाई मन्दिर प्रवेशमा रोक लगाएपछि विरोध प्रदर्शन


प्रकाशित मिति : २० भदौ २०७५, बुधबार

नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत् रहेको छ ।

संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जातजाति समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि निजी तथा सार्वजनिक स्थानमा कुनै प्रकारको भेद्भाव तथा छुवाछूत गरिंदैन भन्ने उल्लेख गरिएपनि केही दिनयता बारा जिल्लामा दलितलाई मन्दिर प्रवेशमा रोक लगाएपछि दिनहुँ विरोध प्रदर्शन हुने गरेको छ ।

मन्दिरमा प्रवेश गर्न कथित उपल्लो जातिका मानिसले दलितलाई बाराको सिमरौनगढ–७ झवानीमा रहेको महादेव मन्दिरमा पूजा गर्न रोक लगाएपछि विभिन्न सङ्घसंस्थाले नारा जुलुस गर्दै सो कार्यको विरोध जनाएका छन् ।

गैरदलितले मन्दिरमा दलितलाई प्रवेश गर्न लगाएको रोकका कारण सामाजिक सद्भाव नबिग्रियोस् भनेर मानवअधिकार सङ्गठन बाराले प्रेस विज्ञप्ति प्रकाशित गरी सबैलाई संयमित हुन आग्रह गरेको छ । सङ्गठनका बारा अध्यक्ष सिकेन्द्र पासवानले जारी गरेको विज्ञप्तिमा २१ औँ शताब्दीमा पनि जातीय आधारमा छुवाछूत तथा भेद्भाव गर्नु बिडम्बनापूर्ण रहेको बताएका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com