पाँच वर्षमा एक हजार बलात्कार,बलात्कारपीडितको सूचिमा पुरुष र तेस्रो लिंगी पनि


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

पछिल्लो समय नेपाली समाज कति भयावह बन्दैछ भन्ने उदाहरण एक होइन अनेक छन् । मूलत: बालिका बलात्कारका घटनाहरुको आँकडा केलाउँदा जो कोहीको मथिंगल रन्थनाउन पुग्छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यापछि बलात्कारका घटनाहरु केलाउने प्रयास भैरहेको छ । प्रहरीसम्म नपुगेका घटनाहरु कति छन् यत्तो छैन । प्रहरीमा उजुरी पुगेका बलात्कारका घटनाहरु कहालिलाग्दो छ । पाँच वर्षमा एक हजार बलात्कारका घटना प्रहरीमा दर्ता हुनु भएको सहज रुपमा लिन सकिने विषय हैन ।

१० भदौ ०७० देखि ९ भदौ ०७५ सम्मका १००० वटा घट्ना नियाल्दा समाज साँच्चै विद्रुप बन्दै गएको देखिन्छ । समान्यतयाः विश्वासै गर्न नसक्ने घटनाहरु फेला परेका छन् । आफन्त, विरामी, अपाङ्गता भएका, गर्भवती, दूधे शिशुदेखि हजुरआमासम्म यो अपराधको शिकार भएका छन् ।

नेपाल प्रहरीले संकलन गरेको तथ्यमा आधारित अध्ययनमा समेटिएका एक हजार घटनाका १०३४ पीडितमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि सबैभन्दा बढी ११-१५ वर्ष बीचका छन् । त्यो उमेर समूहका पीडित २६७ जना छन् ।

दोस्रो बढी पीडितको उमेर समूह हो, ६-१० वर्ष । उनीहरूको संख्या २३८ छ । वार्षिक तथ्यांक हेर्दा ०७० र ०७३ सालमा यो उमेर समूह सबैभन्दा बढी पीडित बनेका थिए । पाँच वर्ष नपुग्दै यस्तो घीनलाग्दो अपराधको शिकार भएका अवोधहरूको संख्या ११५ छ ।

पाँच महिनादेखि ९२ वर्षका पीडित
१६-२० वर्षका पीडितहरू १५० जना छन् । उमेरको ग्राफ बढ्दै जाँदा पीडितको संख्या कम हुँदै गएको देखिन्छ । तर समग्र घटनाहरू हेर्दा यसबीचमा एउटा सम्य नागरिकले कल्पनासमेत गर्न नसक्ने खालका अमानवीय घटना भएका छन् ।

कतिसम्म भने एक वर्ष, १३ महिना, १७ महिना, २३ महिनाका दूधे शिशुमाथि यौनदुर्व्यवहार भएको घटनामा विभिन्न जिल्लाबाट एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइन खबरले तयार पारेको रिपोर्ट अनुसार – काठमाडौंको तार्केश्वर नगरपालिका-१, कुन्तिपखलका २८ वर्षीय कृष्ण तामाङलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गर्‍यो । २८ फागुन ०७४ मा पक्राउ परेका तामाङमाथि ९२ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोग छ । यसअघि ०७३ मा साल्मे-९, नुवाकोटमा, ७८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । त्यस्तै बैजापुर-९ बाँकेमा ७२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय अर्जुन पुन पक्राउ परे ।

कतिपय पीडकहरूको उमेर पनि विश्वासै नलाग्ने खालका छन् । जस्तो- बलात्कार आरोपमा पक्राउ परेका शान्तिनगर-९, झापाका योगनाथ खतिवडा । ७७ वर्षीय खतिवडाले कृष्ण प्रणामी मन्दिर परिसरमा चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी अभिलेख छ ।

बलात्कारपीडितको सूचिमा पुरुष र तेस्रो लिंगी पनि

बलात्कारीले पुरुष र तेस्रो लिंगीलाई पनि छाडेको छैन । गएको २७ असारमा पक्राउ परेका कपिलवस्तुको कृष्णनगर-९, अमौलीका समीम मुसलवानमाथि १३ वर्षीय बालकलाई जबरजस्ती करणी गरेको आरोप छ । मुसलवानले बाख्रा चराउन गएको बेला पीडित बालकलाई गुदद्वार मैथुन गरेका थिए । कपिलवस्तुकै शिवराज-१२, महुलीका २६ वर्षीय ताहुर हुसेन मियाँले ६ वर्षीय बालकलाई बलात्कार गरेको पीडित पक्षले उजुरीमा उल्लेख गरेका छन् ।

यस्तै, ५ माघ ०७४ मा चन्द्रागिरी-१३, नैकापका ३५ वर्षीय रमेश केसी ८ वर्षीय बालक र बनेपा-२, देवीटारका फुर्वा लामा ३ वर्षीय बालकलाई मलद्वारमा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।

पुरुषमाथि पुरुषले सामुहिक बलात्कार गरेको उजुरीसमेत प्रहरीमा दर्ता भएको छ । नाङलिवाङ-९, पर्वतका पुजन गिरी, सञ्जय गिरी, नारायण कसी, रोसन केसी र अर्जुन केसीलाई १५ वर्षीय किशोरलाई सामूहिक बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पीडितलाई आफ्ना दाजुले बाग्लुङ अंचल अस्पतालमा लगेर उपचार गराएका थिए ।

गत २५ बैशाखमा चन्द्रनिगाहपुर-२, रौतहटका ३६ वर्षीय राजु परियार र २५ वर्षीय भरत मानन्धरमाथि बलात्कारको आरोप छ । यो घटनाका पीडित मध्येका एक तेस्रो लिंगी भएको प्रहरीले जनाएको छ । आरोपीहरू काठमाडौं, चन्द्रागिरीबाट पक्राउ परेका हुन ।

महिलामाथि पनि बलात्कारको आरोप

सामान्तयाः जबरजस्ती करणीका घटनामा महिला नै पीडित हुँदै आएका छन् । तर, महिलाले बलात्कार गरेको छिटफुट घटना पनि नभएका भने होइनन् । साविक श्रीगाउँ-६, दाङकी १६ वर्षीया एक युवतीमाथि ६ वर्षीय बालकलाई बलात्कार गरेको आरोप लागेको छ । बलात्कृत बालकलाई राप्ती उपक्षेत्रीय अस्पताल हिंसा संकट केन्द्रमा उपचार गरिएको थियो । आरोपीले कोठामा लगेर बलात्कार गरेका बालक बिरामी भएर अस्पताल लगेपछि घटनाको रहस्य बाहिर आएको थियो ।

निश्पक्ष छानविन गरेर दोषीलाई कारवाहीको दायरामा नल्याएसम्म कानुन जति कडा बनाए पनि यसको अर्थ छैन । कञ्चनपुरको घटनामा जस्तो प्रहरीको भूमिका नै सन्देहमा पर्‍यो भने पीडितले न्याय माग्न कहाँ जाने ?

बसामडी-५, मकवानपुर स्थायी घर भएकी ५८ वर्षीय एक महिलालाई प्रहरी वृत्त थानकोटले पक्राउ गर्‍यो । थानकोट-७ मा डेरा गरी बस्ने उनलाई झारफुकको बहानामा २४ वर्षीयायुवतीलाई बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले एउटा मुद्दामा महिलाले नै महिलालाई बलात्कार गरेको ठहर समेत गरिसकेको छ । मत्स्यपोखरी, संखुवासभाकी लाक्पा शेर्पाले महिला भएपनि महिलालाई बलात्कार गरेको भन्दै सर्वोच्च अदालतले सजाय सुनाईसकेको छ ।

प्रतिवादको प्रतिफल

कानूनले व्यक्तिलाई असल नियतले निजी रक्षा प्रयोगको अधिकार दिएको छ । प्रतिकार गर्नसक्ने केही महिला, बलात्कारीको चंगुलबाट बच्न सफल पनि भएका छन् ।

गत ९ बैशाखमा दाङको तुलसीपुर उपमहानगरपालिका-१५ मा एक ६४ वर्षीय पुरुषको शव फेला पर्‍यो । बिहान साढे ४ बजे जबरजस्ती करणी गर्न खोजेपछि आफूले प्रतिकार गर्दा मृत्यु भएको एक महिलाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ । ३७ वर्षीया महिलाले प्रतिकारको क्रममा अण्डकोषमा लागेर मृत्यु भएको बयान दिएकी हुन् ।

जनकपुरस्थित जानकी मेडिकेयर अस्पतालमा ०७१ फागुनमा संवेदनशील अंग दुई टुक्रा भएको २२ वर्षीय युवकलाई भर्ना गरियो । उनको अंग धारिलो हतियारले काटिएको थियो । जनकपुर उपमहानगरपालिका-१७ की २८ वर्षीया महिलाले आफूलाई जरबजस्ती करणी गर्न खोजेपछि युवकको अंग काटेको स्वीकार गरेकी थिइन् ।

धनुषाकै एकराही-४ का २२ वर्षीय युवकको संवेदनशील अंग ३२ वर्षीया महिलाले चुलेसीले काटी दिइएकी थिइन् । सिराहाको भवानीपुर-६ की ३२ वर्षीय महिलाले आफूलाई बलात्कार गर्न लागेको भन्दै २३ वर्षीय युवाको संवेदनशील अंग छिनाइदिएकी थिइन् । सप्तरी, जोगनियाका ५० वर्षीय पुरुषको संवेदनशील अंग ३६ वर्षीया महिलाले ब्लेडले काटिदिएकी थिइन् ।

यी घटनाहरूमा २८ देखि ३६ वर्षका महिला प्रतिकार गर्न सफल भएको देखिन्छ । यो उमेर समूहका पीडितको संख्या अन्यको तुलनामा कम छ । यो उमेरका अधिकांश पीडितहरू शारीरिक वा मानसिक अपाङ्गता भएका बढी छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com