अमेरिकाले ग्रीनल्यान्ड कब्जा गर्न सैन्य बल प्रयोग गर्न सक्ने प्रबल सम्भावना
प्रकाशित मिति : पुस २२, २०८२ बुधबार
फोटो : भिजिट ग्रिनल्यान्ड / ओपनभर्स
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा लिन सैन्य बल प्रयोग गर्न सक्ने सम्भावना देखिएको छ।
ह्वाइट हाउसका अनुसार ट्रम्पले ग्रीनल्यान्ड अधिग्रहणका लागि “विभिन्न विकल्पहरू” माथि छलफल गरिरहेका छन्, जसमा सैन्य हस्तक्षेपको विकल्प समेत रहेको बताइएको छ।
ह्वाइट हाउसले डेनमार्कको अर्ध-स्वायत्त क्षेत्र ग्रीनल्यान्डलाई प्राप्त गर्नु अमेरिकाको “राष्ट्रिय सुरक्षा प्राथमिकता” भएको जनाएको छ। स्मरणीय छ, डेनमार्क नेटो को संस्थापक सदस्य राष्ट्र हो।
युरोपेली नेताहरूले डेनमार्कको समर्थनमा संयुक्त विज्ञप्ति जारी गरेको केही घण्टापछि अमेरिकाको यस्तो प्रतिक्रिया आएको हो। कतै अमेरिकाले ग्रीनल्यान्डका शासकको हालत पनि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको जस्तै बनाइदिने त होइन भन्ने चिन्ता युरोपेली वृत्तमा देखिएको छ।
डेनमार्कले आर्कटिक टापु ग्रीनल्यान्डसम्बन्धी ट्रम्पको महत्वाकांक्षालाई कडा रूपमा अस्वीकार गर्दै आएको छ। तर, ट्रम्पले ग्रीनल्यान्ड अमेरिकाको सुरक्षाका लागि “अपरिहार्य” भएको दाबी पुनः दोहोर्याएका छन्।
यसअघि डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सेनले यदि अमेरिकाले आक्रमण गरेमा त्यो नेटो गठबन्धनको अन्त्य हुने चेतावनी दिएकी थिइन्। नेटो एक ट्रान्स-एटलान्टिक सैन्य गठबन्धन हो, जहाँ कुनै सदस्य राष्ट्रमाथि बाह्य आक्रमण भएमा अन्य सदस्यहरूले सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता हुन्छ।
बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कप्रति ऐक्यबद्धता जनाएका छन्। युरोपेली नेताहरूले आर्कटिकको सुरक्षामा अमेरिकाको जत्तिकै चासो रहेको उल्लेख गर्दै त्यो कार्य नेटो सहयोगी राष्ट्रहरूले “सामूहिक रूपमा” गर्नुपर्नेमा जोड दिएका छन्।
उनीहरूले संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार सार्वभौमिकता, क्षेत्रीय अखण्डता र सीमाको सम्मान गर्न समेत आह्वान गरेका छन्। ग्रीनल्यान्डको भविष्यसम्बन्धी यो बहस भेनेजुएलामा अमेरिकी सैन्य हस्तक्षेपपछि पुनः चर्किएको हो। हालै अमेरिकी विशेष सैन्य बलले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरी न्युयोर्क पुर्याएको थियो।
करिब ५७ हजार जनसंख्या रहेको ग्रीनल्यान्डमा सन् १९७९ देखि स्वशासन छ। यद्यपि, यसको रक्षा र विदेश नीति अझै पनि डेनमार्कको नियन्त्रणमा छ। अधिकांश ग्रीनल्यान्डवासी डेनमार्कबाट पूर्ण स्वतन्त्रता चाहन्छन्, तर जनमत सर्वेक्षणहरूका अनुसार उनीहरू अमेरिकाको हिस्सा बन्ने कुराको कडा विरोध गर्छन्।





