लामाल्फाको मृत्युपछि अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकनलाई झड्का
प्रकाशित मिति : पुस २१, २०८२ मंगलबार
अमेरिकाको क्यालिफोर्नियाबाट निर्वाचित रिपब्लिकन नेताको निधन भएको छ। कङ्ग्रेस सदस्य डग लामाल्फाको ६५ वर्षको उमेरमा अचानक निधन भएको बताइएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लामाल्फाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै एक उत्कृष्ट सदस्य गुमाएको बताएका छन्। लामाल्फाको मृत्युको कारण तत्काल स्पष्ट हुन सकेको छैन। उनी पूर्व धान किसान थिए।
सन् २०१३ मा पहिलो पटक कङ्ग्रेसमा निर्वाचित भएका लामाल्फाले आफ्नो कार्यकालमा पानी र कृषि सम्बन्धी मुद्दालाई मुख्य प्राथमिकतामा राखेका थिए।
उनको निधन र ट्रम्पकी पूर्व सहयोगी मार्जोरी टेलर ग्रीनको राजीनामापछि अमेरिकी प्रतिनिधिसभामा रिपब्लिकन पार्टीको बहुमत अझ कमजोर बनेको छ। हाल रिपब्लिकनसँग २१८ सिट र डेमोक्र्याटसँग २१३ सिट छन्।
यसले रिपब्लिकनलाई केवल दुई मतको मात्र सुरक्षित अग्रता दिएको छ। यदि तीन जना सदस्यले मतदान नगरे वा डेमोक्र्याटको पक्ष लिएमा रिपब्लिकनहरूले बहुमत गुमाउने अवस्था आउन सक्छ।
मिनेसोटाका कङ्ग्रेस सदस्य टम एमरले लामाल्फालाई “आफ्ना मतदाता र ग्रामीण अमेरिकाका दृढ समर्थक” का रूपमा स्मरण गरे। लामाल्फाले क्यालिफोर्निया पोलिटेक्निक स्टेट युनिभर्सिटी (सान लुइस ओबिस्पो) बाट कृषि व्यवसायमा स्नातक डिग्री हासिल गरेका थिए।
कङ्ग्रेसमा प्रवेश गर्नुअघि उनले राज्य विधायकको रूपमा पनि सेवा गरेका थिए। कङ्ग्रेस सदस्यका रूपमा उनले उत्तरी क्यालिफोर्नियाका आगलागी पीडितहरूका लागि सहयोग जुटाउने,अत्यधिक नियमनबाट परिवारहरूलाई जोगाउने, अमेरिकी किसान र पशुपालकहरूले विश्वलाई खाद्यान्न आपूर्ति गर्न सकून् भन्ने सुनिश्चित गर्ने कार्यहरूमा योगदान पुर्याएका थिए।
हाल प्रतिनिधिसभामा चार स्थान रिक्त छन्, जसमध्ये दुई स्थानमा डेमोक्र्याटहरूले जित्ने सम्भावना रहेको बताइएको छ। ती विशेष निर्वाचनहरू जनवरीको अन्त्यमा टेक्सासमा र वसन्त ऋतुमा न्यु जर्सीमा हुनेछन्।
क्यालिफोर्नियाको कानुनअनुसार, गभर्नर गेभिन न्युसमले लामाल्फाको रिक्त स्थानका लागि विशेष निर्वाचनको घोषणा गर्न १४ दिनको समय पाउनेछन्।





