अमेरिकामा हेलिकप्टर दुर्घटना: एकै परिवारका चार जनाको मृत्यु


प्रकाशित मिति : पुस २१, २०८२ मंगलबार

a very tall mountain with a sky background

फोटो: जेएल कुन / अनस्प्लास

अमेरिकाको एरिजोना राज्यमा भएको हेलिकप्टर दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। एरिजोनाको एक दुर्गम क्यान्यन (खोंच) मा टाँगिएको ‘स्ल्याकलाइन’ मा हेलिकप्टर ठोक्किँदा यो दुःखद घटना भएको हो।

अधिकारीहरूका अनुसार मृतकहरू ओरेगन राज्यका एउटै परिवारका सदस्य हुन्। ज्यान गुमाउनेहरूमा ५९ वर्षीय पाइलट डेभिड म्याककार्टी र उनकी तीन भतिजीहरू २३ वर्षीया राचेल म्याककार्टी, २१ वर्षीया फेथ म्याककार्टी र २१ वर्षीया केटलिन हाइडम्यान रहेका छन्।

पाइनल काउन्टी शेरिफ कार्यालयका अनुसार उक्त स्ल्याकलाइन एक किलोमिटरभन्दा लामो थियो। प्रत्यक्षदर्शीहरूका अनुसार हेलिकप्टर स्ल्याकलाइनको एक भागमा ठोक्किएपछि सिधै खोंचमा खसेको थियो।

स्ल्याकलाइन प्रयोग गर्ने समूहले उडान सुरक्षासम्बन्धी आधिकारिक सूचना ‘नोटाम’ दर्ता गरिसकेका थिए। पाइलटले उक्त चेतावनी देखेका थिए वा थिएनन् भन्ने विषयमा अहिले प्रश्न उठेको छ। दुर्घटनाको ठोस कारण अझै खुल्न सकेको छैन, तर अनुसन्धान जारी छ। यसबारे आधिकारिक प्रतिवेदन ३० दिनभित्र सार्वजनिक गरिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्ल्याकलाइन यो जमिन वा खोंचमाथि दुई बिन्दुबीच तानिएको बलियो र लचिलो डोरी हो। ‘टाइटरोप’ को तुलनामा यो अलि खुकुलो र लचिलो हुन्छ, जसमा खेलाडीहरू सन्तुलन मिलाएर हिँड्ने, उफ्रने वा दौडने गर्छन्। धेरै उचाइमा खेलिने यो खेललाई ‘हाइलाइनिङ’ भनिन्छ।

नोटाम पाइलटहरूका लागि जारी गरिने हवाई सुरक्षा सूचना प्रणाली हो। यसले उडान मार्गमा हुन सक्ने सम्भावित जोखिमहरू (जस्तै: चराको बथान, धावनमार्गको अवरोध वा उच्च उचाइमा टाँगिएका तार/डोरी) बारे जानकारी दिन्छ। पाइलटहरूले उडान भर्नुअघि अनिवार्य रूपमा नोटाम जाँच गर्नुपर्छ। यद्यपि, विज्ञहरूले यो प्रणाली पुरानो र जटिल भएको भन्दै आलोचना समेत गर्दै आएका छन्।

प्रारम्भिक प्रमाणअनुसार फिनिक्सको पूर्वमा पर्ने टेलिग्राफ क्यान्यन नजिकको पहाडी क्षेत्रमा उक्त मनोरञ्जनात्मक स्ल्याकलाइन तानिएको थियो। दुर्घटनाको समयमा स्ल्याकलाइनमा कोही पनि नरहेको पुष्टि भएको छ। हाल हेलिकप्टरको भग्नावशेषलाई परीक्षणका लागि सुरक्षित स्थानमा लगिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com