के सबै नेपालीले अमेरिकी भिसाका लागि १५ हजार डलरसम्म धरौटी राख्नुपर्छ? कारण के?


प्रकाशित मिति : पुस २२, २०८२ बुधबार

एआईको सहयोगबाट निर्मित तस्वीर

अमेरिकी विदेश मन्त्रालयले भिजिटर भिसाका आवेदकहरूका लागि धरौटी तिर्नुपर्ने देशहरूको सूचीमा नेपाललाई पनि समावेश गरेपछि यसबारे नेपालीहरूबीच चासो र चिन्ता बढेको छ। जनवरी २१ देखि लागू हुनेगरी अमेरिकी विदेश मन्त्रालयले नेपाल सहित २५ देशलाई अमेरिकाको भिजिटर भिसाका लागि धरौटी राख्नुपर्ने देशको सूचिमा थपेको हो। अब यो सूचीमा कुल ३८ देश रहेका छन्।

के सबैले तिर्नुपर्छ यो धरौटी रकम?

अमेरिकी विदेश मन्त्रालय र फेडरल रजिस्टरमा प्रकाशित सूचनाअनुसार यो धरौटी रकम सबै भिसा आवेदकले तिर्नुपर्दैन। अझै पनि धेरै आवेदकले विना धरौटी नै अमेरिकाको भिजिटर भिसा पाउन सक्नेछन्। कुन आवेदकले ५ हजार, १० हजार वा १५ हजार डलरसम्म धरौटी तिर्ने भन्ने निर्णय कन्सुलर अधिकारीहरूले गर्नेछन्। अर्थात्, सबैका लागि एउटै रकम नभई आवेदकको अवस्थाअनुसार फरक-फरक रकम निर्धारण हुन सक्छ।

कन्सुलर अधिकारीले भिसा अन्तर्वार्ताको क्रममा आवेदकको व्यक्तिगत परिस्थितिको आधारमा आफ्नो स्वविवेक प्रयोग गरी धरौटी रकम निर्धारण गर्नेछन्। यो रकम अमेरिकी ट्रेजरीद्वारा सञ्चालित वेबसाइट मार्फत बुझाइनेछ र सोही संस्थाद्वारा सञ्चालित खातामा राखिनेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के यो नियम सबै भिसामा लागू हुन्छ?

हुँदैन। अमेरिकी विदेश मन्त्रालयका अनुसार यो नियम केवल बी-१ र बी-२ भिजिटर भिसाका आवेदकहरूमा मात्र लागू हुन्छ। अन्य आप्रवासी वा गैर-आप्रवासी भिसाका आवेदकहरूले योग्य ठहरिएमा विना धरौटी नै भिसा पाउनेछन्।

कस्ता देशका नागरिकले धरौटी तिर्नुपर्छ?

विदेश मन्त्रालयका अनुसार उच्च भिसा ओभरस्टे दर, अपर्याप्त जाँच वा छानबिन, वा निवासको आवश्यकता बिना नागरिकता प्रदान गर्ने कार्यक्रम भएका देशका नागरिकहरूलाई यो नियम लागु हुन्छ। यो सूची समय-समयमा संशोधन भइरहनेछ। आर्थिक वर्ष २०२४ को ओभरस्टे रिपोर्टको आधारमा यी देशमाथि धरौटी नियम लागू गरिएको हो।

नेपालीहरूलाई यो नियम किन लागू भयो?

नेपालीहरूका लागि यो नियम लागू हुनुको प्रमुख कारण उच्च भिसा ओभरस्टे दर र आवेदकहरूको अपर्याप्त छानबिन हो। आर्थिक वर्ष २०२४ को ओभरस्टे रिपोर्टअनुसार ३४,०७० जना नेपाली भिजिटर भिसाधारकमध्ये १,०६४ जनाले अमेरिका छोड्ने म्याद नाघाएका थिए। तीमध्ये १७२ जनाले पछि अमेरिका छाडे भने ८९२ जना अझै अमेरिकामै रहेका थिए।

२०२४ मा नेपाली भिजिटरहरूको कुल ओभरस्टे दर ३.१२ प्रतिशत थियो भने अमेरिकाभित्र ओभरस्टे हुने दर २.६२ प्रतिशत थियो। ओभरस्टे भइसकेपछि अमेरिका छाडेकाहरूको संख्या घटाएर अमेरिकाभित्र जारी ओभरस्टे दर निर्धारण गरिएको हो। अध्यागमन स्थिति विस्तार, परिवर्तन वा ग्रिनकार्ड समायोजनका लागि आवेदन दिएका व्यक्तिहरूलाई ओभरस्टेमा गणना गरिएको छैन।

त्यस्तै, २०२४ मा नेपाली विद्यार्थीहरूको ओभरस्टे दर झन् उच्च थियो — कुल १०.२५ प्रतिशत, जसमा अमेरिकाभित्र ओभरस्टे हुने दर ९.३६ प्रतिशत थियो। सो वर्ष ५०६ जना नेपाली विद्यार्थी अमेरिकी भिसा उल्लंघनमा परेका थिए।

के धरौटी रकम फिर्ता हुन्छ?

यदि भिसाधारकले भिसाका शर्तहरू र तोकिएको समयमा प्रस्थानको नियम पालना गरेमा धरौटी रकम फिर्ता गरिनेछ। तर, भिसा उल्लंघन वा ओभरस्टे गरिएमा उक्त रकम जफत गरिनेछ। धरौटी रकममा कुनै ब्याज नलाग्ने स्पष्ट गरिएको छ।

के धरौटी तिरेपछि मल्टिपल भिसा पाइन्छ?

पाइँदैन। धरौटी तिर्नुपर्ने आवेदकले अधिकतम तीन महिनाको अवधिका लागि सिंगल इन्ट्री भिसा मात्र पाउनेछन्। अमेरिका प्रवेशका बेला सीबीपी अधिकारीले प्रवेश पछि बस्ने अवधि ३० दिनमा सीमित गर्न सक्नेछन्।

के धरौटी तिरेपछि भिसा पाउने ग्यारेन्टी हुन्छ?

हुन्न। सबै आवेदकले धरौटी तिर्नुपर्दैन; कन्सुलर अधिकारीले योग्य ठहराएका आवेदकले मात्र धरौटी राख्नुपर्छ। यो निर्णय भिसा अन्तर्वार्तापछि मात्रै हुन्छ। धरौटी राख्नुपर्ने आवेदकले आई-३५२ फारम भरेर अमेरिकी ट्रेजरीको आधिकारिक भुक्तानी प्लेटफर्ममार्फत रकम बुझाउनुपर्ने हुन्छ।

विदेश मन्त्रालयले कुनै पनि तेस्रो पक्ष वेबसाइट वा मध्यस्थ प्रयोग नगर्न आवेदकलाई चेतावनी दिएको छ, किनभने अनधिकृत माध्यममार्फत पठाइएको रकमको जिम्मेवारी अमेरिकी सरकारले लिँदैन। साथै, कन्सुलर अधिकारीको निर्देशन बिना तिरेको रकम फिर्ता नहुने पनि बताइएको छ।

धरौटी तिरेका भिसाधारकले जुनसुकै विमानस्थलबाट अमेरिका प्रवेश गर्न सक्छन्?

पर्दैन। धरौटी तिरेका भिसाधारकहरूले तोकिएका प्रवेश बिन्दुहरूबाट मात्र अमेरिका प्रवेश र प्रस्थान गर्न सक्छन्। यी प्रवेश बिन्दुहरूमा बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थल, जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल र वाशिंगटन डलेस अन्तर्राष्ट्रिय विमानस्थल मात्र समावेश छन्। नियम उल्लंघन भएमा प्रवेश ढिलाइ, अस्वीकार वा भविष्यमा भिसा अस्वीकृत हुने जोखिम रहन्छ।

धरौटी रकम फिर्ताको सर्त के हो?

धरौटी सम्बन्धी सर्तहरू डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको धरौटी फारम र आधिकारिक सरकारी वेबसाइटमा उल्लेख गरिएका छन्। होमल्याण्ड सेक्युरिटीले भिसावाहकले तोकिएको म्यादभित्र अमेरिका छाडे/नछाडेको रेकर्ड राख्छ।

भिसावाहकले तोकिएको म्याद सकिनु अघि अमेरिका छाडेमा वा प्रवेश मितिले पर्याप्त म्याद बाँकी रहँदै अमेरिका पुगेमा धरौटी रकम फिर्ता गरिनेछ। त्यस्तै, यदि भिसावाहकलाई प्रवेश बिन्दु मा प्रवेश अनुमति नदिइएमा पनि रकम फिर्ता हुनेछ।

कस्तो अवस्थामा धरौटी रकम फिर्ता हुँदैन?

यदि होमल्याण्ड सेक्युरिटी को रेकर्डमा भिसाधारकले तोकिएको म्याद नाघेपछि अमेरिका छाडेको देखियो, अथवा तोकिएको समयभन्दा बढी समय अमेरिकामा बसे, वा एसाइलम दाबी गरेको वा स्थिति समायोजनका लागि आवेदन दिएको अवस्थामा धरौटी रकम फिर्ता नहुनेछ।

होमल्याण्ड सेक्युरिटीले यस्ता केसहरू अमेरिकी नागरिकता तथा आप्रवासन सेवालाई पठाउँछ र सर्त उल्लंघन भएको निश्चय भएपछि धरौटी रकम जफत गरिन्छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com