बादललाई गृहबाट हटाएर रक्षामन्त्री, ईश्वर गृहमा, मातृकालाई बर्खास्त गरेर जनार्दन ल्याउने तयारी !


प्रकाशित मिति : भाद्र १३, २०७५ बुधबार

प्रधानमन्त्री केपी ओलीले केही मन्त्रीको बर्खास्ती र केहीको जिम्मेवारी हेरफेरको तयारी गरेको हल्ला चलेको छ ।

कहिले मन्त्रीहरुको सर्टिफिकेट बनाएर त कहिले प्रधानमन्त्रीहरुलाई मन्त्रीहरुका कुरा लगाएर विवादमा आइरहेका प्रधानमन्त्रीको सचिवालयका केही जिम्मेवार व्यक्तिहरु नै फेरि केही मन्त्रीको बर्खास्ती र केहीको सरुवा हुन लागेको हल्ला बजारमा फैलाउन सक्रिय भएका छन् । त्यस्ता विवादास्पद काममा विशेष गरी प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल अगाडि छन् ।

तोकिएको जिम्मेवारी बेगरमा त्यस्ता विवादास्पद काम नगर्न प्रधानमन्त्री ओली स्वयंले केहीपटक चेतावनी दिए पनि रिमालले कार्यशैलीमा परिवर्तन गरेका छैनन् । पछिल्लोपटक गृहमन्त्री रामबहादुर थापा बादललाई रक्षामा सरुवा गरेर रक्षाबाट ईश्वर पोखरेललाई गृहमा ल्याउने तयारीमा प्रधानमन्त्री रहेको हल्ला चलाइरहेका छन् उनै रिमालले ।

केही दिनघि मिडियाका सम्पादकहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले वीर अस्पतालका चिकित्सकलाई मन्त्रालयमा बोलाएर बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिकले थर्काएको र थाइल्याण्ड जान लागेका पूर्वमाओवादीका अयोग्य लडाकु लेनिन विष्टलाई विमानस्थलबाटै फर्काइएको विषयमा गृहमन्त्रीसँग २४ घण्टे स्पष्टीकरण सोधेका बताएका थिए ।

उनले बिग्रिएका कामजति सबैको जवाफ आफूले दिनुपरिरहेको भन्दै उस्तै परे एक्सनमा उत्रिने चेतावनी दिएका थिए । प्रधानमन्त्रीको चेतावनी र रिमालको हल्लाका बीचमा तादात्म्यता भए पनि तत्काल मन्त्रीको जिम्मेवारी हेरफेर हुने सम्भावना नरहेको नेकपामा एक शीर्ष नेताले बताए । उता पहिला अर्थ र पछि परराष्ट्र मन्त्रालय दिने आश्वासन दिएर पनि अन्तिममा रक्षाजस्तो कमजोर भूमिका भएको मन्त्रालय दिइएकामा असन्तुष्ट पोखरेललाई ‘म्यानेज’ गर्नुपर्ने दबाबमा प्रधानमन्त्री छन् । तत्कालिन एमालेभित्रको गुटगत राजनीतिमा ओलीलाई पोखरेलले दह्रिलो साथ दिएको भए पनि पछिल्लो समय भने दुईबीचको सम्बन्ध चिसो छ ।

यस्तै कालीमाटी र बल्खुस्थित तरकारी बजारमा अनुगमन गरेर जथाभावी स्टल भाडा असुल्दै आएका बिचौलिया व्यापारीलाई ठेगान लगाएर चर्चा र स्याबासी पाएका उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवलाई बर्खास्त गर्ने तयारीमा प्रधानमन्त्री रहेको हल्ला पनि पिटाइएको छ । मातृका हाल दक्षिण छिमेकी भारतको भ्रमणमा छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com