झुण्ड्याएर गोली ठोकेपछि मात्रै बलात्कारको घटना कम हुन्छ : सांसद रेग्मी


प्रकाशित मिति : भाद्र १०, २०७५ आईतबार

नेपाल महिला संघकी अध्यक्ष एवम् प्रतनिधि सभा सदस्य उमा रेग्मीले बलात्कारलगायत महिलामाथि हुने हिंसा र जघन्य अपराधमा संलग्न दोषीलाई मृत्युदण्ड दिनुपर्ने कानून बनाउन माग गरेकी छिन् ।

रिपोर्टर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन्, ‘बलात्कारमा संलग्न दोषीलाई मृत्युदण्ड दिने व्यवस्था अमेरिकाको अधिकांश राज्यमा छ । भारतमा पनि बलात्कारका घट्नाहरु बढ्न थालेपछि आन्दोलनमार्फत मृत्युदण्ड दिने व्यवस्था गर्न भारत सरकार बाध्य भयो । अब, नेपालमा पनि संविधान संशोधन गरेर भएपनि बलात्कारीलाई मृत्युदण्ड दिने व्यवस्था गर्नुपर्छ ।’

८ देखि १० जना बलात्कारीहरुलाई सार्वजनिक ठाउँमा झुण्ड्याएर गोली ठोकेपछिमात्रै मानसिक रुपमा तिनीहरु बलात्कारलगायतका आपराधिक गतिविधिमा सलंग्न नहुने र महिलामाथि हिंसा गर्नुअघि एकपटक सोच्न बाध्य हुने उनको भनाई छ ।

कञ्चनपुरको घट्नाको सन्दर्भमा बनेको छानविन समितिमा सबै पुरुषमात्रै भएको बताउँदै उनले यस्तो छानबिन समितिप्रति आफूहरुलाई पटक्कै विश्वास नभएको समेत जिकिर गरिन् । उनले भनिन्,‘यो अत्यन्तै जघन्य अपराध हो । अहिलेसम्म सरकारी संयन्त्रले दोषी पत्ता लगाउन सकेको छैन । सरकार र प्रहरी प्रशासनप्रति जनताको विश्वास दिनप्रतिदिन घट्दै गएको छ । सरकारले बनाएको छानबिन समितिप्रति पनि हामीलाई कुनै विश्वास छैन । त्यसैले संसदले सर्वपक्षीय महिला तथा पुरुष सबैलाई समेटेर शक्तिशाली संसदीय छानबिन समिति त्यो पनि सार्वभौम संसदबाटै बनाउनुपर्छ ।’

उनले भनिन्,‘महिलालाई बस्तुका रुपमा हेर्न थालिएको छ । मनोरञ्जनको साधनको रुपमा लिने गरिएको छ, यस्तो आपराधिक कार्यको बारेमा सरकारले उचित कदम उठाउनुपर्छ । निर्मलाको बलात्कारपछि हत्या हुँदा सडकमा बरालिएर हिँड्ने अर्धपागललाई लुकाएर प्रशासनले आधिकारिक दोषीलाई उन्मुक्ति दिन खोज्दैछ ।’

बलात्कारमा संलग्न बास्तविक दोषीलाई कानूनी कारबाहीको दायरामा नल्याएर सरकारले मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई ‘डमी अभियुक्त’ खडा गरेर पीडकलाई उन्मुक्ति दिने षड्यन्त्र गरेको पनि उनले आरोप लगाईन् ।

उनले न्याय माग्न जानेलाई छातीमा गोली हान्ने अधिकार प्रहरी प्रशासनलाई कुन कानूनले दियो भन्दै प्रश्नसमेत गरिन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी महामन्त्री एवम् सांसद चन्दा चौधरीले बलाल्कारीलाई फाँसी दिने कानून आवश्यक भएको बताएकी छिन् ।

उनले भनिन्,‘जनताका मागहरु राज्यले पूरा गर्नुपर्छ । कञ्चनपुरका जनताहरु आँखामा आँसु बोकेर सडकमा उत्रेका छन् । कुनै राजनीतिक गन्ध दिएर सरकार र सरकारमा भएका व्यक्तिहरुले त्यो घट्नाका बारेमा बेखबर बन्न मिल्दैन । सरकारले यस घट्नालाई सरकारले गम्भिर रुपमा लिनुपर्छ । जघन्य अपराध गर्नेलाई मृत्युदण्ड दिनुपर्छ । हाम्रो पार्टी बलात्कारीलाई मृत्युदण्ड दिनेबारेमा छलफल गर्न तयार छ ।’
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा मगरले कञ्चनपुरको घट्नाका बारेमा सरकार गम्भिर रहेको बताइन् ।

मन्त्री थापाले १३ वर्षीया निर्मला पन्तका हत्यारालाई कारबाही गर्न र पीडित परिवारलाई उचित क्षतिपुर्ति प्रदान गर्न सरकार गम्भिर रहेको बताएकी हुन् ।

मन्त्री थापाले भनिन्,‘पाँच वर्षको लागि स्थिर सरकार बनेको छ, सरकार जनताको जिउ धनको सुरक्षा गर्न संवेदनशील छ, कञ्चनपुरको घट्ना एकदमै दुःखद् छ, निर्मलाको हत्यामा संलग्नको पहिचान गर्छौं र कानून अनुसार कारबाही पनि गर्छौं, उक्त घट्नाको बारेमा अनुसन्धान लामो भयो, जनताले शंका गरे, अनि आन्दोलन भयो, सरकारले कञ्चनपुरको प्रहरी प्रशासनलाई फिर्ता बोलाएको छ, त्यहाँ पठाईएका नयाँ प्रशासक र सुरक्षा प्रमुखले समयमै काम गर्छन् ।’

कञ्चनपुर घट्नाको बारेमा बनेको छानविन समितिले तत्काल काम गर्ने बताउदै मन्त्री थापाले घट्नामा संलग्न जोकोहीलाई कानूनको दायारमा ल्याएरै छोड्ने बताइन् । हिजो साँझ गोली चलेर १४ वर्षीय बालकको निधन भएको घट्ना दुःखद् रहेको उनले बताईन् ।

उनले भनिन्,‘हिजोको घट्नाको पनि सरकारले सत्य तथ्य छानबिन गर्छ । र, दोषीमाथि कडा कानूनी कारबाही गर्छ ।’ यद्धपि उनले आन्दोलनलाई राजनीतिक रंग दिन नहुने धारणा राखिन् ।

उनले भनिन्,‘सरकार गम्भिर छ, अपराधीलाई कुनैपनी हालतमा कारबाही हुन्छ,जघन्य अपराधीलाई मृत्युदण्ड दिनमिल्ने हाम्रो कानून छैन्, आवाजहरु उठेका छन्, संविधान अनुसार हामीले बोल्ने हो । कि त संविधान संशोधन गर्नुपर्छ, अनिमात्रै अपराधीलाई मृत्युदण्ड दिन मिल्छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com