मोरङका विवेकको अमेरिकामा निधन, शव नेपाल पठाउन ‘गोफण्डमी’


प्रकाशित मिति : पुस २२, २०८२ बुधबार

मोरङ जिल्लाको विराटनगर महानगरपालिका रानी स्थायी घर भएका ३२ वर्षीय विवेक कुमार दाहालको शव नेपाल पुर्‍याउने उद्देश्यले गो–फण्ड–मी अभियान सञ्चालनमा ल्याइएको छ। अमेरिकाको वासिङ्टन डीसीस्थित मेडस्टार वासिङ्टन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो।

गत डिसेम्बर १० तारिख राति करिब ११ बजे आफ्नै अपार्टमेन्टमा अचानक बेहोस भएर ढलेका दाहाललाई नजिकका साथीभाइको सहयोगमा तत्काल स्थानीय ला प्लाटा अस्पतालमा भर्ना गरिएको थियो। प्रारम्भिक उपचारका क्रममा उनलाई मस्तिष्क रक्तस्राव (ब्रेन हेमरेज) भएको पुष्टि भएपछि भोलिपल्ट थप उपचारका लागि मेडस्टार वासिङ्टन अस्पताल, वासिङ्टन डीसीमा रेफर गरिएको थियो।

लगातार तीन हप्तासम्म सघन उपचार कक्ष (आईसीयू) मा राखी उपचार गरिए पनि उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेन। अन्ततः डिसेम्बर ३१ तारिख उनको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

दाहालका पारिवारिक सदस्य तथा आफन्त अमेरिकामा नभएकाले अस्पतालसँग समन्वय तथा व्यवस्थापनको काममा मेरिल्याण्ड राज्यका सांसद तथा नेपाली–अमेरिकी समुदायका अगुवा ह्यारी भण्डारीले आवश्यक सहयोग र समन्वय गर्दै आएका छन्। हाल दाहालको पार्थिव शरीर अस्पतालबाट निकालेर शव व्यवस्थापन केन्द्र (फ्युनरल केयर सेन्टर) मा राखिएको छ। साथै परिवारको स्वीकृतिअनुसार शव नेपाल पठाउने व्यवस्थाका लागि प्रक्रिया अघि बढाइएको छ। भण्डारीका अनुसार सबै व्यवस्थापन मिलाई आगामी एक साताभित्र पार्थिव शरीर नेपाल पठाउने तयारी छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२३ अप्रिलदेखि अमेरिका बस्दै आएका दाहालकी ७ वर्षीया छोरी, श्रीमती तथा परिवार विराटनगरमै रहेको पारिवारिक स्रोतले जनाएको छ। परिवारको आर्थिक अवस्था कमजोर रहेकाले शव नेपाल ल्याउन समस्या परेको बताइएको छ। नेपालबाट मात्रै गरिएको पहल अपर्याप्त हुने भएकाले आवश्यक सहयोग गरी पार्थिव शरीर नेपालसम्म पुर्‍याउने व्यवस्था गर्न दाहालकी श्रीमती सृजना कार्कीले सबैमा अपिल गरेकी छन्।

यसैबीच, एनआरएनए मेरिल्याण्ड च्याप्टरले विवेक कुमार दाहालको शव नेपाल पुर्‍याउने उद्देश्यले गो–फण्ड–मी अभियान सञ्चालनमा ल्याएको छ। २५ हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्यसहित सुरु गरिएको उक्त अभियानमा समाचार तयार पार्दासम्म जम्मा ९,६०८ डलर संकलन भएको छ।

तपाई पनि सहयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लीक गर्नुहोला।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com