अमेरिकामा तीन सन्तानकी आमा ‘आइस’ अधिकारीद्वारा मारिएको घटनाको सम्पूर्ण अनुसन्धान अब एफबीआईले गर्ने


प्रकाशित मिति : २५ पुस २०८२, शुक्रबार

अमेरिकाको मिनियापोलिस सहरमा ‘आइस’ अधिकारीले एक महिलाको गोली हानी हत्या गरेको घटनाको अनुसन्धान अब पूर्ण रूपमा संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले गर्ने भएको छ।

‘आइस’ अधिकारीले महिलाको हत्या गरेपछि अहिले त्यहाँ दिनहुँ प्रदर्शनहरू भइरहेका छन्। एफबीआईको यस निर्णयप्रति मिनेसोटा राज्यका अधिकारीहरूले भने कडा असन्तुष्टि जनाएका छन्।

मिनेसोटाको ब्युरो अफ क्रिमिनल एप्रिहेन्सन (बीसीए) ले संघीय निकाय एफबीआई र अमेरिकी न्याय मन्त्रालयले उक्त घटनासम्बन्धी फाइल, प्रमाण तथा सामग्रीमा राज्यका निकायलाई पहुँच नदिएको स्पष्ट पारेको छ।

तीन सन्तानकी आमा ३७ वर्षीया रेनी निकोल म्याक्लिन गुडको बुधबार गोली हानी हत्या भएको थियो। सुरुमा हत्याको अनुसन्धान राज्य र संघीय निकायले संयुक्त रूपमा गर्ने सहमति भएको थियो। तर, अब अनुसन्धान पूर्ण रूपमा एफबीआईको नेतृत्वमा हुने र बीसीएलाई घटनास्थलका प्रमाण, कागजात तथा सूचनामा कुनै पहुँच नहुने बताइएको छ।

रेनी गुडको मृत्यु अहिले अमेरिकी राजनीतिमा ठूलो विवादको विषय बनेको छ। कतिपयले ‘आइस’को कारबाहीलाई अत्यधिक बल प्रयोगको उदाहरण मानेका छन् भने राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उक्त गोलीकाण्डलाई आत्मरक्षाको कदम भन्दै बचाउ गर्दै आएको छ।

राज्यका निकायलाई अनुसन्धानबाट अलग राख्ने निर्णयले थप तनाव बढाएको छ। मिनेसोटाका अधिकारीहरूले ट्रम्प प्रशासनले यो घटनालाई राजनीतिक रूपमा प्रयोग गरिरहेको आरोप लगाएका छन्।

मिनेसोटाका डेमोक्र्याट गभर्नर टिम वाल्जले यो अनुसन्धानमा मिनेसोटा हिस्सा हुनैपर्ने अडान राखेका छन्। उनले बीसीएमा सुरक्षाकर्मीहरूद्वारा गरिएको बल प्रयोगसम्बन्धी घटनाको अनुसन्धान गर्न विशेष रूपमा प्रशिक्षित, गैरदलीय र अनुभवी कर्मचारीहरू रहेको उल्लेख गरे।

वाल्जले ट्रम्प प्रशासनबाट आएका भ्रामक अभिव्यक्तिहरूका कारण अनुसन्धानको निष्पक्षतामाथि गम्भीर शङ्का उत्पन्न भएको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीकी प्रमुख क्रिस्टी नोएमले गुडलाई “घरेलु आतंकवादी” भन्दै टिप्पणी गरेकी छन्, तर यो दाबीलाई पुष्टि गर्ने ठोस प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन।

गुडको हत्याले ट्रम्प प्रशासनले अमेरिकाभर आप्रवासन अधिकारीहरू ठूलो सङ्ख्यामा परिचालन गर्ने निर्णयप्रति पुनः प्रश्न उठाएको छ, जसले प्रदर्शनकारी र सुरक्षाकर्मीबीच बारम्बार झडप निम्त्याएको छ।

दोस्रो कार्यकालका लागि राष्ट्रपति बनेपछि ट्रम्पले सामूहिक निर्वासन अभियानसहित कडा आप्रवासन नीति अपनाएका छन्। उनका धेरै कारबाहीहरू मिनियापोलिस जस्ता डेमोक्र्याट शासित सहरहरूमा केन्द्रित देखिएका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com