अमेरिकामा महिला हत्या प्रकरण : मिनियापोलिसमा प्रदर्शन चर्किएपछि नेसनल गार्ड तयारी अवस्थामा


प्रकाशित मिति : पुस २२, २०८२ बुधबार

फोटो : एपी/ रासस

अमेरिकाको मिनेसोटा राज्यका गभर्नर टिम वाल्जले राज्यको ‘नेसनल गार्ड’लाई तयारी अवस्थामा रहन आदेश दिएका छन्। मिनियापोलिसमा अध्यागमन तथा भन्सार प्रवर्तन (आइस) का एक एजेन्टले कारभित्र रहेकी एक महिलालाई गोली हानी हत्या गरेपछि विरोध प्रदर्शन चर्किएकाले गभर्नरले यस्तो निर्देशन दिएका हुन्।

उनले नागरिकहरूलाई शान्तिपूर्ण प्रदर्शनका लागि आग्रह गर्दै सुरक्षा व्यवस्था मजबुत बनाउन नेसनल गार्डलाई परिचालन गर्न सकिने बताएका छन्।

बुधबार मिनियापोलिसमा भएको उक्त गोलीकाण्डमा ३७ वर्षीया रेनी निकोल गुडको मृत्यु भएको हो। सिटी काउन्सिलका सदस्यहरूका अनुसार उनी मिनियापोलिसकै बासिन्दा थिइन्। गभर्नर वाल्ज र मिनियापोलिसका मेयरले यस घटनालाई लिएर संघीय सरकारको दाबीप्रति असहमति जनाएका छन्।

गभर्नर वाल्जले पत्रकार सम्मेलनमा भने, “कुनै ठोस कारणविना कारभित्रै एक व्यक्तिको ज्यान गएको छ।” उनले यो गोलीकाण्डलाई पूर्ण रूपमा ‘अनावश्यक’ संज्ञा दिएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गृह मन्त्रालयका प्रवक्ता ट्रिसिया म्याकलफलिनका अनुसार ती महिलाले सुरक्षा अधिकारीहरूलाई गाडीले कुल्चिने प्रयास गरेपछि आत्मरक्षाका लागि गोली चलाइएको हो।

गृह मन्त्री क्रिस्टी नोएमले यसलाई “घरेलु आतंकवादको कार्य” भन्दै गाडीलाई “घातक हतियार” का रूपमा प्रयोग गरिएको दाबी गरिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत आइस एजेन्टको बचाउ गरेका छन्।

उनले लेखेका छन्, “ती महिला अत्यन्तै उच्छृङ्खल थिइन्, उनले आदेशको अवज्ञा गरिन् र हिंसात्मक रूपमा एजेन्टमाथि गाडी चलाउने प्रयास गरिन्।”

यद्यपि, मिनियापोलिसका मेयर जेकब फ्रेले आफूले घटनाको भिडियो हेरेको र यो कुनै पनि हालतमा ‘आत्मरक्षा’ नदेखिएको दाबी गरेका छन्। प्रहरीका अनुसार मृतक महिला कुनै पनि अनुसन्धानको सूचीमा थिइनन्। उनको टाउकोमा गोली लागेको थियो र अस्पताल पुर्‍याएलगत्तै उनलाई मृत घोषित गरिएको थियो।

यो घटना सन् २०२० मा जर्ज फ्लोइडको हत्या भएको स्थानभन्दा एक माइलभन्दा कम दूरीमा भएको हो। जसका कारण स्थानीय स्तरमा आक्रोश थप तीव्र बनेको छ। गभर्नर वाल्जले आवश्यक परेमा सेना तैनाथ गर्न सकिने बताए पनि प्रदर्शनकारीहरूलाई संयमता अपनाउन अनुरोध गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com