डाक्टरले औषधि सिफारिस गर्दा कमिसनको लोभका ‘ब्राण्ड नाम’ लेख्न नपाउने


प्रकाशित मिति : भाद्र ५, २०७५ मंगलबार

नेपालमा डाक्टरहरुले कमिशनको लोभमा बिरामीहरुलाई महँगा ब्राण्डका औषधीहरु सिफारिस गर्ने गरेको आरोप लागिरहँदा अब सरकारले प्रेस्क्रिप्सनमा औषधीको ब्राण्ड नाम लेख्न नपाउने व्यवस्था गर्न लागेको छ । नयाँ व्यवस्था अनुशार डाक्टरले औषधी सिफारिस गर्दा ब्राण्ड नभई ‘जेनरिक’ नाम लेख्नुपर्नेछ ।

संसदमा दर्ता गरिएको जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा अनिवार्य रूपमा जेनरिक नाममा औषधि सिफारिस गर्नुपर्ने प्रावधान राखिएको छ । जेनरिक नाममा सिफारिस गर्दा उस्तै काम गर्ने गुणस्तरीय औषधि कम मूल्यमा पाइने भएको छ ।

जेनरिक नाममा औषधी सिफारिस गर्दा अब डाक्टरहरुले कुनै खास ब्रान्ड नामको औषधि लेखेबापत उपहार वा पुरस्कार पाउने अवस्था बन्द हुने अपेक्षा गरिएको छ । तर पसलेले धेरै नाफा कमाउन आफूखुशी ब्राण्डका औषधी बेच्नसक्ने खतरा भने अझै रहेकाले उपभोक्ताहरु सचेत हुन जरुरी छ ।

जेनेरिक र ब्राण्डेड औषधीमा हुने तत्व उस्तै हुनेभएकाले र कामपनि उस्तै गर्ने भएकाले जेनेरिक नाममा औषधी सिफारिस गर्दा उपभोक्ताले ९० प्रतिशतसम्म सस्तोमा औषधी पाउने अपेक्षा गर्न सकिन्छ ।

तर ऐन लागू हुनुअघि बजारमा पाइने औषधि गुणस्तरयुक्त भएको ग्यारेन्टी हुनुपर्ने चिकित्सकहरुको भनाई छ ।

औषतमा १० देखि २० बर्षसम्म लिइएको पेटेन्टको अवधि पूरा भएपछि सोही औषधिमा भएको सक्रिय तत्वको नाममा अन्य कम्पनीले पनि औषधी बनाउन पाउँछन्, त्यो नै जेनेरिक औषधि हो । कुनै एउटा रोगको उपचारका लागि विभिन्न प्रकारको अध्ययन अनुसन्धानपछि तयार पारिने रसायनको जेनेरिक नाम विश्वभर नै एउटै हुन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com