मान्छेको राक्षस रुप १३ वर्षीया बालिकाको उखुबारीमा बलात्कारपछि हत्या


प्रकाशित मिति : श्रावण १२, २०७५ शनिबार

कुनै मानिस नरभक्षी राक्षस बन्छन् । पाप र धर्मको कुनै हेक्का राख्दैनन् । अपराधपनि यति हदसम्मको जघन्य की जो कोहीको आङ् सिरिङ्ग हुने । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीमा यस्तै भएको छ । त्यहाँ १३ वर्षीया बालिका निर्मला पन्तलाई उखुबारीमा लगेर बलात्कारपछि त्यही हत्या गरिएको खुलेको छ । उनको शब उखुबारीमा नै भेटिएको छ । भीमदत्त नगरपालिका–१८ निम्बुखेडास्थित उखुबारीमा मृतअवस्थामा बालिका भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले जानकारी दिनुभयो ।

बिहीबार साथीको घरबाट कापीकलमसहित साइकलमा घर फर्किदै गरेकी बालिकाको शव आज बिहान भेटिएको हो । बिहीबार साँझसम्म छोरी घर नपुगेपछि परिवारजनले खोजबिनका लागि प्रहरीलाई खबर गरे पनि वास्ता नगरेको मृतकका आफन्तहरुको गुनासो छ । घटनास्थलमा खटिएको प्रहरी स्रोतका अनुसार बालिकाको बलात्कारपछि हत्या गरी शव उखुबारीमा फालिएको देखिन्छ । प्रहरीले घटनामा संलग्नताको आशंकामा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । अध्ययनमा लगनशील बालिका स्थानीय सरस्वती माविमा कक्षा ९ मा अध्ययनरत थिइन् । स्थानीयले उक्त क्षेत्रमा असुरक्षा बढेको भन्दै विगतमा समेत स्थानीय प्रशासनसित सुरक्षा मागेका थिए । तर सुनुवाइ नहुँदा घटना भएको स्थानीयको आरोप छ ।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले बालिकाको शव परीक्षणका लागि घटनास्थलबाट ल्याउन दिएका छैनन् । बालिकाको शव उखुबारीमा भेटिए पनि उनको साइकल, किताब, कापी र चप्पल भने छेउमै रहेको खोलामा फेला परेको थियो । सुरक्षाको माग गर्दै उनीहरुले प्रहरी चौकी स्थापनाको ग्यारेन्टी भएमात्रै शव लैजान दिने अडान लिएका छन् । प्रहरीलाई शव ल्याउन नदिएपछि घटनास्थलबाट प्रहरी टोली फर्किएको छ ।

सदरमुकाम महेन्द्रनगरबाट केही मिनेटको दूरीमा रहेको घटनास्थल क्षेत्रमा स्थानीयको भीड लागेको छ । कञ्चनपुरमा एकपछि अर्को हत्याका घटना बढिरहेको भए पनि प्रहरी सुरक्षा व्यवस्था प्रभावकारी बनाउन सकिरहेको छैन । केही दिनअघि पनि कृष्णपुर नगरपालिकामा एक युवतीको हत्या गरी शव जंगलमा फालिएको अवस्थामा भेटिएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com