तेस्रो लिङ्गी न्यायाधीशको ‘सर्वोच्च सपना’


प्रकाशित मिति : श्रावण ५, २०७५ शनिबार

“यहाँका अधिकांश तेस्रो लिङ्गी न धेरै पढेलेखेका हुन्छन् न उनीहरूसँग राम्रो जागिर नै हुन्छ। जसका कारण उनीहरू रेलमा भीख माग्न वा यौनकर्मी बन्न बाध्य हुन्छन्।”

भारतको असममा पहिलो तेस्रो लिङ्गी न्यायाधीशको रुपमा नियुक्त स्वाति विधान बरुवा यति कुरा भनेपछि एकछिन रोकिन्।

उनले थपिन्, “यति गरेर पनि कहिलेकाहीँ तेस्रो लिङ्गीले पेटभरि खान पाउँदैनन्। तेस्रो लिङ्गीहरूको जीवनमा परिवर्तन नल्याएसम्म म आफ्नो संघर्ष जारी राख्नेछु।”

स्वाति जुलाइ १४ मा गुवाहाटी जिल्लास्थित लोक अदालतको न्यायाधीशको रुपमा नियुक्त भएकी हुन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सफलता

उक्त अदालतका २० जना न्यायाधीशहरूको सूचीमा अब स्वाति थपिएकी छन्।

उनी भारतकी तेस्रो र असमकी पहिलो तेस्रो लिङ्गी न्यायाधीश हुन्।

२६ वर्षीया स्वाति न्यायाधीश नियुक्त भए पनि उनी यो उपलब्धिलाई अन्तिम सफलता मान्दिनन्।

भारतको सर्वोच्च अदालतसम्म पुग्ने उनको सपना छ।

स्वाति

 

जीवनमा कहिल्यै हार नमान्ने बताउने स्वाति भन्छिन्, “सन् २०१४ मा सर्वोच्च अदालतले तेस्रो लिङ्गीहरूको पहिचान स्थापित गरेपछि उनीहरूको जिन्दगीमा परिवर्तन आउने अपेक्षा गरिएको थियो। तर त्यसो हुन सकेन।”

“मेरो नियुक्ति तेस्रो लिङ्गीको अधिकारको दिशामा सानो भए पनि एउटा सकारात्मक कदम हो। भविष्यमा यसले हाम्रो समुदायका मानिसहरूलाई हौसला बढाउनेछ।”

उनी थप्छिन्, “तेस्रो लिङ्गीको हितका लागि समाजमा एउटा यस्तो उदाहरण पेश गर्न आवश्यक छ जसबाट उनीहरूप्रतिको नकारात्मक सोच बदलियोस्।”

रिट दायर

असममा तेस्रो लिङ्गीहरूले झेल्नुपरेको पछिल्लो समस्याबारे स्वाति भन्छिन्, “असममा न्याशनल रजिस्टर अफ सिटिजन्सको तथ्याङ्कलाई अध्यावधिक गरिँदैछ। तर त्यसमा अधिकांश तेस्रो लिङ्गीहरूको नाम नै छैन।”

“प्रहरीलाई देखेरै तेस्रो लिङ्गीहरू डराउँछन्। यदि कुनै कारणले सरकारी विवरणमा उनीहरूको नाम छुट्यो भने भविष्यमा झन् समस्या होला। त्यसैले सर्वोच्च अदालतमा म रिट दायर गर्दैछु।”

स्वातिलाई बाल्यकालदेखि नै आफ्नो शरीरमा गलत आत्मा भएको महसुस हुने गर्दथ्यो।

उनले आफूलाई न कहिल्यै केटाको रुपमा स्वीकारिन् न त उनलाई केटीहरूले आकर्षित गरे।

स्वाति

 

मनमनै उनी आफूलाई केटीको रुपमा स्वीकार्थिन्।

“१२ वर्षकी भएपछि मलाई लिस्पटिक लगाउन, ठूलो नङ्ग पाल्न र केटीहरू जस्तो कपडा लगाउन मन लाग्न थाल्यो। परिवारका सदस्यहरूले यसको छनक पाएपछि मलाई कुटपिट पनि गरे।”

उनले थपिन्, “त्यसपछि एक किसिमले म घरभित्रै कैद हुन पुगेँ। घरमा पाहुना आउँदा मलाई भेट्न दिँदैन्थे। मैले आफूलाई वास्तविक रुपमा पाउन सबैसँग लड्नुपर्‍यो।”

घर छाडेर एक दिन स्वाति मुम्बई पुगिन् ताकि लिङ्ग परिवर्तन गराएर उनी केटाबाट केटी बन्न सकून्।

सम्मान

तर परिवारले त्यसमा चर्को विरोध जनाएपछि स्वातिले मुम्बई उच्च अदालतलमा अपील गर्नुपर्‍यो।

अन्ततः सन् २०१३ मा उनले सर्जरी गराइन् र विधानबाट उनी स्वाति बनिन्। लामो समयको परामर्शपछि स्वातिको परिवारले उनलाई स्वीकार्‍यो।

हाल उनी आफ्ना आमाबुवासँग गुवाहाटीमा बस्छिन्। उनकी आमा गृहिणी हुन् भने बुवा रेल विभागका कर्मचारी।

स्वातिका दाइ गुवाहाटीमा एउटा ब्याङ्कमा जागिर गर्छन्। अर्थशास्त्रमा स्नातक गरेपछि स्वातिले कानून पढिन्।

लोक अदालतको न्यायाधीशको रुपमा आफ्नो पहिलो दिनको अनुभव सुनाउँदै उनले भनिन्, “ट्याक्सी चढेर म अदालत पुगेँ। हुन त अदालत साढे १० बजेदेखि शुरू हुन्छ। तर म १० बजे पुगिसकेकी थिएँ।”

“त्यहाँ उपस्थित मानिसहरूले अरू न्यायाधीशलाई जस्तै मलाई पनि निकै सम्मानका साथ व्यवहार गरे।”

तेस्रो लिङ्गीको अधिकारका लागि काम गर्दै आएका आशीष कुमार भन्छन्, “स्वातिको नियुक्ति सम्पूर्ण तेस्रो लिङ्गी समुदायका लागि खुशीको कुरा हो। उहाँले यो समुदायका लागि धेरै काम गर्नुभएको छ।”

गुवाहाटी उच्च अदालतका वरिष्ठ वकिल हाफिज रसीद अहमद चौधरी भन्छन्, यस्ता नियुक्तिले सिङ्गो समुदायको मनोबल बढाउन सघाउ पुर्‍याउँछ।

BBC Nepali

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com