अष्ट्रेलियामा विद्यार्थीहरुले काम पाउनको लागि अपनाउन सक्ने तरिकाहरु


प्रकाशित मिति : श्रावण ४, २०७५ शुक्रबार

विदेशी विद्यार्थीहरुले अष्ट्रेलियामा पढ्दा हुने एउटा फाइदा भनेको आफ्नो समयलाई व्यवस्थापन गर्दै पार्ट टाइम काम गर्न पाउनु हो । यसले गर्दा विद्यार्थीहरु आर्थिक रुपमा आत्मनिर्भर बन्न सक्छन् ।

विद्यार्थी भिसामा आफ्नो पढाईको सेमेस्टरको अवधिमा,दुई हप्तामा ४० घण्टा काम गर्ने अनुमति हुन्छ । सेमेस्टरहरुकोबिचमा हुने खाली समयमा फुल टाइम काम गर्न पाउँछन् । कामको प्रक्रियालाई सजिलो बनाउनको लागि अष्ट्रेलियाको बैंक खाता खोल्नुपर्छ । सो बैंक खातामा कम्पनीले तलब जम्मा गरिदिन्छ । अष्ट्रेलियाको कर कार्यालयबाट ’ट्याक्स फाइल नम्बर’ लिनुपर्छ । यसले करको नाममा ठगिनबाट बचाउँछ ।

कामदार हक सम्बन्धि थाहा पाउनुपर्छ । काम गर्ने तरिका, अष्ट्रेलियाका कम्पनीहरुका नियम, तलब स्केल, आदिको बारेमा विभिन्न माध्यमबाट पर्याप्त जानकारी लिनुपर्छ । कुनै पनि कम्पनिसंग कामको सम्झौतामा हस्ताक्षर गर्नुपूर्व सम्झौताको प्रत्येक कुरा आफूले बुझ्नुपर्छ र सम्झौता पत्र सबै पढेर मात्र हस्ताक्षर गर्नुपर्छ ।

काम पाइने क्षेत्र

काम आफ्नो रुचि र सक्षमतामा पनि भर पर्छ । कार्यालय सकेसम्म कलेजदेखि नजिक होस् भन्नेमा ध्यान दिनुपर्छ । यसले गर्दा पढाइ र कामको समय व्यवस्थापन गर्न सजिलो हुन्छ । प्रायः पार्ट टाइम जागिरको लागि धेरै विद्यार्थीहरुले रोज्ने क्षेत्रहरु निम्न छन् ः

  • पसल : किरानादेखि बिजुलीका सामानहरु अथवा कपडा पसलहरु ती साना पसलदेखि ठूला डिपार्टमेन्ट स्टोरसम्म हुन सक्छन् ।
  • सिनेमा, रेस्टुराँ, होटलहरु, खेलस्थान आदि ।
  • कल सेन्टर, पेट्रोल पम्प, सुपरमार्केट र विभिन्न कार्यालयमा प्रशासनिक काम ।
  • भाग्यवश आफ्नो पढाइसंग सम्बन्धित कार्यक्षेत्र पनि हुन सक्छन् । जस्तो कि मिडियाको विद्यार्थीले स्थानीय टिभी अथवा रेडियो स्टेशनमा काम पाउन सक्छन् ।

काम खोज्ने तरिका

  • आफ्नो शैक्षिक योग्यता, काम अनुभव, भाषा तथा अन्य ज्ञान र सिप , रुची, लक्ष आदि सबै कुराहरु समेटिएको स्केच (रिजुम) बनाउनु पर्छ । त्यसमा कुनै पनि किसिमको गल्ति गर्नुहुँदैन । आकर्षक र व्यवसायिक देखिने हुनुपर्छ । अंग्रेजीलेखाइमा त्रुटी नहोस् भन्नको लागि अंग्रेजी आफू भन्दा राम्रो जानेको व्यक्तिलाई देखाउन सकिन्छ ।
  • स्टोरहरुमा आफै गएर म्यानेजरसंग रिक्त पद भएर नभएको सोध्न सकिन्छ । रिक्त पद नभएमा पनि रिक्त पद हुँदाको लागी भनि रिजुम उनीहरुलाई दिएर छोड्नुपर्छ । लगाएको पोशाक आकर्षक र भलाद्मी देखिने हुनुपर्छ ।
  • आफूलाई नम्र रुपमा प्रस्तुत गर्नुपर्छ ।
  • विभिन्न कम्पनीका वेबसाइटहरु खोजेर करियर अप्सनमा अनलाइन निवेदन पठाउन सकिन्छ ।
  • अष्ट्रेलियन जब सर्च वेबसाइटहरुबाट पनि रिक्त पदहरु र कम्पनीहरुको बारेमा थाहा पाउन सकिन्छ ।
  • कुनै कुनै शैक्षिक संस्थाहरुले नै विद्यार्थीहरुलाई कम्पनिसंग जोडिदिने काम गर्छन् ।

Himalayan Kangaroo

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com