भारतमा ट्याक्टर र जीप जुध्दा १५ को मृत्यु


प्रकाशित मिति : असार ८, २०७५ शुक्रबार

भारतमा बिहीबार भएको सवारी दुर्घटनामा परी कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  भारतको मध्य प्रदेशमा ट्याक्टर र जीप एक आपसमा ठक्कर खाएर भएको दुर्घटनामा परी मृत्यु हुनेमा पाँच जना महिला रहेका छन् ।

मध्य प्रदेशको राजधानी भोपालदेखि ४५० किलोमिटर टाढा पर्ने गन्ज रामपुर भन्ने ठाँउमा दुर्घटना भएको प्रहरी अधिकारीहरूले जनाएका छन् ।

स्थानीय प्रहरी प्रमुख अमित साङघीले सञ्चार माध्यमहरूलाई दिएको जानकारी अनुसार पारिवारिक काममा हिँडेका २० जना पारिवारिक सदस्यहरू जीपमा चढेका थिए । विपरित दिशाबाट आएको ट्याक्टरले सो जीपलाई ठक्कर दिएपछि स्थानीय समय अनुसार विहान ५।३०मा दुर्घटना भएको हो ।

दुर्घटनामा परेको जीप पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने १२ जनाको घटनास्थलमै मृत्यु भएको थियो । अन्य तीन जनालाई उपचारका लागि अस्पताल लगिएपछि मृत्यु भएको घोषणा गरिएको अस्पतालका अधिकारीहरूले जनाएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘घटनामा परी अरु पाँच जना घाइते भएका छन् र उनीहरुको अस्पतालमा उपचार भइरहेको छ,’ एक स्वास्थ्यकर्मीले भने ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यअधिकारीहरूले अनुमान गरेका छन् ।

घाइते अधिकांशलाई टाउकोमा चोट लागेकाले सघन उपचार कक्षमा राखेर उपचार गरिएको छ ।

मध्य प्रदेशका स्वास्थ्य मन्त्री रुस्टम सिंहले अस्पतालमै पुगेर घाइतेहरुलाई भेटेका छन् । उनले घाइतेहरुको उपचारमा कुनै कमी नहुन निर्देशन दिँदै घटनाका बारेमा अनुसन्धान गरी दोषीलाई कारबाही गर्ने प्रतिवद्धता पनि गरेका छन् ।

भारत विश्वमै अत्यधिक धेरै सवारी दुर्घटना हुने मुलुकमा पर्दछ । चालकको लापर्वाही, सडकको खराब अवस्था र सही अवस्थामा नरहेका सवारी साधनहरू सञ्चालन गरिने भएकाले दुर्घटना धेरै हुने गरेको बताइएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com