नेपाली लगायतको ‘अमेरिकी आप्रवासी भिसा’ स्थगनबारे विदेश मन्त्रालयद्वारा ४ प्रश्नको जवाफ


प्रकाशित मिति : माघ १, २०८२ बिहीबार

अमेरिकी विदेश मन्त्रालयले सरकारी सुविधा प्रयोग गर्ने जोखिम भएका नेपाली लगायतको अमेरिकाको आप्रवासी भिसा स्थगनबारे ४ महत्वपूर्ण प्रश्नको जवाफ दिएको छ । अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी ७५ वटा देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने घोषणा गरेपछि अन्यौल उत्पन्न भइरहेको सन्दर्भमा ती प्रश्नहरुको जवाफ दिइएको हो ।

आप्रवासी भिसा अन्तर्वार्ता अप्वाइन्टमेन्टका बारेमा जवाफ दिदै विदेश मन्त्रालयले प्रभावित देशका नागरिक रहेका आप्रवासी भिसा आवेदकहरूले भिसा आवेदन बुझाउन र अन्तर्वार्तामा उपस्थित हुन सक्ने प्रष्ट पारेको छ । अमेरिकी विदेश मन्त्रालयले आवेदकहरूको अन्तर्वार्ता तय गर्ने कार्य जारी राख्ने तर रोक अवधिभर यी देशका नागरिकहरूलाई कुनै पनि आप्रवासी भिसा जारी नगरिने विदेश मन्त्रालयको भनाई छ ।

त्यस्तै यसमा केही अपवादहरू पनि रहेको विदेश मन्त्रालयले जनाएको छ । ७५ देशमा नपर्ने देशको वैध राहदानी प्रयोग गरी आवेदन दिने दोहोरो नागरिकता भएका व्यक्तिहरूलाई यो रोक लागू नहुने विदेश मन्त्रालयले प्रष्ट पारेको छ । हालको वैध भिसालाई असर पार्ने नपार्नेबारे प्रष्ट पार्दै विदेश मन्त्रालयले भनेको छ यस निर्देशनको भागको रूपमा कुनै पनि आप्रवासी भिसाहरू रद्द गरिएका छैनन्। अमेरिकामा प्रवेश सम्बन्धी प्रश्नहरूको लागि हामी तपाईंलाई होमल्याण्ड सेक्युरिटीमा सम्पर्क गर्न सुझाव दिन्छौं।

यो स्थगन पर्यटक भिसामा लागू हुने नहुनेबारे पनि धेरैका जिज्ञासा रहेका छन् । यसबारे अमेरिकी विदेश मन्त्रालयले भनेको छ यो रोक विशेष गरी आप्रवासी भिसा आवेदकहरूका लागि मात्र हो। पर्यटक भिसा गैर आप्रवासी भिसा हो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति ट्रम्पले आप्रवासीहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने र अमेरिकीहरूका लागि आर्थिक बोझ बन्न नहुने कुरा स्पष्ट पारेको र यी उच्च जोखिम भएका देशहरूका आप्रवासीहरूले अमेरिकामा कल्याणकारी सुविधाहरू प्रयोग नगर्ने वा पब्लिक चार्ज नबन्ने कुरा सुनिश्चित गर्न सबै नीति, नियम र निर्देशनहरूको पूर्ण समीक्षा गरिरहेको विदेश मन्त्रालयले जनाएको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com