अध्ययन प्रतिवेदन भन्छ: ‘गर्भावस्थामा प्यारासिटामोल सेवन गर्नु सुरक्षित’
प्रकाशित मिति : माघ ३, २०८२ शनिबार
गर्भावस्थामा प्यारासिटामोल सेवन गर्नु सुरक्षित रहेको विज्ञहरूले बताएका छन्। गर्भावस्थामा प्यारासिटामोलको सेवनले बालबालिकामा अटिज्म, एडीएचडी वा विकाससम्बन्धी समस्या निम्त्याउने कुनै ठोस प्रमाण फेला नपरेको उनीहरूले स्पष्ट पारेका हुन्। विज्ञहरूद्वारा गरिएको एक महत्त्वपूर्ण नयाँ समीक्षापछि यो निष्कर्ष सार्वजनिक गरिएको हो।
अध्ययनमा संलग्न विज्ञहरूका अनुसार गर्भवती महिलाहरूले आवश्यकता पर्दा प्यारासिटामोलको सेवन ढुक्कसँग गर्न सक्छन्। यो निष्कर्षले गत वर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका विवादास्पद दाबीहरूलाई खण्डन गरेको छ। ट्रम्पले प्यारासिटामोल “राम्रो होइन” भन्दै गर्भवती महिलाहरूलाई यो औषधि प्रयोग नगर्न सुझाव दिएका थिए।
त्यतिबेला ट्रम्पको भनाइलाई विश्वभरका चिकित्सा संस्थाहरूले कडा आलोचना गरेका थिए। विज्ञहरूका अनुसार ‘द ल्यान्सेट’ जर्नलमा प्रकाशित यो पछिल्लो समीक्षा अत्यन्तै वैज्ञानिक र कडा मापदण्डमा आधारित भएकाले अब यसको सुरक्षाबारेको बहस टुङ्गिनुपर्ने देखिएको छ। यद्यपि, केही अमेरिकी स्वास्थ्य अधिकारीहरू भने अझै पनि “धेरै विज्ञहरूले” गर्भावस्थामा यसको प्रयोगबारे चिन्ता व्यक्त गरेको दाबी गरिरहेका छन्।
अमेरिकी राष्ट्रपति र उनको प्रशासनले गर्भावस्थामा प्यारासिटामोल सेवन गर्दा बालबालिकामा अटिज्म हुन सक्ने दाबी गरेपछि विश्वभरका चिकित्सकहरू चकित परेका थिए। गर्भवती महिलाका लागि दुखाइ कम गर्ने पहिलो रोजाइको औषधिका रूपमा लिइने प्यारासिटामोलबारे यस्तो दाबीले महिलाहरूमा अन्योल र स्वास्थ्य विज्ञहरूमा चिन्ता पैदा गरेको थियो। यही अन्योल चिर्न नयाँ अध्ययन सुरु गरिएको थियो।
‘द ल्यान्सेट अब्स्टेट्रिक्स, गायनेकोलोजी एन्ड विमेन्स हेल्थ’ जर्नलमा प्रकाशित यो समीक्षाले गर्भावस्थामा प्यारासिटामोल प्रयोगसम्बन्धी ४३ वटा भरपर्दा अध्ययनहरूको विश्लेषण गरेको छ। ती अध्ययनहरूमा लाखौँ गर्भवती महिलाहरू समावेश थिए, जहाँ औषधि सेवन गरेका र नगरेका महिलाहरूको अवस्थाबीच तुलना गरिएको थियो।
अनुसन्धानकर्ताहरूका अनुसार आनुवंशिक भिन्नता वा पारिवारिक वातावरणजस्ता अन्य कारणहरूलाई हटाउन यस पटक दाजुभाइ-दिदीबहिनीलाई आधार बनाएर उच्चस्तरीय अध्ययन गरिएको छ। प्यारासिटामोलले अटिज्मको जोखिम बढाउँछ भन्ने कुनै प्रमाण नभेटिएको अध्ययनकी प्रमुख लेखक तथा प्रसूति विशेषज्ञ प्रोफेसर अस्मा खलिलले बताइन्।
यस अध्ययनले बेलायत, अमेरिका र युरोपका प्रमुख चिकित्सा संस्थाहरूले जारी गरेको निर्देशिकालाई पनि पुनः पुष्टि गरेको छ, जसअनुसार प्यारासिटामोल गर्भावस्थामा सुरक्षित मानिन्छ। अध्ययनले यसअघि गरिएका अटिज्म जोखिमसम्बन्धी दाबीहरू औषधिको प्रत्यक्ष प्रभाव नभई अन्य बाह्य कारणहरूले हुन सक्ने औँल्याएको छ।
स्वास्थ्य निर्देशनअनुसार गर्भावस्थामा उच्च ज्वरो वा तीव्र दुखाइलाई बेवास्ता गर्दा गर्भपतन, समयअगावै जन्म वा शिशुको विकासमा समस्या देखिन सक्ने जोखिम झन् बढी हुन्छ। वैज्ञानिकहरूका अनुसार अटिज्म सामान्यतया आनुवंशिक र वातावरणीय कारणहरूको जटिल संयोजनका कारण हुने गर्दछ।





