गाडीको नम्बर प्लेट र स्थान ट्र्याक गर्ने फ्लक क्यामेरा नियन्त्रण गर्न अमेरिकामा नयाँ विधेयक दर्ता


प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार

Photo: krzhck/ Unsplash

अमेरिकामा गाडीका नम्बर प्लेट र स्थान ट्र्याक गर्ने स्वचालित लाइसेन्स प्लेट रिडर  तथा ‘फ्लक’  क्यामेराको बढ्दो प्रयोगले नागरिकको गोपनीयतामा गम्भीर असर पारेको भन्दै चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ। यसैबीच, यो सम्भावित जोखिमलाई रोक्न एक रिपब्लिकन सांसदले नियन्त्रणमुखी विधेयक संसद्‌मा पेश गरेका छन्।

नर्थ क्यारोलिनाका रिपब्लिकन सांसद प्याट ह्यारिगनले बिहीबार दर्ता गराएको विधेयकमा सवारी साधनमा रहेका राजनीतिक वा धार्मिक सन्देशहरूलाई लक्षित गरी एएलपीआर मार्फत खोजी गर्न प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ। साथै, अधिकांश खोजीका लागि अदालतको वारेन्ट अनिवार्य हुनुपर्ने, संकलित तथ्याङ्क २४ घण्टाभित्र नष्ट गर्नुपर्ने र क्यामेरा विक्रेताहरूलाई लोकेसन डाटा बिक्री वा शेयर गर्न रोक लगाउने व्यवस्था विधेयकमा समेटिएको छ।

जब यी प्रणालीहरूले तपाईं कहाँ काम गर्नुहुन्छ, तपाईंका बालबालिका कुन विद्यालय जान्छन् र तपाईं चर्च कहाँ जानुहुन्छ भन्ने जस्ता हरेक गतिविधिलाई ट्र्याक गर्छन् भने मानिसहरू किन चिन्तित छन् भन्ने स्पष्ट हुन्छ,” सांसद ह्यारिगनले भने। “कुनै अपराध नगरेका नागरिकका बारेमा पनि सरकारले यति धेरै व्यक्तिगत जानकारी संकलन गर्नु गम्भीर विषय हो।”

लाइसेन्स प्लेट, गाडीको लोकेसन र अन्य विवरण संकलन गर्ने यी क्यामेराहरू सुरक्षा निकायले अपराधीको पहिचान र अनुसन्धानमा प्रयोग गर्दै आएका छन्। समर्थकहरूले यसलाई अपराध नियन्त्रणका लागि प्रभावकारी औजार मानेका छन् भने आलोचकहरूले सर्वसाधारणको स्वीकृतिविना निरन्तर निगरानी गर्दा संवैधानिक अधिकारको हनन् हुने बताएका छन्।

ह्यारिगनको नयाँ विधेयकले सरकारी निकायहरूलाई गाडीमा टाँसिएका राजनीतिक वा धार्मिक बम्पर स्टिकर, झण्डा वा अन्य चिह्नका आधारमा गाडीको वर्गीकरण गर्न प्रतिबन्ध लगाउनेछ। जसअनुसार “ब्याक द ब्लु”, “जसस सेभ्स” वा “ब्ल्याक लाइभ्स म्याटर” जस्ता अभिव्यक्तिहरूलाई खोजयोग्य डाटामा परिणत गर्न पाइने छैन।

विधेयकमा प्रहरी तथा अनुसन्धान अधिकारीहरूका लागि कडा नियमहरू प्रस्ताव गरिएको छ। यसअनुसार, आपतकालीन अवस्था वा कसैको जीवन रक्षा गर्नुपर्ने बाहेक अन्य अधिकांश खोजीका लागि प्रहरीले सम्भावित कारणसहित अदालतबाट वारेन्ट लिनु अनिवार्य हुनेछ। साथै, अनुसन्धानका क्रममा संकलन गरिएका रेकर्डहरूलाई २४ घण्टाभित्र अनिवार्य रूपमा नष्ट गरिनुपर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ।

यसैगरी, क्यामेरा निर्माण गर्ने कम्पनी वा विक्रेताहरूलाई संकलित तथ्यांक बिक्री गर्न वा आर्टिफिसियल इन्टेलिजेन्स मोडलहरूलाई तालिम दिन प्रयोग गर्न पूर्ण रूपमा रोक लगाइनेछ। यदि कुनै नागरिक गैरकानुनी खोजीको शिकार भएमा, उनीहरूले आफ्नो नागरिक अधिकारको रक्षाका लागि अदालतमा मुद्दा हालेर प्रति उल्लंघन कम्तीमा १,००० अमेरिकी डलर क्षतिपूर्ति दाबी गर्न सक्ने कानुनी बाटो खुला गरिएको छ।

सांसद ह्यारिगनका अनुसार यो विधेयकले प्रविधिको सही प्रयोगलाई नरोक्ने तर यसको सम्भावित दुरुपयोगलाई सीमित गर्नेछ।नागरिकको संवैधानिक अधिकारको रक्षा गर्नु र अपराधीहरूबाट सुरक्षा दिनु सरकारको मुख्य जिम्मेवारी हो, र यसमा दुवै दलका सांसदहरू एकजुट हुन सक्छन्,” उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com