मध्यावधि चुनावअघि अमेरिकाभर ‘नो किङ्स’ को प्रदर्शन, अग्रिम मतदान गर्न अपिल


प्रकाशित मिति : ३१ आश्विन २०८३, शनिबार

Photo: Saad Ahmad/ Unsplash

अभिव्यक्ति स्वतन्त्रताको सामूहिक शक्ति प्रदर्शन गर्न र लोकतन्त्रका आधारभूत सिद्धान्तहरूलाई उजागर गर्ने उद्देश्यका साथ शनिबार अमेरिकाभर ‘नो किंग्स’ अभियानको नयाँ शृङ्खला सम्पन्न भएको छ।

यसअघिका प्रदर्शनहरूमा सहभागीहरूले अध्यागमन छापा, बजेट कटौती तथा सरकारी कर्मचारीको निष्कासन जस्ता विविध विषयमा विरोध जनाएका थिए। ती प्रदर्शनहरूको मुख्य उद्देश्य ट्रम्प प्रशासनको सार्वजनिक र सशक्त रूपमा भर्त्सना गर्नु रहेको थियो।

तर, यसपटकको कार्यक्रमको मुख्य सन्देश भने स्पष्ट र एकल थियो- “बाहिर निस्कनुहोस् र मतदान गर्नुहोस्, त्यो पनि चाँडै।”

राष्ट्रव्यापी ‘नो किंग्स’ गठबन्धनले यी कार्यक्रमहरू गैर-राजनीतिक हुने र यसको ध्यान पूर्ण रूपमा मतदाता सहभागिता बढाउनमा मात्र केन्द्रित रहने जनाएको थियो। तर पनि, धेरै सहभागीहरूले यो निर्देशनलाई बेवास्ता गर्दै दोस्रो ट्रम्प प्रशासनका एजेन्डाहरुप्रति आफ्नो असन्तुष्टि व्यक्त गरे। यसले अघिल्ला ‘नो किंग्स’ र्‍यालीहरूमा उठेका भावनाहरूकै पुनरावृत्ति गराएको थियो।

यसपटक ठूला जनप्रदर्शनको साटो स्थानीयस्तरका साना कार्यक्रमहरूलाई प्रोत्साहन गरिएको थियो। जसअन्तर्गत भर्चुअल माध्यमसहित अमेरिकाभर २,५०० भन्दा बढी स्थानमा यस्ता कार्यक्रमहरू आयोजना गरिएका थिए।

आसन्न मध्यावधि चुनावलाई ध्यानमा राख्दै आयोजकहरूले नागरिकहरूलाई सक्रिय बन्न र अगाडि नै मतदान केन्द्र पुगेर वा हुलाक  मार्फत आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेका छन्।

‘अमेरिकन सिभिल लिबर्टीज युनियन’ र ‘लिग अफ वुमेन भोटर्स’ सहित करिब २०० वटा सङ्गठनहरू आबद्ध रहेको यस गठबन्धनको आधिकारिक वेबसाइटमा भनिएको छ, “चाँडो मतदान गर्नु नै हामीले आफ्नो शक्तिको प्रयोग गर्ने तरिका हो।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com