मिनेसोटामा ‘इन्सरेक्सन एक्ट’ प्रयोग गर्ने ट्रम्पको चेतावनी: कस्तो अवस्थामा लागू हुन्छ यो कानुन ?


प्रकाशित मिति : १ माघ २०८२, बिहिबार

फोटो : एएफपी/रासस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मिनेसोटामा जारी अशान्ति नियन्त्रण गर्न दुर्लभ रूपमा प्रयोग हुने ‘इन्सरेक्सन एक्ट’ सक्रिय पार्न सक्ने चेतावनी दिएका छन्।

मिनेसोटा राज्यको मिनियापोलिस सहरमा संघीय आप्रवासन एजेन्टले एक व्यक्तिलाई खुट्टामा गोली हानेपछि विरोध प्रदर्शन र तोडफोड सुरु भएको थियो। त्यसपछि राष्ट्रपति ट्रम्पले आवश्यकता परेमा सेना परिचालन गर्ने चेतावनी दिएका हुन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डीएचएस) का अनुसार, एक अधिकारीमाथि तीन जना भेनेजुएलाली नागरिकले बेल्चा र कुचोले आक्रमण गरेपछि उनले आत्मरक्षाका लागि गोली चलाएका थिए। गोली लाग्ने व्यक्तिको पहिचान जुलियो सेसर सोसा–सेलिस को रूपमा भएको छ। उनी बिना लाइसेन्स गाडी चलाएको अभियोगमा पहिले नै दोषी ठहर भइसकेका थिए।

डीएचएस का अनुसार, कारको पिछा गर्ने क्रममा सोसा–सेलिस गाडीबाट ओर्लिएर संघीय एजेन्टसँग झगडा गरेका थिए। त्यसपछि नजिकैको अपार्टमेन्टबाट आएका अन्य दुई भेनेजुएलाली नागरिक—अल्फ्रेडो अलेजान्द्रो आजोर्ना र ग्याब्रिएल अलेजान्द्रो हर्नान्डेज–लेडेज्मा पनि एजेन्टमाथिको आक्रमणमा संलग्न भएका थिए।

तीनै जनालाई पक्राउ गरिएको छ। एजेन्ट र सोसा–सेलिस दुवैको अवस्था सामान्य रहेको र उनीहरू उपचाररत रहेको जनाइएको छ।

गृहमन्त्री क्रिस्टी नोएम ले यस घटनालाई “संघीय कानुन कार्यान्वयन अधिकारीमाथिको हत्या प्रयास” भनी टिप्पणी गरेकी छन्। यता मिनियापोलिसको हाउथोर्न क्षेत्रमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप भएको छ।

सहरका प्रहरी प्रमुख ब्रायन ओ’हाराका अनुसार प्रहरीमाथि आतसबाजी, बरफ र हिउँका गोलाहरू प्रहार गरिएका थिए। तनाव बढ्दै जाँदा राजनीतिक खिचातानी पनि बढेको छ । मेयर जेकब फ्रेले ‘आइस’ लाई सहर छाड्न माग गरेका छन्। गभर्नर टिम वाल्जले राष्ट्रपति ट्रम्पलाई तनाव कम गर्न आग्रह गर्दै “अराजकताको आगो नबल्झाउन” अपिल गरेका छन्।

‘इन्सरेक्सन एक्ट’ के हो ?

सन् १८०७ मा बनेको यो कानुनले अमेरिकी राष्ट्रपतिलाई विशेष अधिकार प्रदान गर्दछ । यसले राष्ट्रपतिलाई देशभित्रै सक्रिय सेनालाई कानुन कार्यान्वयनका लागि प्रयोग गर्न अनुमति दिन्छ। सामान्यतया अमेरिकामा सेनालाई नागरिक प्रशासनमा हस्तक्षेप गर्ने अधिकार हुँदैन, तर यो ऐन लागू भएमा सेनाले प्रहरीको भूमिका निर्वाह गर्न सक्छ। ट्रम्पले मिनेसोटाका स्थानीय अधिकारीहरूले अराजकता रोक्न नसकेमा यो कानुन लागू गर्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिनियापोलिसमा एक ‘आइस’ एजेन्टले ३७ वर्षीया रेनी निकोल गुड को गोली हानी हत्या गरेपछि आप्रवासन कारबाहीविरुद्धको आक्रोश जनवरी ७ मा सुरु भएको थियो ।

ट्रम्प प्रशासनले एजेन्टले आत्मरक्षामा गोली चलाएको दाबी गरे पनि हाल यसको अनुसन्धान एफबीआई ले गरिरहेको छ।

हाल संघीय न्यायाधीशले मिनेसोटाका अभियोजकहरूले ‘आइस’ विरुद्ध मागेको अस्थायी रोक आदेश अस्वीकार गरिदिएका छन्। यससँगै ट्रम्प प्रशासनले “अपरेसन मेट्रो सर्ज” मिनेसोटामा निरन्तर चल्ने स्पष्ट पारेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com