डा. देवकोटाका छोरीहरुले देखाए यस्तो सस्कार


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

चिकित्सा क्षेत्रका एक चर्चित व्यक्तित्व डा. उपेन्द्र देवकोटाले आफ्नो चोला फेरिसकेका छन् । हजारौं विरामीलाई दोस्रो जुनी दिएका डा. देवकोटाले आफ्नै जीवन भने फर्काउन सकेनन् ।

जन्मेपछि एकदिन मर्नुपर्ने मनुष्य चोला हो । यो कुरा डा. देवकोटाको हकमा लागू नहुने त कुरै भएन । उनी एउटा चिकित्सा क्षेत्रमा अवल मात्र भएनन्, सामाजिक क्षेत्रमा समेत ईतिहास बनाएर गए । लामो समयदेखि थला परेका देवकोटाको उपचार कहि पनि सम्भव भएन् । र आफ्नै भूमिमा मर्ने इच्छा जगाएपछि बेलायतबाट नेपाल ल्याईयो । नेपाली भूमिमै अन्तिम प्राण पनि त्यागे । यसअघि जन्मस्थानको पानी खाने इच्छा ब्यक्त गरे र गोरखाको सिस्नेधारा लगियो पनि ।

देवकोटाका तीन छोरीहरु छन् । उनीहरुले आफ्नो बाबा विरामी पर्दादेखि चितामा जल्दासम्म यति स्याहार गरे कि शब्दमा बयान गर्न सकिदैंन् । विदेशमा बस्दै आएका छोरीहरुको बाबा विरामी पर्दा नेपालमै आएर एक छिनपनि टाढा भएनन् । आफ्नो मनलाई दह्रो पारेर आमालाई समेत ढाड्स दिँदै बाबाको स्याहार सुसारमा व्यस्त भए । बाबुको अन्तिम सास बाँकी छँदासम्म छोरीहरुले रेखदेख गरे । सास गएपछि पनि उस्तै उदाहरणीय काम गरे ।

बाबुलाई निको नहुने रोग लाग्यो भन्ने थाहा पाएका उनीहरु आमाजत्तिकै पीडामा थिए । तर बिरामी बाबुको अघिल्तिर उनीहरुले पीडा देखाएनन् । दिनरात बाबुको स्याहारसुसार गरे । डा. देवकोटा अन्तिम पटक जन्मघर पुग्दा छोरीहरुले नै सिस्नेधाराबाट पानी थापेर ल्याए । छोरीको हातबाट गाउँको पानी पिउँदा डा. देवकोटाको मुहारमा चमक आयो । उहाँको अनुहार आत्मसन्तुष्टिले धपक्क बलेको देखियो ।

अन्तिम श्रद्धाञ्जलीको लागि देवकोटालाई न्यूरो अस्पतालमा राखिँदा नेपाली राष्ट्रिय पोसाक लगाईएको थियो । यो उनको अन्तिम ईच्छा थियो । देवकोटाको आफ्नै जन्मघरको पानी पिएर तथा नेपाली भूमिमै मर्ने ईच्छा थियो । त्यो सबै पुरा गर्न छोरीहरु नै अग्रसर भए ।

हाम्रो समाजमा अझै पनि छोरीले काजकिरिया गर्न र पार्थिव शरिरलाई छुनु हुँदैन भन्ने मान्यता छ । तर डा. देवकोटालाई उहाँका तीन छोरीले अन्तिम संस्कार गरे । पार्थिव शरीर काँधमा राखेर आर्यघाट पुर्याए । दागबत्ती दिए र किरिया बसे । छोरा र छोरी बराबरी हुन्, छोराले गर्ने हरेक काम छोरीले पनि गर्न सक्छन् र गर्न हुन्छ भन्ने अर्को महत्वपूर्ण पाठ सायद डा. देवकोटाले आफ्ना छोरीहरुलाई दिएको संस्कार हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com