‘चीनले धेरै महत्त्व नदिनु नेपालकै कमजोरी’


प्रकाशित मिति : असार ७, २०७५ बिहीबार

चिनियाँ चासोलाई भारतलाई जस्तै महत्त्व दिएको कुरामा आश्वस्त पार्न नसक्दा चीनले नेपाललाई अपेक्षित प्राथमिकता नदिएको विज्ञहरूले बताएका छन्।

चीनसँग कतिपय विषयमा सम्झौता हुन लागिरहेका बेला त्यहाँका राष्ट्रपतिको भ्रमण यहाँ हुन नसकेको पृष्ठभूमिमा विज्ञहरूको यस्तो धारणा आएको हो।

नेपालको तर्फबाट पटक पटक चीनको उच्चस्तरीय राजनीतिक भ्रमण हुने गरे पनि उताबाट त्यस्तो हुन नसक्नुलाई विज्ञहरू त्यसको कारण ठान्छन्।

दुई छिमेकी राष्ट्रहरू भारत र चीनसँगको सम्बन्धलाई उतिक्कै प्राथमिकता दिन खोजेको जस्तो देखिएको केपी ओली सरकारले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणमा बोलाउन कसरत गरेको लामो समय भइसकेको छ।

विश्वसनीयता

तर भारतीय समकक्षी नरेन्द्र मोदी तीन पटक नेपाल भ्रमणमा आइसक्दा पनि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन नसक्नुलाई कतिपयले चीनले नेपाललाई गम्भीर रूपमा नलिएको अर्थ्याएका छन्।

चीनको राष्ट्रिय आवश्यकतामा नेपाली पक्षले आफ्नो भूमिका स्पष्ट पार्न नसक्नुलाई राजनीतिशास्त्री लोकराज बराल त्यसको कारण मान्छन् ।

उनी भन्छन्, “यहाँ भाषणबाजी धेरै हुन्छ। घोषणा हुन्छन्, सहमति हुन्छन् तर त्यसको कार्यान्वयन गरेको देखिँदैन। विश्वसनीयताकै समस्या छ।”

चीन नेपाल

 

निकै लामो सम्बन्ध रहेको उत्तरी छिमेकी चीनले पछिल्लो समय उनीहरूको महत्त्वाकांक्षी सडक योजना ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ मार्फत नेपालसँग सडक सञ्जाल जोड्न चाहेको देखिएको छ।

जसलाई प्राथमिकताका साथ नेपालले स्वागत गर्न नसकेको गुनासो चिनियाँ पक्षले गर्दै आएको जानकारहरू बताउँछन्।

महत्त्वपूर्ण

तर उच्चस्तरीय राजनीतिक भ्रमणका माध्यमबाट नेपाललाई प्राथमिकता नदिएको जस्तो देखिए पनि पछिल्लो समय केही महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेपछि चीनको सक्रियता नेपालमा बढ्न थालेको बताउनेहरू पनि छन्।

परराष्ट्र मन्त्रालयका सूचना अधिकारी रामबाबु ढकाल भन्छन्, “चीनले द्विपक्षीय सम्बन्धलाई बढाउन विभिन्न तहका अधिकारीहरूको नेपाल भ्रमण भइरहेको छ र त्यो बढिरहेको छ।”

६ वर्षअघि चीनका तत्कालीन प्रधानमन्त्री वेन जिआबाओ करिब ५ घण्टाका लागि काठमाण्डू आएका थिए।

अहिले प्रधानमन्त्री ओलीको दोस्रो चीन भ्रमणकै बेला वर्तमान राष्ट्रपति सी जिनपिङले नेपाल आउने निम्तो स्वीकारेमा त्यसले सकारात्मक सन्देश दिने विज्ञहहरूको भनाइ छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com