Follow @khasokhasmag

किन अस्तव्यस्त बन्दैछ सिंहदरवार


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

पछिल्लो समयमा सिंहदरवारभित्र रहेका कार्यालय अस्तव्यस्त बन्दै गएका छन् ।

व्यवस्थापनमा देखिएका चुनौती, दलहरुवीच एकीकरण र मन्त्रालयको संख्या थपघटसँगै भूकम्पका कारणले सिंहदरवारमा रहेका कार्यालय भत्काउँदा र तत्काल निर्माण नगर्दा सिंहदरवारभित्रको व्यवस्थापन अलमलमा परेको छ । अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण केही कार्यालयहरु भत्किएका थिए । त्यसपछि तत्कालको व्यवस्थापनको लागि भइरहेका मन्त्रालयहरु १ ठाउँबाट अर्को ठाउँमा लगिएका थिए । तत्कालीन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, यूवा तथा खेलकुद मन्त्रालय, महिला बालबालिका तथा समाजकल्याण मन्त्रालय, राष्ट्रिय योजना आयोग लगायतका कार्यालयहरु भूकम्पले भत्किएका थिए ।

भूकम्पपछि प्रधानमन्त्री कार्यालय स्थानीय बिकास मन्त्रालयमा सरेको थियो भने स्थानीय मन्त्रालय सुरुमा स्थापना हुँदाको शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा र योजना आयोग सञ्चार मन्त्रालयसँगै रहेको मुद्रण विभागमा सरेको थियो ।

साविकको शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा अहिले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय बसेको छ । अहिले शान्ति मन्त्रालय बिघटन भइसकेको छ । यसअघि शान्ति मन्त्रालय र कानुन मन्त्रालय एउटै भवनमा थिए । तत्काल अर्को व्यवस्था नभएपछि कतिपय भवनमा २÷३ वटा मन्त्रालय राखिएका छन् ।

सिंहदरवारभित्रै रहेको पुरानो संसद् भवन पनि भत्किएको छ ,भत्किएका संरचनाको मर्मत गर्नेतिर सरकारले ध्यान दिएको छैन । पुरानो श्रम मन्त्रालय पनि भत्काइएको छ । श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि एउटै भवनमा छन् । अहिले २१ वटा मन्त्रालय छन् । काशिराज दाहाल अध्यक्ष रहेको उच्चस्तरीय प्रशासन सुधार समितिले १८ मन्त्रालय रहनु उपयुक्त हुने प्रतिवेदन बनाएर सरकारलाई बुझाएको थियो ।

देउवाको राजीनामापछि बनेको ओली सरकारले १८ लाई अनुमोदन गरेको थियो भने पछि ३ मन्त्रालय थपिएका थिए । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित ३१ मन्त्रालय थिए । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सहायकमन्त्री सहित ६४ जनाको मन्त्रिपरिषद् बनाउनुभएको थियो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2022 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com