सरकारको कामभन्दा गफ धेरै,नातावाद, कृपावादको परम्परालाई निरन्तरता दिँदै सरकार


प्रकाशित मिति : असार ६, २०७५ बुधबार

काठमाडाैँ। दुई तिहाइ बहुमतसहितको सरकार गठन भएपछि नागरिकहरुले सरकारको सोच र शैलीमा परिवर्तन आउने आशा र अपेक्षा गरेका थिए । निर्वाचनअघि जनतासँग गरिएको प्रतिबद्धताअनुसार नै नेपाल कम्युनिस्ट पार्टीलाई बहुमत दिएर जनताले आफ्नो अभिभारा पूरा गरे ।

जनताले सधैँको राजनीतिक अस्थिरता, ६–६ महिनामा सरकार परिवर्तन भइरहने गलत परम्पराको अन्त्य गर्नको लागि तत्कालीन वाम गठबन्धनलाई बहुमत पनि दिए । अहिले दुई तिहाइ बहुमतको सरकार गठन भएको छ । तर जनताका समस्या ज्युँका त्युँ छन् । सरकारका मन्त्रीहरुको सोच र शैलीमा परिवर्तन आउन सकेको छैन । नागरिकहरुले सरकारसँग आमूल परिवर्तनको अपेक्षा राखेका छन् ।

विगतको निरन्तरता होइन, नयाँ सोच र नयाँ शैलीका साथ काम गरेको हेर्न चाहेका छन् । तर सरकारले नातावाद, कृपावादको परम्परालाई निरन्तरता दिँदै आएको छ ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा अगाडि सारेको छ । सरकारको नीति तथा कार्यक्रम र बजेटमा समृद्ध नेपालको नारालाई प्राथमिकताका साथ राखिएको छ । सरकारले देशलाई समृद्ध बनाउने नारा अगाडि सार्नु राम्रो पक्ष हो । समृद्ध देश निर्माण भएको हेर्ने चाहना कुन नेपालीलाई नहोला र ? सरकार गठन भएको चार महिना बितिसकेको छ । सरकार जनताको दैनिक समस्याको समाधान गर्नसमेत असफल भएको छ । याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

सरकारले समृद्धिको गफ र भाषण दिने कामलाई नै प्राथमिकतामा राखेको छ । महँगी नियन्त्रण हुन सकेको छैन । जनदबाबपछि मात्र पेट्रोलियम पदार्थको मूल्य ३ रुपियाँ घटाउन बाध्य भएको छ । जनताको पक्षमा काम गर्ने सरकारले जनतालाई नै सास्ती हुने निर्णय किन गरिरहेको छ ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com