जनकपुरमा यसैवर्ष रेल गुड्ने !


प्रकाशित मिति : असार ४, २०७५ सोमबार

भारत सरकारको सहयोगमा सञ्चालित जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नति परियोजनाको काम अन्तिम चरणमा छ ।

१० अर्बभन्दा बढीको यो परियोजना दुई वर्ष ढिला भए पनि यस वर्ष (सन् २०१८) भित्र जनकपुरवासीको ब्रोडगेज रेल चढने सपना पूरा हुने छाँट देखिएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

जयनगर (भारत)–जनकपुर–कुर्था (३५ किलोमिटर), कुर्था–भंगहा (१७ किलोमिटर) तथा भंगहा–बर्दीवास (१७ किलोमिटर) गरी कुल ६९ किलोमिटर लामो रेल विस्तार तथा स्तरोन्नति परियोजना तीन चरणमा पूरा हुने नेपाल रेल्वे कम्पनीका इन्जिनियर विनोद ओझाले जानकारी दिए ।
प्रथम चरणमा जयनगरदेखि कुर्थासम्मको ३५ किलोमिटरको निर्माण लगभग पूरा भइसकेको छ । ३५ किमिमध्ये ३० किमिमा फलामे रेललिक समेत जडान भइसकेको छ । इन्जिनियर ओझाका अनुसार यस रुटको पुल र कल्भर्टको निर्माण लगभग सम्पन्न भइसकेको छ ।

स्टेशनभवन, कर्मचारी आवास, प्लेटफर्मसँगै रेल लिकमा माटो पुर्ने, बोल्डर पुर्ने तथा फलामे लिक जडान गर्ने काम पनि लगभग पूरा भएको छ । इन्जिनियर ओझा यस रुटमा सन् २०१८ को अन्त्यसम्म रेल सेवा सञ्चालन भइसक्ने बताउँछन्, ‘निर्माण कम्पनीले अक्टुवरसम्ममा सिभिल काम पूरा गरी हस्तान्तरण गरिसक्ने प्रतिबद्धता जनाएको छ । यस वर्षभित्र जनकपुरवासीको ब्रोडगेज चढने सपना पूरा हुनेछ,’ ओझा भने ।

दोस्रो चरणको कुर्थादेखि भंगहासम्मको रुटमा समेत धमाधम काम भइरहेको उनले जानकारी दिए । इन्जिनियर ओझाका अनुसार दोस्रो चरणको काम पनि तीव्र गतिमा हुँदैछ । अधिकांश पुल र कल्भर्टको निर्माण सम्पन्न भइसकेको छ । बाँकी पुल पुलेसाको निर्माण पनि हुँदैछ । माटो तथा बोल्डर पुर्ने काम ८० प्रतिशत पूरा भइसकेको उनले जानकारी दिए । रेल्वे स्टेशन, प्लेटफार्म, कर्मचारी आवासलगायतको भौतिक संरचना पनि द्रुत गतिमा भइरहेको उनले बताए ।

तेस्रो चरणको भंगहादेखि बर्दीवासको रेल लिक निर्माण गर्न जग्गा अधिग्रहण गर्नुपर्ने भएकाले यो काम ढिला भएको इन्जिनियर ओझाले स्वीकार गरे । उनले भने, ‘भंगहा–बर्दीवास रेल खण्ड निर्माणको लागि जग्गा अधिग्रहण काम अझै पनि हुन सकेको छैन । जग्गा अधिग्रहण भए पछिमात्र निर्माण काम सुरु हुन्छ ।’

भारतको जयनगर–जनकपुर तथा जनकपुरदेखि महोत्तरीको विजुलपुराहुँदै बर्दीवाससम्मको कुल ६९ किलोमिटर रेल ट्रयाकमध्ये ३ किलोमिटर भारतीय भूमिमा पर्दछ । भारतीय भूमिमा पर्ने भूभागमा रेल लिकलगायत सम्पूर्ण काम पूरा भइसकेका छन् । इन्जिनियर ओझाका अनुसार भारतीय तथा नेपाली प्राविधिकहरूको टोलीले यस खण्डको परीक्षण समेत गरिसकेका छन् ।

जयनगर–जनकपुर (२७ किलोमिटर) रेललिक,पुल पुलैसा,स्टेसन,प्लेटफर्म, आवासलगायतको निर्माण ठेक्का भारतीय कम्पनी एरकान इन्टरनेशनलले लिएको छ भने जनकपुर–बिजुलपुरा (करिब २३ किलोमिटर) को ठेका नेपाली निर्माण कम्पनी रमण कालिका इन्टरप्राइजेजको छ । नेपाली ठेकेदार बलराम महतोले समेत निर्धारित समयमा काम पूरा हुने बताए ।

सम्झौताअनुसार जयनगर–जनकपुर–भंगहा–बर्दीवास रेलमार्ग निर्माण तथा विस्तार आयोजना २०१६ मेसम्ममा सम्पन्न भइसक्नुपर्ने थियो तर विभिन्न बहाना बनाएर दुबै ठेकेदार निर्माण कार्यलाई बेवास्ता गर्दै आएका छन् ।

पूर्वी तथा मध्य धनुषासँगै सीमावर्ती भारतीयका लागि साढे ८ दशकदेखि यातायातको प्रमुख मार्गका रूपमा रहेको जनकपुर–जयनगर रेलसेवा झन्डै चार वर्षदेखि सञ्चालनमा छैन । रेलसेवा अवरुद्ध भएपछि ,सेवाग्राहीहरूलाई भारतको घुमाउरो बाटो भई जिल्ला सदरमुकाम आउनुपरेको छ । तर जारी रेल विस्तार तथा स्तरोन्नतिले स्थानीयवासीलाई हर्षित बनाएको छ । खजुरीका रामविलास कापरले भने, ‘अब मध्य र पूर्वी धनुषावासीलाई भारतको घुमाउरो बाटो प्रयोग गर्नुपर्दैन ।’

१९९४ सालमा तत्कालीन ब्रिटिशकालमा महोत्तरी जंगलबाट काठ ओसार्न निर्माण गरेको जनकपुर रेल्वे महोत्तरीको विजुलपुराबाट भारतको जयनगर (५२ किलोमिटर) सम्म सञ्चालनमा थियो तर २०५९ सालमा आएको बाढीबाट विग्ही पुल क्षतिग्रस्त भएयता रेल सेवा जनकपुरदेखि जयनगर (२९ किलोमिटर) मा सीमित हुन पुगेको थियो । प्रस्तावित रेल विस्तार तथा स्तरोन्नति परियोजनाअन्तर्गत रेलसेवा पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दीवाससम्म विस्तार गरिने छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com