इरानका प्रदर्शनमा भएको हिंसाको दोष ट्रम्पमाथि, खामेनीद्वारा अमेरिकामाथि गम्भीर आरोप
प्रकाशित मिति : माघ ३, २०८२ शनिबार
इरानी सर्वोच्च नेता अली खामेनी । तस्वीर – सिन्ह्वा/रासस
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले हालै देशभर फैलिएको विरोध प्रदर्शनका क्रममा भएका मृत्यु र घाइतेको जिम्मेवारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लगाएका छन्। एक धार्मिक पर्वको अवसरमा समर्थकहरूलाई सम्बोधन गर्दै खामेनीले इरानी जनताविरुद्ध भएको क्षति र मानवीय हताहतीका लागि अमेरिकी नेतृत्व दोषी रहेको बताएका हुन्।
खामेनीले ती प्रदर्शनहरूलाई “अमेरिकी षड्यन्त्र”को संज्ञा दिँदै अमेरिकाले इरानलाई पुनः सैन्य, राजनीतिक र आर्थिक प्रभुत्वमा राख्न खोजिरहेको आरोप लगाए। उनले राष्ट्रपति ट्रम्पलाई “अपराधी” समेत भनेका छन्।
प्रदर्शनहरू सुरुमा बढ्दो आर्थिक संकट र जीवनयापनको कठिनाइविरुद्ध सुरु भए पनि चाँडै इस्लामिक गणतन्त्रको नेतृत्वविरुद्ध राष्ट्रव्यापी आन्दोलनमा रूपान्तरण भएका थिए। दुई हप्ताभन्दा बढी समयसम्म चर्किएको आन्दोलनपछि इरानी सुरक्षा बलले कडा दमन थालेका थिए।
गत साता इरानमा इन्टरनेट सेवा बन्द गरिएपछि देशभित्रको अवस्थाबारे जानकारी प्राप्त गर्न कठिन भएको छ। इरानभित्रका स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले कम्तीमा १२ हजारदेखि २० हजारसम्म मानिस मारिएको आशंका व्यक्त गरेका छन्। साथै, हजारौँ प्रदर्शनकारी पक्राउ परेकोे र कतिपयलाई मृत्युदण्डको सम्भावना रहेको बताइएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इरान अहिले “डर र गहिरो शोक”को अवस्थामा छ।
यसैबीच, राष्ट्रपति ट्रम्पले इरानी सरकारले प्रदर्शनकारीहरूलाई मृत्युदण्ड दिए कडा कदम चाल्ने चेतावनी दिएका छन्। उनले हाल हत्या र मृत्युदण्ड रोकिएको दाबी गर्दै त्यसको पुष्टि भइरहेको बताएका छन्। ट्रम्पले इरानी सरकारले सयौँ राजनीतिक बन्दीलाई मृत्युदण्डको निर्णय रद्द गरेकोमा धन्यवादसमेत दिएका छन्।
अमेरिकी प्रशासनका अनुसार इरानप्रति अपनाउन सकिने विकल्पहरूमा कूटनीतिक दबाबदेखि सैन्य र साइबर कारबाहीसम्म समावेश छन्। ट्रम्पले इरानी प्रदर्शनकारीप्रति समर्थन जनाउँदै “मद्दत आउँदैछ” भन्ने सन्देशसमेत दिएका छन्।





