नेपालको बाढीमा सहयोग गरेको युपिएससँग अमेरिकी विदेश मन्त्रालयको समझदारी


प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार

न्युयोर्क सहरको सडकमा गुडिरहेको युनाइटेड पार्सल सर्भिस (युपिएस) को डेलिभरी ट्रक। तस्बिर: रेडचार्ली/अनस्प्ल्यास।

नेपालमा हालै आएको बाढीका क्रममा मानवीय सहायता सामग्री ढुवानीमा सहयोग गरेको अमेरिकी लजिस्टिक्स कम्पनी युनाइटेड पार्सल सर्भिस (युपिएस) सँग अमेरिकी विदेश मन्त्रालयले समझदारीपत्रमा हस्ताक्षर गरेको छ।

सोमबार वासिङ्टन डिसीमा भएको समझदारीपत्रअनुसार दुवै पक्षले विश्वभरका विपद् प्रतिकार्य अभियानमा युपिएसको लजिस्टिक्स सञ्जाल, कार्गो ढुवानी क्षमता र आपूर्ति शृङ्खलासम्बन्धी विशेषज्ञताको उपयोग गर्नेछन्। यस सहकार्यले विपद् प्रभावित क्षेत्रमा जीवनरक्षक सहायता सामग्री छिटो र प्रभावकारी रूपमा पुर्‍याउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार युपिएसले नेपालमा हालै आएको बाढीका क्रममा मानवीय सहायता अभियानमा संलग्न आफ्ना कार्यान्वयन साझेदारहरूलाई लजिस्टिक्स सहयोग उपलब्ध गराएको थियो। यसअघि पनि कम्पनीले हरिकेन मेलिसा तथा भेनेजुएला र कोलम्बियाका भूकम्पलगायतका विपद्का बेला सहायता उपलब्ध गराएको थियो।

विपद्का बेला सहायता सामग्री समयमै र प्रभावित क्षेत्रमा पुर्‍याउन सक्ने क्षमताले जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै अमेरिकी विदेश मन्त्रालयले निजी क्षेत्रको लजिस्टिक्स क्षमतालाई विपद् प्रतिकार्यसम्बन्धी आफ्नो अनुभवसँग जोड्ने जनाएको छ।

मन्त्रालयले युपिएससँग भविष्यमा पनि सहकार्य विस्तार गर्ने र विश्वव्यापी विपद् प्रतिकार्यमा अमेरिकी निजी क्षेत्रको सहभागिता बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com