होटल अन्नपूर्णको क्यासिनो अन्नाका मजदुर र कर्मचारी आन्दोलित
प्रकाशित मिति : असार ३, २०७५ आईतबार
क्यासिनो अन्नाका मजदुर र कर्मचारी कार्य थमौती र सेवा सुविधा माग गर्दै आन्दोलनमा उत्रिएका छन् । होटल अन्नपूर्णले फरक नाममा क्यासिनो संञ्चालन गरेर पुराना मजदुरलाई हटाउने र सेवा सुविधा रोकिएपछि उनीहरु आन्दोलित भएका हुन् ।
मजदुर तथा कर्मचारीहरुले सेवा सुविधा तत्काल उपलब्ध गराउन दबाब दिएका छन् । होटल अन्नपूर्णले चार वर्षअघि बन्द भएको क्यासिनोलाई नाम परिवर्तन गरी क्यासिनो प्यालेस संचालन गरेको छ ।
होटेलले क्यासिनोको नाम परिवर्तनसँगै कामदार समेत परिवर्तन गरेको छ । क्यासिनोमा पुराना मजदुर हटाएर नयाँ भर्ना गरिएको छ । क्यासिनोले हटाएपछि त्यस विरुद्ध मजदुरहरुले सर्वोच्च अदालत रिट दायर गरेका थिए ।
सर्वोच्चले जेठ १४ गते नयाँ नाममा क्यासिनो खुले पनि पुरानो अन्न्ना क्यासिनोमा कार्यरत इच्छुक कर्मचारीलाई काममा फर्काउनु र काम गर्न नचाहने कर्मचारीलाई नियमसंगत सेवा सुविधा दिन अन्तरिम आदेश दिएको थियो । क्यासिनो संचालनले अदालतको आदेश पालना नगरेपछि मजदुर तथा कर्मचारीहरु झन् अाक्रोशित बनेका छन् ।