अरुण तेश्रोको सुरुङ खन्ने क्रममा ४ जनाको ज्यान गयो


प्रकाशित मिति : असार २, २०७५ शनिबार

अरुण तेश्रो जलविद्युत अायाेजनाको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा ४ जना कामदारको ज्यान गएको छ ।

नुमको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेश्रोको सुरुङ खन्ने क्रममा शुक्रबार राति पौने ९ बजे ढिस्को झरेको थियो । ढिस्कोले पुरिएर २ जना नेपाली र २ जना भारतीय कामदारको ज्यान गएको डीएसपी श्यामकुमार सारु मगरले बताउनुभयो ।

ढिस्कोले पुरिएर कालिकोट सिउना गाउँपालिका –४, का प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका –१, का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किशोरको ज्यान गएको हो । शाही र परियार मजदुर थिए भने मुण्डा अपरेटर र नन्द किशोर इलेक्ट्रोनिक मिस्त्री थिए ।

घटनास्थलमा उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका छन् । झरी परिरहेकाले उद्धारमा कठिनाई भइरहेको डीएसपी सारुमगरले बताउनुभयो । ढिस्को हटाउन एक्साभेटर र डोजर पनि घटनास्थल लगिसकिएको छ । घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com