चिनियाँ सामानमा अमेरिकाले लगायो २५ प्रतिशत कर


प्रकाशित मिति : असार २, २०७५ शनिबार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने ५० अर्ब डलर बराबरको ८०० भन्दा बढी उत्पादनमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका छन् । यो कर ६ जुलाईदेखि लागू हुने छ ।

ह्वाइटहाउसका अनुसार बाँकी १६ अर्ब डलरको उत्पादनमा पनि कर लगाउनेबारे परामर्श गरिने छ ।

जुन ८०० भन्दा बढी उत्पादनमा कर लगाइएको छ तिनमा चीनसँग अमेरिकाको वर्षेनी ३४ अर्ब डलरको व्यापार हुन्छ ।

अमेरिकाले चिनियाँ उत्पादनमा जति कर लगाएको छ, त्यहि हिसाबले अमेरिकी उत्पादनमा कर लगाउने चीनले जनाएको छ । चीनले अमेरिका र चीनबीच सबै व्यापार वार्ता बन्द हुने चेतावनी पनि दिएको छ ।

यदि चीनले बदला लियो भने थप कर लगाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन् ।

ट्रेड वारको आशंका

ट्रम्पले चीनमा, अमेरिकी प्रविधि र बौद्धिक सम्पत्तीको अनुचित हस्तान्तरणलाई रोक्नका लागि आफ्नो निर्णय जायज भएको तर्क गरेका छन् । यो निर्णयबाट अमेरिकी रोजगारको रक्षा हुने उनको विश्वास छ ।

आफ्नो प्रविधि र बौद्धिक सम्पत्ती गुमाउँदा आफूलाई असैह्य हुने उनले बताएका छन् । अमेरिकी बौद्धिक सम्पत्ती र उत्पादनका उपायहरुलाई चीनले आफ्ना कम्पनीहरुमा प्रोत्साहित गरिरहेको आरोप ट्रम्पको छ । उनले त्यस्तो कार्य चीनले बन्द गर्नुपर्ने बताएका छन् ।

अमेरिकाको पछिल्लो कदमले अमेरिका र चीनबीच ट्रेड वारको आशंका बढेको छ । यही आशंकाको कारण यूरोप र अमेरिकाको शेयर बजारमा गिरावट आएको छ ।

ट्रेड वार के हो ?

ट्रेड वारलाई व्यापार युद्ध भन्न सकिन्छ । कुनै दोस्रो युद्धको जस्तै यसमा पनि एक देशले अर्को देशमा हमला गर्दछ र प्रतियुत्तरको लागि तयार हुन्छ ।

तर, यसमा हतियारको सट्टा ट्याक्स वा ड्युटीको प्रयोग गरेर विदेशी सामानलाई निशाना बनाइन्छ । जब एक देशले अर्को देशबाट आउने सामानमा कर बढाउँछ भने अर्को देशले पनि यस्तै गर्दछ र यसबाट दुई देशबीच टकराव आउँछ ।

यसबाट दुवै देशको अर्थव्यवस्था प्रभावित हुन्छ र दुवै देशमा राजनीतिक तनाव पनि बढ्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com