अहिलेकै गतिमा काम हुँदा अबको ६ महिनामा नेपालमा रेल गुड्ने !


प्रकाशित मिति : असार २, २०७५ शनिबार

भारतको जयनगरदेखि जनकपुर हँुदै बर्दिबास जोड्ने रेलको लिक बिछ्याउने काम अन्तिम चरणमा पुगेको छ । आउँदो पुससम्ममा जनकपुरसम्म रेल ल्याउने योजनाका साथ निर्माणलाई तीब्रता दिइएको हो । अहिलेकै गतिमा काम भयो भने अवको ६ महिनामा नेपालमा रेल कुद्ने छ ।

भारत सरकारको सहयोगमा भारतको जयनगरबाट महोत्तरीको बर्दीवाससम्म तीन चरणमा झन्डै ७० किलोमिटर ‘ब्रोडगेज’ रेलमार्ग निर्माण भइरहेको छ । जनकपुर रेल्वे विस्तार तथा स्तरोन्नती परियोजनाअन्तर्गत पहिलो चरणमा जयनगर–कुर्था (३४ किलोमिटर), दोस्रो चरणमा कुर्था–भंगहा (१८ किलोमिटर) र तेस्रो चरणमा भंगहा–बर्दीवास (१७ किलोमिटर) खण्डमा काम भइरहेको हो । तेस्रो खण्ड भंगहा–बर्दिबासमा भने मु–आब्जा विवादका कारण सोचेअनुसार काम भएको छैन ।

अहिले जयनगरदेखि नेपालको खजुरा हुँदै जनकपुरसम्म ‘लिक’ बिच्छ्याउने काम धमाधम भइरहेको छ । रेलमार्ग निर्माणको स्थलगत अबलोकनका लागि दुई नम्बर प्रदेश पुगेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सन् २०१८ भित्रै नेपालमा रेल गुड्ने दावी गर्छन् ।

भारत सरकारले त्यहाँको नायक इन्फ्रास्ट्रक्चर कम्पनी आसामसँग गरेको सम्झौताअनुसार जनकपुरदेखि विजुलपुरासम्मको रेलसेवा सन् २०१६ को ‘मे’ सम्ममा सकिनु पथ्र्यो । तर, आन्तरिक तथा बाह्य कारणले झण्डै अढाई वर्ष ढिलो रेल सेवा सञ्चालन हुने देखिएको छ । पहिलो खण्डमा रेलको स्टेशन भवन, कर्मचारी आवास, प्लेटफर्म, लिकको काम लगभग सकिएको छ । जयनगरदेखि कुर्थासम्ममा झण्डै ३५ किलोमिटर तत्काल रेल सञ्चालनमा आउने रेल बिभागको दावी छ ।

पहिलो चरणको पूर्वाधार लगभग पूरा भएपनि रेलका इन्जिन र डिब्बा कसले, कुन प्रक्रियाबाट ल्याउने भन्ने निर्णय भएको छैन । रेल विभागले अर्थ मन्त्रालयसँग रेल र डिब्बाका लागि तीन अर्ब रुपैयाँ लाग्ने जानकारी गराइसकेको छ ।

तर, अर्थ मन्त्रालयले ‘लिक’ तयार भएपछि मात्र बजेट दिन सकिने बताउँदै आएको छ । विभागले उक्त ‘रुट’मा रेल गुडाउन विदेशका अनुभवी कम्पनीलाई सञ्चालन, व्यवस्थापन र सीप हस्तान्तरणमा सहभागी गराउने ‘आउटसोर्सिङ मोडालिटी’ प्रस्ताव गरेको छ । ६ महिनाभित्रै जनकपुर आइपुग्ने भनिएको रेल बर्दिवास कहिलेसम्म आइपुग्ने हो निश्चित छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com