मेयरले डोजर चलाउँदा पत्रकारसहित ५ जना खोलामा खसे


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

पोखराको फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) उद्घाटनको क्रममा एक्कासी डोजर चल्दा पत्रकारसहित ५ जना घाइते भएका छन् ।

अचानक डोजर चलेर फिर्केको रेलिङलाई धक्का दिँदा अनलाइनखबरकर्मी सन्देश श्रेष्ठ, पत्रकार रञ्जन अधिकारीलगायत ५ जना घाइते भएका छन् ।

उक्त फुट ट्रयाकको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसीले डोजर चलाएर गर्ने कार्यक्रम थियो ।

उद्घाटनको फोटो खिच्न पत्रकार तथा स्थानीयहरु फिर्के खोलामा रहेको रेलिङमा आड लागेर बसेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रमुख जिसी डोजरमा चढे । प्रमुख जिसीसँगै डोजर अपरेटर पनि थिए । मेयर जिसीले झुक्किएर लिभर दबाउँदा डोजरको वकेटले रेलिङ भत्काएको हो ।

डोजरको फोर्सले धक्का दिदा रेलिङ भत्कियो र त्यसमा अडेस लाग्नेहरु फिर्के खोलामा खसे । यसरी फिर्के खोलामा खस्नेहरुमा पत्रकारहरुसँगै पोखरा लेखनाथ महानगरपालिका ८ बाट उद्घाटन हेर्न आएकी प्रगती आमा समूहकी गौरी पौडेललगायत ५ जना थिए ।

खोलामा खस्नेमध्ये पौडेललाई सबैभन्दा बढी चोट लागेको छ । उनको दाहिने खुट्टाको कम्मर मुनिको भाग, देब्रे खुट्टाको घुँडा मुनि र कोखामा चोट लागेको छ ।

पत्रकार रञ्जन अधिकारीको हात, खुट्टा र निधारमा चोट लागेको छ भने श्रेष्ठको दाहिने हातको कुहिनामा सामान्य चोट लागेको छ । उनीहरुको मेट्रोसिटी अस्पताल पोखरामा उपचार गरिएको छ ।

पोखराको बीच भाग भएर बग्ने फिर्के खोलामा पैदल मार्ग (फुट ट्रयाक) निर्माण शुरु भएको छ । पोखरा लेखनाथ महानगरपालिकाको १ करोडको लागतमा फिर्के खोलाको दुबैतर्फ फुट ट्रयाक खोल्न लागिएको हो ।

पोखरा लेखनाथ महानगरपालिका ५ मा पर्ने सिद्धार्थचोक र पर्स्याङचोकको बीचमा रहेको फिर्के खोलाको किनारमा ट्रयाक खोल्न लागिएको हो । फिर्के खोलाको ६ किलोमिटर क्षेत्रफलमा फुट ट्रयाक बनाइने पोखरा लेखनाथ महानगरपालिका ५ का वडाध्यक्ष डिबी नेपालीले जानकारी दिए ।

उनका अनुसार हाल ३० लाखको लागतमा फिर्केको दुबैतर्फ २/२ मिटरको ट्रयाक खोलेर सम्याईनेछ । थप बजेट प्राप्त भएपछि बाटो ब्यबस्थित बनाउनुका साथै पूर्वाधारसमेत निर्माण गरिने वडाध्यक्ष नेपालीले बताए ।

फुट ट्रयाक निर्माणको उद्घाटन कार्यक्रममा बोल्दै महानगरपालिकाका प्रमुख जिसीले महानगरपालिकाले भत्काउन मात्र नभइ बनाएर मात्र छाड्छ भन्ने सन्देश फिर्के फुट ट्रयाक निर्माणले दिने बताए ।

उनले भने,’महानपालिकाले भत्काउन मात्र जानेको छ भन्ने आरोप लाग्ने गरेको छ, तर महानगरपालिकाले भत्काउन मात्र हैन, बनाएर मात्र छाड्छ भन्ने प्रमाण फिर्के फुट ट्रयाक निर्माणले दिन्छ ।’

प्रमुख जिसीले अहिलेकै अवस्थामा फिर्केलाई छाडिदिने हो भने २० वर्षपछि फिर्केको वरीपरी बसिनसक्नु हुने बताउँदै त्यस्तो अवस्था नआओस् भनेर फिर्के जोगाउनका लागि फुट ट्रयाक निर्माण गर्न लागिएको स्पष्ट पारे ।

फुट ट्रयाक निर्माण हुँदा कसैले पनि मन खुम्च्याउन नपर्ने जिसीले बताए । हाम्रो खोलो राम्रो खोलो र हाम्रो बस्ती राम्रो बस्ती बनाउने अभियान अन्तर्गत फुट ट्रयाक निर्माण शुरु भएको बताउँदै उनले भने, ‘फुट ट्रयाक निर्माण गर्दा कसैप्रति आग्रह पूर्वाग्रह छैन, सबैको भलोको लागि गरिएको हो, यसले कसैलाई बेफाइदा गर्दैन त्यसैले यसमा कसैले मन खुम्च्याउनु पर्दैन ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com