विश्वकपको पहिलो महाभिडन्त, स्पेन भर्सेस पोर्चुगल नेपाली समयानुसार राति पौने १२ बजे


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

विश्वकपको पहिलो महाभिडन्तमा स्पेनले युरोपियन च्याम्पियन पोर्चुगलको आज सामना गर्दैछ। समूह बी को खेल सोचीस्थित फिस्ट ओलम्पिक स्टेडियममा नेपाली समयानुसार राति पौने १२ बजे सुरु हुनेछ।

सन् २०१० को विश्व च्याम्पियन रुस मैदान उत्रदा विश्वकपको पूर्वसन्ध्यामा प्रशिक्षक बर्खास्त भएको नाटकीय घटनाबाट बाहिर निस्कने प्रयास गर्नेछ। स्पेनी फुटबल संघले बुधबारमात्रै मुख्य प्रशिक्षक जुलिन लोपीटुङ्गीलाई बर्खास्त गर्दै फर्नान्डो हिररोलाई टोलीको जिम्मा दिएको थियो। संघले आफूहरुलाई जानकारी नगराएर रियल मड्रिड जाने निर्णय गरेको भन्दै जुलिनलाई बर्खास्त गरेको हो।

बर्खास्तमा परेका जुलिन स्पेनका सफलमध्येका एक प्रशिक्षक थिए। जुलिन २०१६ मा स्पेनका प्रशिक्षकमा नियुक्त भएपछि स्पेनले कहिलै हारेको थिएन। उनको कार्यकालमा स्पेनले २० खेल खेलेकोमा १४ मा जित र ६ मा बराबरी खेलेको थियो।

उनले बनाएका योजना अनुसार स्पेन खेल्न सक्ने हो कि हैन भन्ने चिन्ता बढी रहँदा नवनियुक्त प्रशिक्षक फर्नान्डोले भने स्पेनले प्रशिक्षक परिवर्तनको घटनामा नलल्झिएर आफ्नो उत्कृष्ट खेल पस्कनेतिर ध्यान दिने बताएका छन्।

‘खेलाडीहरुले विश्वकपमा यस्तै चुनौती(पोर्चुगलसँगको भिडन्त) खोजेका थिए,’ फर्नान्डोले भने, ‘पोर्चुगल राम्रो टोली हो, हामी पनि आफ्नो शतप्रतिशत दिनेछौं।’

पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोस भने स्पेनको प्रशिक्षक परिवर्तनको घटनाले सुरुवाती खेलमा खासै असर नपार्ने बताउछन्।

‘स्पेन उत्कृष्ट प्रतिद्धन्द्धि हो,’ उनले भने, ‘उनीहरु उत्कृष्ट खेल पस्कने उच्चस्तरिय टोली हुन्, उनीहरुले विगत जस्तै राम्रो प्रदर्शनलाई निरन्तरता दिने आशा छ।’

स्पेनले विश्वकप अघिको दुई वटा वार्मअप खेलमा संघर्ष गरेको थियो। उसले स्वीजरल्याण्ड्ससँग १–१को बराबरी खेल्यो भने टुनिसियालाई ८४औं मिनेटमा लागो आस्पासले निर्णायक गोल गरेका थिए।

यता, स्टार क्रिस्टियानो रोनाल्डोले अल्जेरियाविरुद्धको वार्मअप खेलमा गोल गर्दै आफू लयमा रहेको पुष्टि गरिसकेका छन्। अन्तराष्ट्रिय करिअरको उत्तारार्धमा रहेका ३३ वर्षे रोनाल्डोका लागि यो आफ्ना देशका लागि उपाधि दिलाउने अन्तिम मौका पनि हो।

प्लेयर्स टू वाच

क्रिस्टियानो रोनाल्डो (पोर्चुगल)

विश्वका सर्बोत्कृष्ट खेलाडी रोनाल्डो पोर्चुगलको इतिहासमा सर्बाधिक गोलकर्ता हुन्। उनले १ सय ४९ खेलमा ८१ गोल गरेका छन्। उनी सम्भावत् यस प्रतियोगितापछि सन्यास लिनेछन् । उनी पाँच पटक विश्वका सर्बोत्कृष्ट खेलाडी घोषित भइसकेका छन्। भर्खरैमात्रै रोनाल्डोले रियल मड्रिडलाई तेस्रोपटक च्याम्पियन्स लिगको उपाधि दिलाएर आएका छन्।

डेभिड डी गिया (स्पेन)

प्रिमियर लिगको २०१७–१८ को सिजनमा गिया म्यानचेस्टर युनाइटेडको उत्कृष्ट खेलाडी घोषणा भएका थिए। विश्वकै उत्कृष्ट गोलकिपर मध्येका एक गियाले प्रिमियर लिगको गोल्डन ग्लोब अवार्ड पनि हात पारिसकेका छन् । पेनाल्टी बचाउन उनी माहिर गोलकिपर मानिन्छन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com