गोरखा, बट्टार र भैरहवामा पेट्रोलियम भण्डार निर्माणको चीनसँग प्रस्ताव गरिँदै


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा तीन ठाउँमा पेट्रोलियम भण्डारण केन्द्र निर्माणका लागि सहयोग गर्न प्रस्ताव गरिने भएको छ । करिब १ लाख ५० हजार किलोलिटर पेट्रोलियम पदार्थ अटाउने गरी तीनवटा भण्डारण केन्द्र निर्माणका लागि सरकारले चीनसँग प्रस्ताव गर्न लागेको हो ।

यसअघि भारतीय नाकाबन्दीका समयमा नै चीनले नेपालमा ३ स्थानमा पेट्रोलियम भण्डारण केन्द्र निर्माण गर्न सहमति जनाइसकेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले गठन गरेको एक समितिले चीनसाग कहाँ-कहाँ पेट्रोलियम भण्डारण केन्द्र निर्माण गर्ने भन्ने अध्ययन गरेको छ ।

समितिले गोरखा, नुवाकोट र रुपन्देहीमा चीनको सहयोगमा यस्ता भण्डारण केन्द्र स्थापना गर्न सकिने भन्दै सिफारिस गरेको छ । यसअनुसार गोरखाको गोरखकाली रबर उद्योगको करिब २ सय रोपनी जग्गा प्रयोग गर्न प्रस्ताव गरिएको छ । त्यहाँ करि ६० हजार किलोलिटर तेल भण्डारण गर्न सकिने अनुमान समितिको छ ।

‘भविष्यमा उद्योग विस्तार गरिए पनि उपयोग हुन नसक्ने ठूलो जमिन रबर उद्योगसँग रहेछ । त्यसैले सो उद्योगलाई असर नपर्ने गरी सो जग्गा प्रयोग गर्न सकिने सिफरिस गरेका हौं,’समितिका एक सदस्यले भने ।

त्यसैगरी नुवकोटको बट्टारमा पनि झण्डै २५० रोपनी जग्गामा पेट्रोल भण्डारण गर्न सकिने निश्ष्कर्ष समतिको छ । केही सरकारी जग्गा रहेको केही मोहियानी जग्गालाई अधिग्रहण गरेर भण्डारण केन्द्र निर्माण गर्न सकिने देखिएको आपूर्ति मन्त्रालयको एक उच्च अधिकारीले बताए ।

सो जग्गामा भण्डारण केन्द्र बनाउन सकिने जवाफ यसअघि नै चिनियाँ अधिकारीहरुले दिइसकेका छन् ।

त्यसैगरी भैरहवामा विमानस्थामा हवाई ईन्धनको भण्डारण तथा वितरणका लागि पनि अर्को डिपो चीनलाई नै बनाउन दिनेबारे छलफल भएको छ ।

‘भैरहवाका विमानस्थलको निर्माण लगत्तै त्यहाँ हवाई इन्धनको ठूलो डिपोको आवश्यकता पर्छ । त्यसैले त्यहाँ पनि चीनलाई सहभागी गराएर निर्माण गराउनेबारे छलफल भएको छ,’ मन्त्रालयका एक अधिकारीले भने,’काभ्रेमा उपयुक्त जग्गा नभेटिएपछि भैरहवामा प्रस्ताव गर्न लागिएको हो ।’

भण्डारण केन्द्रका भैरहवा एयरपोर्टको २ बिगाह जग्गा नै अधिग्रहण गर्न आयल निगमलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रस्ताव गरेको छ । तर, प्राधिकरणले महंगो रेट दिएकाले समस्या भएको निगम स्रोतको भनाइ छ ।

आयल निगमले भैरहवामा टेन्डरमार्फत पनि तेल भण्डारणका लागि जग्गा किनिसकेको छ । त्यसैले जग्गाका दुई विकल्पहरु रहेकाले त्यहाँ चीनको लगानी लगाउने प्रस्ताव अघि बढाइएको हो ।

यि तीन भण्डारणस्थलमा करिब ५ अर्बभन्दा बढी लागनी लाग्ने अनुमान छ । चीनले तीन तेल भण्डारहरु अनुदानमा नै बनाउने सहमति यसअघि नै जनाइसकेको छ ।
सरकारले आपूर्ति नहुँदा पनि कम्तिमा ९० दिनलाई पुग्ने गरी पेट्रोलियम भण्डारण गर्ने योजना अन्तरगत चीनको सहयोग लिन लागेको हो ।

यसअघि काभ्रेको पाँचखाल, नुवाकोटको बट्टार र तनहुँको खैरहनीमा पेट्रोलियम भण्डारण केन्द्र बनाउन प्रस्ताव गरिएको थियो । तर, तनहुँ र काभ्रेमा उयपयुक्त जग्गा नभेटिएपछि अन्य विकल्पहरु अघि सारिएको हो ।

‘पेट्रोल आबुखैरहनी र गोरखामा हुनुमा खासै फरक छैन । काभ्रेमा भने उपयुक्त जग्गा भेट्नै मुस्किल परेको हो,’ ती अधिकारीले भने,’प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा पेट्रोलियमको भण्डारणका गोरखा, नुवाकोट र रुपन्देहीलाई प्रस्ताव गर्ने पक्का पक्की भएको छ ।’

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com