जापानले घटायो एडल्ट उमेर, १८ वर्षमै बिहे


प्रकाशित मिति : असार १, २०७५ शुक्रबार

जापानले वयस्कपनको विषयमा नयाँ विधेयक तयार पारेको छ, जसमा वयस्क व्यक्तिहरुको उमेर २० बाट घटाएर १८ बनाइएको छ।

यसले सन् २०२२ सम्ममा करोडौँ युवालाई प्रभाव पार्ने देखिएको छ। सन् १८७६ पछि जापानमा वयस्कपनको उमेर परिवर्तन गर्न लागिएको यो पहिलो पटक हो।

विधेयकले १८ वर्षका व्यक्तिले के गर्न पाउने र के गर्न नपाउने भनेर नियमहरु तोकेको छ। सबैभन्दा ठूलो परिवर्तन त अभिभावकको मञ्जुरीबिना नै विवाह गर्न पाउनु हो।

अहिले १८ वर्ष उमेर पुगेका पुरुष र १६ वर्ष पुगेका महिलाले विवाह गर्न पाउँछन् तर अभिभावको सहमतिमा मात्र, नत्र भने विवाह गर्नलाई २० वर्ष पुगेकै हुनुपर्छ।

तर परिमार्जित विधेयकअनुसार सबै १८ वर्ष पुगेकाले अभिभावको सहमति बिना नै विवाह गर्न पाउने छन्।

त्यति मात्र होइन, उनीहरुले क्रेडिट कार्डका लागि आवेदिन दिन सक्नेछन् र बैंकबाट ऋण लिन पनि परिवारको स्वीकृति आवश्यक पर्नेछैन।

उनीहरुले परिवारको स्वीकृति विना १० वर्षका लागि राहदानी पनि प्राप्त गर्न सक्ने विधेयकमा उल्लेख छ। अहिले केहीले मात्र ५ वर्षका लागि राहदानी प्राप्त त गर्न सक्छन् तर त्यसमा परिवार वा अभिभावकको सही अनिवार्य चाहिन्छ।

वयस्कपनको उमेर घटाउने नीति तयार पार्दासम्म यो कानुनलाई करिब २० पल्ट भन्दा बढी संशोधन गरिएको थियो, जसमा राष्ट्रियता र केही पेशागत योग्यताहरू पनि राखिएको छ।

परिवर्तित विधेयक अनुसार जसको लिंग पहिचान भएको छ, उनीहरूले १८ वर्ष उमेर पुगेपछि आफ्नो इच्छा अनुसार कानुनी रुपमा लिंग परिवर्तन गर्न आवेदन दिन सक्नेछन्।

के गर्न पाउने छैनन्
कानुनले वयस्क भनेर तोकेतापनि १८ वर्षका व्यक्तिहरुले धुमपान र मद्यपान सेवन गर्न तथा जुवा खेल्न र बालबच्चा एडप्ट गर्न पाउने छैनन्। उनीहरुले ती कुरा गर्न २० वर्षसम्म कुर्नुपर्ने हुन्छ।

सामाजिक सञ्जालमा धेरैले यस विधेयकप्रति सकारात्मक प्रतिक्रिया जनाएका छैनन्।

‘१८ वर्ष पुगेपछि म वयस्क हुनेछु, तर पनि मैले मद्यपान गर्न र जुवा खेल्न पाउने छैन?’, ट्वीटरमा एक जनाले सोधेका छन्, ‘यो मैले बुझ्न सकिनँ।’

‘१८ वर्ष पुगेपछि मैले ऋण लिन सक्छु तर अझै पनि मद्यपान गर्न पाउने छैन’, अर्को एक जनाले सामाजिक सञ्जालमा दुःखेसो पोखेका छन्।

जपानमा हरेक वर्ष जनवरी महिनामा २० वर्ष पुगेका व्यक्तिलाई वयस्क उमेरमा प्रवेश गरेको उपलक्षमा औपचारिक रुपमा समारोह आयोजना गरी स्वागत गरिन्छ। त्यो दिन सार्वजनिक विदा दिने चलन छ। यो नयाँ कानुनले त्यसमा अन्योल सिर्जना गर्नसक्ने कतिपयले आशंका गरेका छन्।

‘त्यसैले हाम्रो आउँदै गरेको वयस्क उमेरको समारोह के हुन्छ?’, एक ट्वीटर प्रयोगकर्ताले सोधेका छन्, ‘के हामी २० वर्ष पुगेकाले पनि अझै यस्तो स्वागत समारोह आयोजना गर्न सक्छौं?’

‘१८ वर्ष उमेर पुगेका हाम्रो विश्वविद्यालयमा प्रवेश परिक्षा दिने समय हो जनवरी महिना, त्यसैले हामी वयस्क उमेरमा प्रवेश गरेको उपलक्षमा स्वागत समारोह आयोजना गर्न सक्दैनौं, त्यसो भए यो कहिले गर्न सकिन्छ?’, अर्कोले सोधेका छन्।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com