सडकको दुर्दशा : १५ किलोमिटर बन्न ८ वर्ष


प्रकाशित मिति : जेष्ठ ३१, २०७५ बिहीबार

राष्ट्रिय गौरवको आयोजना बुटवल-बेलहिया ६ लेन ब्यापारिक मार्गको निर्माण सम्पन्न हुन ढिलाइ हुँदा सडक खण्डको दुर्दशा भएको छ ।

२७ किलोमिटर यस सडक खण्डको आठ वर्षमा १५ किलोमिटरमात्रै निर्माण भएको छ । हालसम्म बुटवलतर्फ ६ किलोमिटर, भैरहवातर्फ साढे ५ किलोमिटर र बीच भागमा साढे ३ किलोमिटर सडक निर्माण सकिएको छ ।

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको ३ किलोमिटर सडक विस्तार कार्य भने अदालतको आदेशमा रोकिएको छ । बाँकी ९ किलोमिटरको निर्माण जारी छ । तीन वर्षमा सक्ने लक्ष्यसहित शुरु भएको आयोजना आठ वर्षमा पनि पूरा नहुँदा सडक हिउँदमा धुलाम्य र वर्षायाममा हिलाम्य हुने गरेको छ ।

धुलो र हिलोले विशेष गरी मोटरसाइकलमा यात्रा गर्नेहरुले सास्ती खेप्नुपरेको छ । सडक निर्माणका क्रममा डिजाइन परिवर्तन
शुरुको डिजाइनमा २ वटा नाला मात्र रहेकोमा थप २ वटा गरी ४ वटा नाला निर्माण गर्नुपरेको, विद्युत पोल र खानेपानी पाइप स्थानान्तरण, सडक सीमाभित्रका घर/संरचना हटाउन ढिलाइ, कच्चा पदार्थको अभाव, तराई मधेस आन्दोलन, बन्द हड्ताल जस्ता कारणले आयोजना समयमै पूरा हुन नसकेको आयोजनाका प्रमुख जिवेन्द्र मिश्र बताउँछन् ।

निर्माण भइरहेको खण्डमध्ये भलबारीदेखि पत्थरडाँडासम्म कालोपत्रेको काम भइरहेको छ भने मणिग्रामदेखि मंगलापुरसम्म र भैरहवा क्षेत्रमा पनि काम अगाडि बढेको छ । आयोजनाले यसअघि असार मसान्तसम्म सर्भिस लेनबाहेक मुख्य राजमार्गको निर्माण कार्य सक्ने बताउँदै आएकोमा अहिले वैशाखमै धेरै पानी परेकाले दशैंसम्म पनि निर्माण सक्न कठिन हुने बताउन थालेको छ ।

अबको पाँच महिनामा बाँकी ९ किलोमिटर सडक निर्माण सम्पन्न हुन्छ भन्नेमा जिल्लावासी विश्वस्त छैनन् । तर आयोजनाका प्रमुख जिवेन्द्र मिश्र भने मौसमले साथ दिएमा कात्तिकसम्म सर्भिस लेन बाहेकको काम पूरा गर्ने लक्ष्यसहित काम भइरहेको बताउँछन् । ‘अहिले कच्चा पदार्थको अभाव पनि छैन, वजेटको अभाव पनि छैन तर मौसमले साथ नदिँदा लक्ष्य अनुसार समयमै काम सक्न ढिलाई भयो’ आयोजना प्रमुख मिश्रले भने ‘सकेसम्म कार्तिकसम्ममा काम पूरा गर्ने लक्ष्य छ ।’

आयोजनाका इन्जिनियर गोविन्द श्रेष्ठका अनुसार निर्माणाधीन ९ किलोमिटर सडकको करिब ७० प्रतिशत काम सकिएको छ । यो मार्गको मुख्य सडक १०.४० मिटर चौडाइको चार लेन रहेको छ भने सर्भिस लेन दुवैतर्फ ६ मिटर चौडाइको छ । बीचको डिभाइडर ३ मिटर चौडाइको हुनेछ ।

आयोजनाको कूल लागत ५ अर्ब ८६ करोडमध्ये हालसम्म ३ अर्ब ९९ करोड खर्च भइसकेको छ । चालु आर्थिक वर्षका लागि ३६ करोड रकम आवश्यक रहेको आयोजना प्रमुख मिश्रले बताए । आर्थिक वर्ष २०६६/०६७ मा सुरू भएको यो सडक निर्माणको ठेक्का कञ्चनजंघा जेभी, टेली कम्युनिकेसन प्रालि, कालिका रायमाझी जेभी, विरुवा श्रेष्ठ एपेक्स, कालिका तामाङ जेभी र विरुवा कन्स्ट्रक्सनले गरी ५ अर्ब ८६ करोडको ठेक्का सम्झौता गरेका थिए ।

निर्माणमा ढिलाइ हुँदा करिब डेढ अर्ब लागत बढिसकेको छ । निर्माणमा ढिलाइ गर्दा पनि विगतमा सरकारले ठेकदारमाथि कारबाही गर्न सकेका थिएनन् । गृहमन्त्री रामबहादुर थापाले ढिलासुस्ती गर्ने ठेकेदारलाई कारवाही गर्ने घोषणा गरेसंगै बुटवल बेलहिया ब्यापारिक मार्ग अन्तर्गत भैरहवाको सडक र डण्डा पुलको निर्माण जिम्मेवारी लिएको कालिका तामाङ प्यासिफिक जेभीलाई करिब एक करोड जरिवाना तिराइएको छ ।

गत मंसिर महिनामा सम्पन्न गरी सक्नुपर्ने काम समयमा नसकेपछि उक्त कम्पनीले ९४ लाख ७९ हजार रुपैयाँ राजस्वमा दाखिला गरेको प्रमुख जिवेन्द्र मिश्रले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com