गंगालालमा अत्याधुनिक सिटी स्क्यान सेवा


प्रकाशित मिति : जेष्ठ २३, २०७५ बुधबार

सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मुलुकमै पहिलोपटक ६ सय ४० स्लाइसको अत्याधुनिक कम्प्युटेड टोमोग्राफी स्क्यान (सिटी स्क्यान) सेवा सञ्चालनमा ल्याएको छ ।

‘मुलुकमा यस्तो अत्याधुनिक ‘हाई इन्ड कार्डियाक सिटी स्क्यान’ पहिलो हो,’ केन्द्रका कार्यकारी निर्देशक डा.ज्योतिन्द्र शर्माले भने । १८ करोड रुपैयाँमा किनिएको तोसिबाको ‘एक्वालाइन वन’ ६ सय ४० स्लाइस सिटी स्क्यान मेसिन हाल अस्पतालले भर्ना भएर उपचाररत बिरामीमा परीक्षण प्रयोग गरिरहेको जनाएको छ । अाजकाे कान्तिपुर दैनिकमा खबर छ ।

‘यसले शरीरको सबै प्रकारका सिटी स्क्यान गर्न सकिन्छ,’ केन्द्रकी रजिस्ट्रार एवं रेडियोलोजिस्ट डा. प्रगति श्रेष्ठले भनिन्, ‘यो ०.२७५ सेकेन्डको गतिमा घुम्ने विश्वकै सबैभन्दा छिटो सिटी स्क्यान मेसिन हो ।’ डा. श्रेष्ठले यसले एक घुमाइमा सम्पूर्ण मस्तिष्क र मुटुको तस्बिर लिन सक्ने बताइन् ।

‘घुमिरहेको जोर्नीको समेत यसले गतिशील तस्बिर लिन सक्छ,’ उनले भनिन् । यो सिटी स्क्यानको सहयोगले एन्जियोग्राफी नगरिकनै मुटुमा भएको अवरोध (ब्लकेज) बारे जान्न सकिन्छ । धडकनको गति नियन्त्रित नगरिकनै (६० भन्दा बढी धडकन भए पनि) राम्ररी स्क्यान गर्न सकिने श्रेष्ठले बताइन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘यसमा रगतको नलीको तस्बिर एकदमै स्पष्ट हुन्छ । मुटुमा रगतको नलीको ब्लकेज पनि पत्ता लगाउन सकिन्छ,’ डा. शर्माले भने, ‘बच्चामा जन्मजात मुटुरोग पत्ता लगाउन पनि यो मेसिन प्रभावकारी हुन्छ ।’ डा. श्रेष्ठले स्क्यान गरिएका अंगको थ्रीडी तस्बिर लिन पनि सकिने बताइन् । सिटी स्क्यान मेसिन अत्याधुनिक भए पनि शुल्क भने सबैभन्दा सस्तो रहेको केन्द्रको दाबी छ ।

गंगालालका कार्यकारी निर्देशक डा. शर्माले देशमा सञ्चालनमा रहेका सरकारी र निजी अस्पतालका शुल्कलाई विश्लेषण गरेर सबैभन्दा सस्तो शुल्क निर्धारण गरिएको बताए । टाउकोको सामान्य सिटी स्क्यान शुल्क दुई हजार छ भने सिटी कोरोनरी एन्जियोग्राम अर्थात् मुटुको नसाको ब्लकेजबारे जान्न गरिने परीक्षणमा सबैभन्दा बढी ८ हजार ५ सय रुपैयाँ लाग्नेछ ।

मेसिन चलाउनका लागि सक्षम जनशक्ति उत्पादनको प्रक्रिया सुरु गरिएको अस्पतालले जनाएको छ । कार्डियाक सिटी स्क्यानको तालिमका लागि डा. दिपांकर प्रजापति दुई महिनाअघि नै अमेरिका गइसकेका छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com