धनमतीले पाइन् सहयाेग
प्रकाशित मिति : जेष्ठ १८, २०७५ शुक्रबार
बाजुराकी धनमती बढुवालले उपचार पाउने भएकी छिन् । बडिमालिका नगरपालिका ५ कोर्धकी ४१ वर्षीया धनमती बढुवालको उपचारका लागि आर्थिक संकलन भएको छ । आर्थिक संकलन भएसँगै उनलाई उपचारको लागि अछामको बयलपाटा अस्पतालमा लगिएको छ ।

धनमतीको उपचारका लागि मिस बाजुराका प्रमुख नरेन्द्र थापा वडा नम्बर ५ की वडा अध्यक्ष कला बढुवाललाई पैसा हस्तान्तरण गर्दै ।
‘५० हजार नहुँदा धनमतीले नौं महिनाअघि भाँच्चिएको खुट्टाको उपचार पाइनन्’ शिर्षकमा महिला खबरमा समाचार छापिएपछि धनमतीको उपचारका लागि रकम संकलन भएको हो ।
२०७४ असोज महिनामा भिरबाट खसेको ढुङ्गाले खुट्टा भाँच्चिएपछि धनमती उपचार अभावमा कष्टपूर्ण जीवन बिताइरहेकी थिइन् । एक महिनाअघि गाउँलेको सहयोगमा जिल्ला अस्पताल पुगेकी धनमतीलाई जिल्लामा उपचार सम्भव नभएको भन्दै थप उपचारका लागि जिल्लाबाहिर रेफर गरेको थियो । तर पैंसाको अभावमा उपचार गर्न नसकेपछि उनी घरमै बस्न बाध्य थिइन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा. रुपचन्द्र विश्कर्मा वडा अध्यक्ष कला बढुवाललाई पैसा हस्तान्तरण गर्दै ।
महिला तथा बालबालिका कार्यालय बाजुरामा कार्यरत बिन्दु बडाल लगायतले धनमतीको उपचार रकम संलकन गर्न सहयोग गरेका थिए ।
उनको उपचारका लागि जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख रुपचन्द्र विश्वकर्मा र उनकी श्रीमती मिना विश्वकर्माबाट १० हजार, जर्मनकी नागरिक : MRS Helga Kubesh बाट ९ हजार, काठमाडौंकी बसुधा गुरुङबाट ५ हजार सहयोग भएको बिन्दु बडालले बताइन् । ।

धनमतीलाई पैसा दिँदै पत्रकार महांसघ बाजुराका पुर्व अध्यक्ष दयाराम पण्डित ।
त्यस्तै जिल्ला वन कार्यालय बाजुराबाट ५ हजार, बुढिगंगा नगरपालिका ९ बस्ने मिस बाजुराका प्रमुख नरेन्द्र थापाबाट ५ हजार, बडिमालिका नगरपालिका ९ बस्ने बासुदेब उपाध्यायबाट ५ हजार, पत्रकार महासंघ बाजुराका पुर्व अध्यक्ष दयाराम पण्डितबाट २ हजार, जिल्ला प्रशासन कार्यालयका लेखापाल लालबहादुर बिष्टबाट १ हजार, नेपाल टेलिकम अत्तरीया कार्यलयमा कार्यरत बिक्रम टमटाबाट १ हजार १ सय सहयोग भएको छ ।
बडिमालिका नगरपालिकाबाट १५ हजार, महिला तथा बालबालिका कार्यालय बाजुराबाट १० हजार, पिसवीन बाजुराबाट ५ हजार, गिफ्ट बाजुराबाट २ हजार रुपयाँ सहयोग भएको बडालले बताईन् ।
धनमतीे ५० हजार नहुँदा नौं महिनादेखि भाँच्चिएको खुट्टाको उपचार गर्न नसकेको कुराले मन छोएपछि उपचार अभावमा कसैले पनि यस्तो पीडा भोग्नु नपरोस् भन्दै आफूले आर्थिक सहयोग गरेको नरेन्द्र थापाले बताए ।
धनमतीलाई अहिले अछामको बयलपाटा अस्पतालमा लगिएको छ । यदि त्यहाँ उपचार सम्भब नभए नेपालगञ्ज लिने तयारी भएको बडालले बताइन् । संकलन भएको रकम जिल्लास्थित सर्वदलिय बैठक गरेर धनमतीको बैंक खातामा जम्मा गरी उपचारमा खर्च गर्ने पनि उनले जानकारी दिइन् ।

धनमति बढुवालको अवस्था बुझदै WHO मा कार्यरत डा. रुपेश तिमिल्सेना ।
यस्तै धनमतीको उपचारका लागि बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बढुवाल, WHO मा कार्यरत डा. रुपेश तिमिल्सेना लगायतले उनको घरमै पुगेर अवस्था बुझेको र उपचारमा सहयोग गर्ने जनाएका छन् ।
धनमतीका श्रीमान मानसिंह बढुवालको तीन वर्षअघि भिरबाट लडेर मृत्यु भएको थियो । अहिले उनी र उनकी दुई कक्षामा पढ्दै गरेकी छोरी चन्द्रा कुमारी बढुवाल मात्र छन् । आफ्नो खुट्टा भाँच्चिएपछि छोरीलाई पनि माइतीमा राखेको धनमतीले बताइन् ।





