मलेसियाली विमान एमएच ३७० दुर्घटना, चार वर्षपछि खोजी कार्य बन्द


प्रकाशित मिति : जेष्ठ १७, २०७५ बिहीबार

मलेसियाको एमएच ३७० विमान दुर्घटना भएको चार वर्ष भइसक्दा पनि कुनै सामान्य सुराकसमेत नपाएपछि यो खोजी अभियान पनि बन्द हुने भएको छ ।

८ मार्च, सन् २०१४ मा क्वालालम्पुरबाट २३९ जना यात्रु लिएर बेइजिङका लागि उडेको सो विमान उडेको ४० मिनेटमा नै वेपत्ता भएको थियो । सो विमानको खोजीका लागि गरिएको यो दोस्रो अभियान पनि बन्द हुने भएपछि दुर्घटना रहस्यकै रूपमा रहने भएको छ ।

अमेरिकी कम्पनी ओसन इन्फिनिटीबाट भाडामा लिएको जहाज सिबेड कन्स्ट्रक्टरद्वारा दक्षिणी हिन्द महासागरको ठूलो क्षेत्रमा लामो खोजी अभियान सञ्चालन गरिएको थियो । यद्यपि, यो खोजी अभियानमा केही पनि पत्ता लाग्न नसकेपछि मलेसियाली सरकारले यो विमान खोजीका लागि अब अर्को कुनै योजना नरहेको जनाएको छ ।

आधिकारिक रूपमा गत वर्ष नै विमानको खोजी अभियान अन्त्यको घोषणा गरिएको थियो । यो विमान उडानका क्रममा के भयो र कहाँ दुर्घटना प¥यो भन्ने विषयमा ठूलो बहस र विवाद चल्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

समाचार संस्था एपीले भने यो विमान दुर्घटनाबारे पत्ता लगाउन अनुसन्धानमाथि समीक्षा गरिने जनाएको उल्लेख गरेको छ । जनवरीमा मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाकले हिन्द महासागर क्षेत्रमा विमानको अवशेष खोजीलाई लिएर ओसन इन्फिनिटीसँग सम्झौता गरेका थिए । जहाँ विशेषज्ञले जहाजका अवशेष भेटिनसक्ने सम्भावना उल्लेख गरेका थिए ।

सम्झौताअनुसार निर्धारित समय सकिएपछि मलेसियाली यातायातमन्त्री एन्थोनी लोकले गत साता आधिकारिक रूपमा खोजी अभियान अन्त्य गर्ने घोषणा गरेका थिए ।

अस्ट्रेलियाले भने अझै पनि मलेसियाली एयरलाइन्सको बेपत्ता विमान एमएच३७० कुनै न कुनै स्थानमा अवश्य पनि भेटिने आशा व्यक्त गरिरहेको छ । विमान खोजिरहेको अभियानले आफ्नो खोजी कार्य अन्त्यको घोषणा गर्न लागेका बेला अस्ट्रेलियाको पछिल्लो भनाइ आएको छ ।

अस्ट्रेलियाका यातायातमन्त्री माइकल म्याककार्मेकले मंगलबार एमएच३७० को चार वर्षसम्म चलेको खोजी अभियान इतिहासकै सबैभन्दा लामो खोजी अभियान भएको बताए । उनले खोजीका लागि समुद्रमा प्रविधि, विशेषज्ञ र मान्छेको क्षमता सबैको उपयोग गरिएको बताए ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com