कञ्चनजंघा आरोहण गर्न ११ जना सफल, १२ प्रयासरत


प्रकाशित मिति : जेष्ठ ६, २०७५ आईतबार

आइतबार बिहान ताप्लेजुङमा रहेको विश्वको तेश्रो अग्लो हिमशिखर (८,५८६) कञ्चनजंघा ११ जनाले आरोहण गरेका छन् । १२ जनाको टोली अन्तिम शिविरमा रहेका छन् । उनीहरु आरोहणको अन्तिम प्रयासमा रहेको जानकारी दिइएको छ ।

सफल आरोहण गर्ने मध्ये पाँच नेपाली र छ भारतीय छन् । उनीहरुले बिहान ८ बजेर १५ मिनेटमा आरोहण गरेको एसियन ट्रेक प्रालीका म्यानेजर सञ्जय बराल काजुले जानकारी दिए । काजुका अनुसार आरोहण गर्नेमा प्रालिका प्रबन्ध निर्देशक दावा छिरिङ शेर्पा लगायत रहेका छन् । अरु शेर्पाहरुको नाम आइनसकेको उनले बताए । भारतीय नागरिक भने निर्मल कुमार, पंकज जोशी, मोण्टीराज खोवा (महिला), पल्केश कल्मा, गौरव काडीया, योगेन्द्र गार्डियल र राहुल गार्नल रहेका छन् । आइतबारको मौसम सफा भएकाले सबैको आरोहण सफल हुने आशा गरिएको काजुले बताए ।

निर्देशक दावा छिरिङ आफैंले नेतृत्व गरेर टोली लिएर गएका थिए । यो सिजनमा यसअघि पाँच जनाले आरोहण गरिसकेका छन् । तीन विदेशी र दुई नेपालीले गत बुधबार साँझ आरोहण गरेर फर्किएका हुन् ।

उनिहरुले एक्सपीडिसन वेस र सेभेन समिट प्रालिबाट गएर आरोहण गरेका थिए । आरोहण गरेका र गर्न नसकेकाहरु शनिबार हेलिकप्टरबाट फर्किएका छन् । कञ्चनजंघामा छ वर्षपछि सफल आरोहण भएको हो । सन् २०१३ र १४ मा आरोहण गरेर फर्कने क्रममा ८ जनाको ज्यान गएको थियो । त्यसपछिका दुइवर्ष कसैले आरोहणको प्रयास नै गरेनन् । गत वर्ष १४ जनाले गरेको प्रयास असफल भयो । यो वर्ष ४४ जनाले आरोहण अनुमति लिएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com