विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिनबाट क्यालिफोर्नियाका गभर्नरलाई किन रोकियो ?
प्रकाशित मिति : माघ ७, २०८२ बुधबार
फोटो : ओपनभर्स
विश्व आर्थिक मञ्च को कार्यक्रममा भाग लिनबाट अमेरिकाको क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमलाई रोकिएको छ। स्विट्जरल्यान्डको दाभोसमा भइरहेको कार्यक्रममा जान रोकिएपछि न्युसमले ट्रम्प प्रशासनमाथि दोषारोपण गरेका छन्।
गभर्नर न्युसमका अनुसार उनलाई कार्यक्रममा बोल्न नदिनु ट्रम्प प्रशासनको अनुदारवादी सोचको उपज हो। न्युसमको कार्यालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत जनाएअनुसार, विश्वव्यापी सम्मेलनका लागि बनाइएको आधिकारिक अमेरिकी मञ्च ‘युएसए हाउस’ ले उनलाई प्रवेश र सम्बोधन गर्न अनुमति दिएन। उनी एक सञ्चार साझेदारद्वारा आयोजित कार्यक्रममा वक्ताका रूपमा आमन्त्रित थिए।
डेमोक्र्याटिक नेता न्युसमले एक्समा लेखेका छन्: “क्यालिफोर्नियालाई युएसए हाउसमा बोल्न दिइएन। जहाँसम्म मलाई थाहा छ, क्यालिफोर्निया पनि अमेरिकाकै एउटा हिस्सा हो।”
क्यालिफोर्निया विश्वको चौथो ठूलो अर्थतन्त्र भएको राज्य हो। तर, ह्वाइट हाउसले न्युसमको दाभोस उपस्थितिको आलोचना गर्दै उनले आफ्नै राज्यका समस्याहरूमा ध्यान दिनुपर्ने टिप्पणी गरेको छ।
ह्वाइट हाउसकी प्रवक्ता आना केलीले भनिन्, “दाभोसमा कसैले यी तेस्रो दर्जाका गभर्नर ‘न्युसम’ लाई चिन्दैन, न त उनी किन स्विट्जरल्यान्डमा रमाइरहेका छन् भन्ने कसैलाई चासो छ; जबकि उनले क्यालिफोर्नियामा थुप्रै समस्याहरू सिर्जना गरेका छन्।”
प्रवक्ता केलीले न्युसमलाई किन प्रवेश नदिइएको हो वा उनको कार्यक्रम रद्द गर्न प्रशासनको प्रत्यक्ष भूमिका थियो कि थिएन भन्नेबारे स्पष्ट पारिनन्। न्युसम ट्रम्प प्रशासनका कट्टर आलोचक हुन् र उनी सन् २०२८ को राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्ने सम्भावनाबारे विचार गरिरहेका छन्। उनको कार्यालयका अनुसार, युएसए हाउसले “ह्वाइट हाउस र विदेश मन्त्रालयको दबाबमा” उनलाई प्रवेश नदिएको हो।
गभर्नरको कार्यालयले उनी यसै महिनाको सुरुमा कार्यक्रमका लागि औपचारिक रूपमा आमन्त्रित भएको जानकारी दिएको छ। तर, कार्यक्रम सुरु हुनुअघि नै युएसए हाउसका अधिकारीहरूले कार्यक्रम रद्द गरिएको र गभर्नरलाई त्यहाँ सञ्चारमाध्यमसँग बोल्न नदिइने जानकारी गराएका थिए।






