अमेरिकाबाट एकै पटक एक महिलासहित ८० जना नेपाली नागरिक स्वदेश डिपोर्ट 


प्रकाशित मिति : माघ ७, २०८२ बुधबार

अमेरिकाबाट एकै पटक ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका अनुसार डिपोर्ट हुनेमा ७९ जना पुरुष र एक जना महिला रहेका छन् । 

अमेरिकाबाट डिपोर्ट भएका नेपालीहरू मंगलबार दिउँसो काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन् । उनीहरूलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको हो । डिपोर्ट भएकाहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको जिम्मा लगाइएको विमानस्थल अध्यागमन कार्यालयले जनाएको छ । 

डिपोर्ट भएका ८० जनामध्ये १० जनासँग ट्राभल डकुमेन्ट रहेको पाइएको छ । अन्य ७० जना भने आधिकारिक कागजात नभएका र अमेरिकामा गैर कानुनी रूपमा बसोबास गर्दै आएका रहेको अध्यागमन विभागले जनाएको छ । 

अमेरिकी राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेदेखि आप्रवासन नीतिलाई कडाइका साथ लागू गरिएको छ । वैधानिक कागजातबिना बसोबास गर्ने आप्रवासीहरूलाई लक्षित यस नीतिका कारण ठुलो सङ्ख्यामा नेपालीहरू देश निकालाको जोखिममा परेका छन् । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अध्यागमन विभागका अनुसार सन् २०२५ को डिसेम्बर महिनामा मात्रै ९८ जना डिपोर्ट भएका थिए । डिपोर्ट हुनेहरूमध्ये मध्ये ९२ जना पुरुष र ६ जना महिला रहेका थिए । त्यसअघि नोभेम्बर महिनामा ८० जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए । जसमा २ जना महिला र ७८ जना पुरुष रहेका थिए । 

अध्यागमन विभागको तथ्याङ्कअनुसार गत अक्टोबर महिनामा मात्रै अमेरिकाबाट ३८ जना नेपाली डिपोर्ट भएका थिए, जसमा ४ जना महिला र ३४ जना पुरुष थिए । 

गत जनवरीमा ट्रम्पले पदभार सम्हालेपछि ६ जना नेपालीहरूलाई अमेरिकाले डिपोर्ट गरेको थियो । त्यस्तै, फेब्रुअरीमा १८ जना, मार्चमा ३२ जना, अप्रिलमा २६ जना, मेमा ५८ जना, जुनमा ४२ जना, जुलाईमा १७ जना, अगस्टमा १६ जना र सेप्टेम्बरमा ५३ जना नेपाली डिपोर्ट भइसकेका छन् । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com