पाकिस्तानद्वारा अमेरिकी नागरिकका लागि आप्रवासी भिसा निलम्बन, ९० दिने निःशुल्क भिसा सुविधा अन्त्य


प्रकाशित मिति : माघ ६, २०८२ मंगलबार

letter

तस्बिर: ग्लोबल रेसिडेन्स इन्डेक्स

अमेरिकी नागरिकहरूका लागि भिसा सुविधा रद्द गर्ने वा कडाइ गर्ने देशहरूको संख्या बढ्दै गएको छ। ट्रम्प प्रशासनले आफ्नो यात्रा प्रतिबन्ध विस्तार गर्दै लगेपछि यसको प्रतिक्रियास्वरूप अन्य देशहरूले पनि अमेरिकी नागरिकहरूमाथि कडाइ गर्न थालेका हुन्।

पाकिस्तानले अमेरिकी नागरिकहरूका लागि दिइँदै आएको सबै प्रकारका आप्रवासी भिसा निलम्बन गर्ने निर्णय गरेको छ। ट्रम्प प्रशासनले पाकिस्तानलाई आफ्नो प्रतिबन्धित देशहरूको सूचीमा राखेपछि पाकिस्तानले यो कदम चालेको हो। पाकिस्तानले अमेरिकीहरूका लागि आगमनपूर्वको अनलाइन भिसा कार्यक्रम पनि बन्द गरिदिएको छ। यसअघि १२५ देशका नागरिकहरूले सजिलै अनलाइनमार्फत यो अनुमति पाउने गर्थे।

पहिले अमेरिकी नागरिकहरूले सरकारी पोर्टलमार्फत ९० दिनको पर्यटक वा व्यावसायिक भिसा नि:शुल्क प्राप्त गर्न सक्थे। तर अब अमेरिकी यात्रुहरूले ‘पाक आईडी’ मोबाइल एपमार्फत आवेदन दिनुपर्नेछ। अमेरिकीहरूले एकल प्रवेश भिसाका लागि ६० डलर तिर्नुपर्नेछ।

अन्य देशका आवेदकहरूले ३५ डलर मात्र तिरे पुग्छ, तर अमेरिकीहरूका लागि यो शुल्क निकै बढी राखिएको छ। पाकिस्तानले सन् २०२४ अगस्टमा पर्यटन र व्यवसाय प्रवर्द्धन गर्न खुकुलो भिसा नीति ल्याएको थियो। तर हाल अमेरिका लगायत बेलायत, बेनिन, तान्जानिया र अस्ट्रियाका नागरिकहरूले पनि जटिल प्रक्रियाको सामना गर्नुपर्ने भएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि कैयन देशहरूका लागि सबै ‘इमिग्रेन्ट भिसा’ प्रक्रिया रोक्ने भएको छ। यसले अमेरिकामा स्थायी रूपमा बस्न चाहनेहरूलाई असर गर्नेछ। साथै अमेरिकाले डिभी लोटरीमार्फत आप्रवासी भिसा र ग्रिनकार्ड पनि स्थगित गरेको छ। कैयन देशहरूमाथि भिसामा धरौटीको नियम समेत अमेरिकाले लगाएको छ।

पाकिस्तान मात्र नभई अफ्रिकी राष्ट्रहरू चाड, नाइजर, बुर्किना फासो र मालीले पनि अमेरिकी नागरिकहरूका लागि भिसा जारी गर्न बन्द गरेका छन्। आफ्ना नागरिकहरूमाथि अमेरिकाले गरेको व्यवहारको बदलास्वरूप यो कदम चालिएको ती देशहरूले बताएका छन्।

ट्रम्प प्रशासनको हालको यात्रा प्रतिबन्धमा ३९ देशहरू समावेश छन् भने कुल ७५ देशहरूको भिसा प्रक्रियामा अमेरिकाले कडाइ गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com