अमेरिकामा आइस हिरासतमा आप्रवासीको मृत्यु प्रकरण: हत्या भएको पुष्टि
प्रकाशित मिति : माघ ७, २०८२ बुधबार
अमेरिकाको टेक्सासमा रहेको आप्रवासन तथा भन्सार प्रवर्तन (आइस) हिरासत केन्द्रमा एक क्युबाली आप्रवासीको ‘हत्या’ भएको निष्कर्ष निकालिएको छ।
यसअघि ‘आइस’ ले ५५ वर्षीय जेराल्डो लुनास क्याम्पोसको यसै महिनाको सुरुमा “स्वास्थ्य समस्या” का कारण मृत्यु भएको बताए पनि विस्तृत विवरण सार्वजनिक गरेको थिएन।
हाल सार्वजनिक भएको मेडिकल परीक्षकको रिपोर्टले क्याम्पोसको मृत्यु प्राकृतिक नभई ‘हत्या’ भएको निष्कर्ष निकालेको हो। यस निर्णयले उक्त हिरासत केन्द्रको सुरक्षा व्यवस्था र कर्मचारीहरूको व्यवहारमाथि गम्भीर प्रश्न खडा गरेको छ।
पोस्टमार्टम रिपोर्टमा क्याम्पोसको शरीरका विभिन्न भागमा गम्भीर चोटहरू देखिएका छन्। उनको छाती र घुँडामा चोट लाग्नुका साथै घाँटीमा रक्तस्राव भएको पाइएको छ। रिपोर्टका अनुसार घाँटी र शरीर थिचिएका कारण सास फेर्न नसकेर उनको मृत्यु भएको हो।
आइसको दाबीअनुसार, जनवरी ३ को राति एल पासोस्थित ‘क्याम्प ईस्ट मोन्टाना’ केन्द्रभित्र क्याम्पोस मृत अवस्थामा भेटिएका थिए। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले दाबी गरेअनुसार, क्याम्पोसले आत्महत्या गर्न खोज्दा कर्मचारीहरूले हस्तक्षेप गरेका थिए र सो क्रममा उनले “हिंसात्मक प्रतिरोध” गरेका थिए।
तर, एक प्रत्यक्षदर्शीका अनुसार घटनाको समयमा क्याम्पोसलाई हतकडी लगाइएको थियो र कम्तीमा पाँच जना सुरक्षाकर्मीले उनलाई थिचेर राखेका थिए। ती साक्षीले एक गार्डले क्याम्पोसको घाँटी अचेत हुने गरी कसेको समेत बताएका छन्। पोस्टमार्टम रिपोर्टले पनि साक्षीहरूको बयानलाई बल पुर्याउँदै घाँटी, टाउको र शरीरका चोटहरू ‘शारीरिक नियन्त्रण’ का क्रममा लागेको देखिएको उल्लेख गरेको छ।
लुनास क्याम्पोस सन् १९९६ मा अमेरिका आएका थिए। जुलाईदेखि संघीय हिरासतमा रहेका उनलाई न्युयोर्कबाट सेप्टेम्बरमा एल पासो सारिएको थियो। आइसका अनुसार क्याम्पोसमाथि लागुऔषध बिक्री, हतियारसहित डकैती र नाबालिकासँग यौन सम्पर्क जस्ता गम्भीर आपराधिक अभियोगहरू लागेका थिए। सन् २००५ मै उनलाई देश निकाला गर्ने आदेश दिइएको भए पनि आवश्यक यात्रा कागजातको अभावमा उनलाई फिर्ता पठाउन सकिएको थिएन।
आइसले आफ्नो विज्ञप्तिमा हिरासतमा रहेका सबैलाई “सुरक्षित र मानवीय वातावरण” उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ। यद्यपि, पछिल्ला केही हप्ताहरूमा मात्र उक्त केन्द्रमा क्याम्पोससहित तीन जना बन्दीहरूको मृत्यु भइसकेको छ।






